पोखरा — प्रदेश सरकार गठन भएको एक महिना एक सातापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सोमबार बाँकी ३ मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तार भएको हो ।
सोमबार किरण गुरुङ, नरदेवी पुन र विकास लम्सालले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथ लिए। यसअघि गत फागुन ४ मा एकैदिन दुईपटक गरी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् गठन गरेका थिए। तीनैजना मन्त्री एमालेका हुन्।
एमाले र माओवादी केन्द्रबीच ५ र २ मन्त्री लिने सहमति अनुसार मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङ बनेका थिए। त्यसैगरी उक्त दिन एमालेबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेत र माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा लेखबहादुर थापा नियुक्त भएका थिए। एमालेको भागमा रहेका तीन मन्त्रीलाई सोमबार शपथ खुवाइएको हो।
मन्त्रालयको जिम्मेवारी हेरफेर
यसैबीच मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरिएको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उक्त मन्त्रालयमा विकास लम्साललाई ल्याइएको छ।
किरण गुरुङलाई आर्थिक मामिला तथा योजना र नरदेवी पुनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। चुमान र थापाको मन्त्रालय भने यथावत् छ।
kantipurdaily




















