लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र कुनै पनि निकायमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले तयार पारेको समृद्ध नेपालको मार्गचित्र हस्तारण गर्ने कार्यक्रममा सोमबार बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कुनै पनि निकायमा भ्रष्टाचार गरेको सह्य नहुने विचार व्यक्त गर्नुभयो ।
आफूसँगै दायाँबायाँ आसनमा बस्नुभएका अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य आपूर्तिमन्त्री मातृका यादवलाई देखाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म पनि भ्रष्टाचार गर्दिनँ र मेरो वरिपरि बस्नुभएका दुवै जनाले पनि भ्रष्टाचार गर्नुहुन्न । आफ्ना निकायमा भ्रष्टाचार गर्न दिनुहुन्न । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भ्रष्टाचार शून्य भयो भने नेपालको आधाभन्दा बढी भ्रष्टाचार निर्मूल हुन्छ । त्यसैले मैले उहाँहरूलाई विश्वास गरेको छु । ”
अरु सबै कुराको कमी र सीमा भए पनि मानिससँग इमानदारीको कमी हुनु हुँदैन भन्दै उहाँले अगाडि भन्नुभयो, “मसँग ज्ञानको पूर्णता छैन होला, प्रविधिको कमी होला तर मसँग इमानमा सम्पूर्णता छ । त्यही इमानको सम्पूर्णतामा टेकेर म अडान लिएर भनिरहेको छु । म विकासका लागि काम गर्छु । भ्रष्टाचार हुन दिन्न । मेरो केही स्वार्थ छैन, हाम्रो जस्तो पीडा भोलिको पुस्ताले नपाऊन् भन्ने चिन्तनका साथ काम गर्छु । ” विकासका लागि सबै क्षेत्रबाट एकसाथ दौड सुरु गर्ने बेला आइसकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “एउटा क्षेत्रको तयारीले मात्र देश विकास हुन सक्दैन । सबै क्षेत्र, निकाय र समुह तयार हुनुपर्छ । अब देश विकासको दौडको लागि सिटी बज्छ, सबै एक साथ दौडिन तयार भएनौँ भने भावी पुस्ताले यो पुस्तालाई क्षमा दिन सक्दैनन् । ”
आफूसँग भेट्न आउने बुद्धिजीवी, पेसा व्यवसायको मानिसहरूले निराशाका कुरा गरेको स्मरण गर्दै उहाँले निराशा होइन, अब आशा गर्ने र आशाका लागि सत्प्रयास गर्ने मौका आएको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारका हरेक पाइला विकासका लागि मात्र हुन्छन् । ती पाइला चाल्न उद्योगी व्यवसायीको निरन्तर साथ चाहिएको छ । गाउँघरमा खाँडो जगाउने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गाउँघरमा खाँडो जगाउँदा गाउँ जुरुक्क उठ्ने हाम्रो समाज हो । अब विकासका लागि सबै जुरुक्क उठ्न जरुरी छ । अब विकास र समृद्धिका लागि देशभरि खाँडो जगाउने अभियान चलाउनुपर्छ । ”
सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल जस्तो विकासशील देशमा उद्योगधन्दालाई सीमित क्षेत्रमा संरक्षण दिनुपर्ने भएकाले देशभित्रै रोजगारका अवसरमा सिर्जना गर्न सरकार उद्योगधन्दाको संरक्षण दिन तयार रहेको बताउनुभयो । औद्योगिक विकास नभएसम्म देशको आर्थिक समृद्धि नहुने र रोजगारको सिर्जना हुन नसक्ने भन्दै अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, “दीर्घकालिन औद्योगिक लगानीका लागि उपयुक्र्त वातावरण बनाउन सरकारले नयाँ नीति तर्जुमा गरिरहेको छ । जसले गर्दा आगामी दिनमा स्वदेशी उद्योगलाई प्रोत्साहन हुने खालका कार्यक्रम सरकारले ल्याउनेछ । ”
परिरसङ्घका अध्यक्ष हरिभक्त शर्माले परिरसङ्घका प्रवुद्ध समुहले निर्माण गरेको समृद्ध नेपालको मार्गचित्र प्रधानमन्त्री ओलीलाई हस्तारण गर्नुभयो । सो अवसरमा अध्यक्ष शर्माले नेपाली गाउँघरमा विदेशी उत्पादनका बजार विस्तार हुँदै गरेको बताउँदै बार्षिक नौ अर्ब रुपियाँ भन्दा बढीको व्यापारघाटा व्यहोर्नुले नेपालमा केही हुनै सक्दैन भन्ने कुराले निराशा छाएको बताउनुभयो । कार्यक्रममा उद्योग व्यवसायीले लगानीको वातावरण बनाई पुँजी परिचालन गर्ने असल नीति ल्याउन सरकारसँग माग गर्नुभयो ।
gorkhapatraonline




















