भक्तपुर, चैत १६ गते । नयाँ शैक्षिक सत्र प्रारम्भसँगै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने भएको छ । कक्षा १ देखि १० सम्मका लागि चाहिने सवा दुई करोड थान पुस्तक छपाइ गरिसकिएकाले यसपटक विद्यार्थीले समयमै पुस्तक पाउने शिक्षा विभागले जानकारी दिएको छ । नयाँ शैक्षिक सत्र वैशाख २ गतेबाट सुरु हुँदैछ ।
कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३३ लाख पाँच हजार ६१४ जना विद्यार्थीका लागि निजी मुद्रकले र कक्षा ६ देखि १० सम्मका लागि एक करोड ९२ लाख ३९ हजार थान पाठ्यपुस्तक जनक शिक्षाले छपाइ गरी वितरण गर्ने जानकारी विभागले बिहीबार पत्रकार सम्मेलन गरी दिएको छ ।
यसअघिका शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभावमा बालबालिका विद्यालय जानबाट रोकिए पनि आगामी शैक्षिक सत्रबाट यो क्रम नदोहोरिने शिक्षा विभागले स्पष्ट गरेको छ । विभागले शैक्षिक सत्रको सुरुमा नै बालबालिकाको हातमा पाठ्यपुस्तक पु¥याउन मुद्रक र वितरकबीच समन्वय गरिरहेको विभागका उपनिर्देशक देवीराम अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत २५ सम्म मुद्रक र वितरकले सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइसक्नु पर्नेछ । यसका लागि विभागले क्षेत्रीय तथा जिल्ला अनुगमन समितिको बैठक राख्न दिर्नेशन दिएको छ । स्थानीय तहलगायत सबै सरोकारवालालाई मन्त्रालयमार्फत चैत २५ गतेभित्र अपिल जारी गर्ने तयारी विभागले गरेको छ ।
सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क वितरण गर्न यही शीर्षकमा दुई अर्ब २२ करोड २२ लाख २२ हजार रुपियाँ स्थानीय तहको खातामा पठाइसकेको अर्यालले बताउनुभयो ।
जनक शिक्षा सामग्री केन्द्रले छपाइ गर्नुपर्ने कुल पुस्तकको ९० प्रतिशत पाठ्यपुस्तक छपाइ गरिसकेको जनाएको छ । केन्द्रले क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, भरतपुर, पोखरा, नेपालगन्ज र धनगढीमा पाठ्यपुस्तक पु¥याइसकेको केन्द्रका प्रवक्ता चित्रबहादुर आचार्यले बताउनुभयो ।
आगामी शैक्षिक सत्र २०७५ को सुरुमा नै विभागले ४ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित समूह मानी भर्ना अभियानलाई तीव्रता दिने तयारीसमेत गरेको छ । यसका लागि शिक्षा मन्त्रालय र मातहतका कार्यालयले निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा, अभिभावक शिक्षा अभियान जस्ता कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने विभागले जनाएको छ ।
gorkhapatraonline


