- ७ वर्षयता उपचारमा संलग्न २१ जनाको मृत्यु
चैत्र १६, २०७४ काठमाडौँ — मुलुकमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) ले हालसम्म उपचारमा संलग्न २१ स्वास्थ्यकर्मीकै मृत्यु भएको छ ।
यो रोगको जोखिममा स्वास्थ्यकर्मी मात्र होइन, सार्वजनिक सवारीसाधन प्रयोग गर्ने सर्वसाधारणसमेत रहेको चिकित्सकले औंल्याएका छन् । रोगप्रतिरोधक क्षमता उच्च रहेकामा सामान्य क्षयरोग सर्दैन तर एमडीआर/एक्सडीआर टीबी सर्न सक्छ । सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा बीचमै औषधि उपचार छाडे एमडीआर टीबी हुन सक्छ।सात वर्षयता बिरामीको उपचार र प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको एमडीआर टीबी सरेर मृत्यु भएको हो । ‘हालसम्म एमडीआर टीबीले २१ स्वास्थ्यकर्मीको मृत्यु भएको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका कन्सल्टेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले भने, ‘बिरामीको सम्पर्कमा रहँदा उनीहरूलाई रोग सरेको हो ।’
क्षयरोगमा प्रयोग हुने मुख्य ४ औषधि रिफाम्पिसिन, आइसोनियाजिड, पाइराजिनामाइड र इथामवुटोल हुन् । यीमध्ये सबैभन्दा शक्तिशाली रिफाम्पिसिन र आइसोनियाजिड मानिन्छ । यी दुई औषधिले पनि काम गर्न छाडे एमडीआर टीबी भएको मानिन्छ । एमडीआर/एक्सडीआर टीबी भएकाबाट सद्दे व्यक्तिमा रोग सर्दासमेत एमडीआर/एक्सडीआर टीबी नै हुन्छ ।
एमडीआर र एक्सडीआर टीबीको उपचारका लागि मुलुकभर १८ केन्द्र र ८१ उपकेन्द्र छन् । राजधानीमा सानोठिमी र कालीमाटीमा दुई केन्द्र छन् । उपचारका लागि केन्द्रमा बिरामी आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्ने भए पनि त्यसरी कतिलाई एमडीआर टीबी सर्यो वा मृत्यु भयो भन्ने कुनै अध्ययन भएको छैन । ‘राजधानीमा पनि ठिमी र कालीमाटीमा भएको उपचार केन्द्र पुग्न सार्वजनिक सवारीसाधनमा एमडीआर/एक्सडीआर टीबीका बिरामी ओहोरदोहोर गर्छन्,’ राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीका वरिष्ठ छाती तथा क्षयरोग विशेषज्ञ डा. मोहनकुमार प्रसार्इं भन्छन्, ‘बिरामीहरू सार्वजनिक सवारीसाधन चढेर उपचार केन्द्रमा आउजाउ गर्दा अन्यलाई सर्ने उच्च जोखिम छ ।’
चिकित्सकका अनुसार सुरक्षाका उपाय नअपनाउँदा र कमसल मास्क प्रयोगका कारण स्वास्थ्यकर्मीमा यो रोग सर्ने जोखिम बढी हुन्छ । डा. प्रसार्इं भन्छन्, ‘एमडीआर टीबीको उपचार गर्ने क्रममा यो रोग लागेका ८ स्वास्थ्यकर्मीको मृत्यु भएको मैले नै देखेको छु ।’ एमडीआर/एक्सडीआर टीबीका बिरामीलाई औषधि खुवाउन सुरु गरे पनि खकारमा कीटाणु देखिएसम्म उनीहरूबाट अन्य व्यक्तिमा सर्न सक्छ ।
केहीमा ३–४ महिना औषधि खाए पनि खकार पोजेटिभ नै देखिन्छ भने कसैकसैमा अन्तिमसम्मै। ‘सार्वजनिक सवारी साधनमा एमडीआर/एक्सडीआर टीबीका बिरामीले खोक्दा स्वस्थ व्यक्तिमा रोग सर्ने उच्च जोखिम हुन्छ,’ उनले भने । राष्ट्रिय क्षयरोग केन्द्रमा विभिन्न खोकीलगायतका लक्षणसहित आएका बिरामीको खकारमा क्षयरोगको कीटाणु देखिएपछि सामान्य क्षयरोगकै रूपमा उपचार गरिन्छ । यस्तो उपचारअन्तर्गत एक–दुई महिनामा समेत रोग सुधारात्मक नदेखिए त्यस्ता बिरामीलाई एमडीआर हो कि भनेर परीक्षण गरिन्छ ।
कालीमाटीको जेनटप क्लिनिककी डा. भावना श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट एमडीआर टीबीको उपचारका लागि आएका दुई जना नर्सिङ स्टाफमा एक जना केही निको भएपछि औषधि नियमित खाने गरी घर फर्किएको र अर्काको भने मृत्यु भएको बताइन् । यस्तै, दुई जना डाक्टर एमडीआर टीबीको उपचारपछि निको भएर फर्किएको पनि उनले बताइन् । मुलुकमा एमडीआर क्षयरोगको उपचार गर्दा सफलताको दर करिब ७० प्रतिशत र एक्सडीआर टीबीको उपचारमा करिब ३० प्रतिशत मात्र सफलता देखिएको डा. शाह बताउँछन् ।
केन्द्रका डा. प्रमोद भट्टराईका अनुसार गत वर्ष एमडीआरका ३ सय ४३, प्रि–एक्सडीआरका ८६ र एक्सडीआरका १९ जना नयाँ बिरामी दर्ता भएका छन् । मुलुकभर हाल औषधि खाइरहेको एमडीआर/एक्सडीआर टीबीका बिरामी करिब ६ सय ६० जना छन् । मुलुकभरका मध्ये करिब एक चौथाइ एमडीआर/एक्सडीआर टीबीका बिरामी राजधानीमै रहेको आकलन छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा रिफाम्पिसिन प्रतिरोधको बर्सेनि करिब ६ लाख नयाँ केस आउँछन्, जसमध्ये ४ लाख ९० हजारलाई एमडीआर टीबी हुन्छ ।
औषधि प्रतिरोधी क्षयरोगीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पहिले जोखिम भत्ता दिने गरिए पनि दुई वर्षदेखि रोकिएको छ । डा. शाहका अनुसार पहिले मासिक १ हजार रुपैयाँ जोखिम भत्ता दिने गरिएको थियो । ग्लोबल फन्डको बजेटअन्तर्गत सरकारले जोखिम भत्ता दिइन्थ्यो ।
कसरी जोगिने ?
एमडीआर/एक्सडीआर क्षयरोग भएका बिरामीले सकेसम्म सार्वजनिक ठाउँमा आउजाउ गर्नु हुँदैन। यस्ता बिरामीसँग आम व्यक्ति सम्पर्कमा नआउनु नै राम्रो हुन्छ । खकारमा कीटाणु देखिँदासम्म बिरामीले अन्य स्वस्थ व्यक्तिसँग अनावश्यक, असुरक्षित सम्पर्कमा आउनु हँुदैन । बिरामीको स्याहार गर्ने व्यक्तिले चिकित्सकीय सल्लाहअनुसार कडा सुरक्षाका उपाय अपनाउनुपर्छ । बिरामीले स्तरीय मास्क लगाउनुका साथै खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा सावधानी अपनाउनुपर्छ ।
kantipurdaily


