लामो समयदेखि चिटिङका कारण बदनाम यो क्याम्पसमा चिट चोरेर पास गर्नैका लागि भर्ना हुनेको संख्या पनि ठुलो छ । अहिले सञ्चालन भइरहेको स्नातकोत्तर तहको परीक्षामा बिहार र उत्तर प्रदेशमा देखिने जस्तै चिट चोरेको र चोराइरहेको दृश्य देख्न सकिन्छ ।
चिटले लज्जास्पद अवस्था
शुक्रबार स्नातकोत्तर तह दोस्रो वर्ष समाजशास्त्र र राजनीतिक शास्त्रको परीक्षा चल्दै थियो । परीक्षा चलिरहँदा त्रिभुवन विश्वविद्यालयबाट आएका सुपरिवेक्षक प्राध्यापक नबोनारायण झाले परीक्षा शुरु भएको १५ मिनेट नबित्दै २ सय परीक्षार्थीमध्ये २४ जना भन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका खोसे।
विद्यार्थीबाट चिटका मुठा बटुल्दै गर्दा परीक्षा सुरुबाटै अमर्यादित भएकाले कारबाही गर्नुपरेको बताए त्रिवि केन्द्रबाट सुपरीवेक्षणमा पुगेका प्रा. नबोनारायण झाले । ‘केही विद्यार्थीहरुलाई कारबाही गर्नुपर्ने बाध्यता भएकाले कपी खोसेको हुँ’, उनले भने, ‘जनकपुरको जाँच सुधार गर्नलाई ठुलै कदम चाल्नुपुर्ने अवस्था छ । बरु कम उत्तीर्ण हुन् तर सकेसम्म चोरी गर्न भने दिँदैनौँ ।’
भिडियो
स्नातकोत्तर तहको विद्यार्थीका उत्तरपुस्तिका मुठाका मुठा चिटसहित खोसिएको दृश्य निकै लज्जास्पद लाग्थ्यो । तर केही वर्षयताका हरेक परीक्षामा यो क्याम्पसको वास्तविकता यही नै हो । चिट चोर्न पाइन्छ भनेर नै पढन छोडेका धेरै विद्यार्थी र कर्मचारीले समेत यही क्याम्पस रोज्छन् ।
यहाँ अहिले त्रिभुवनविश्वविद्यालय अन्तर्गत स्नातक चौथो वर्ष र स्नातकोत्तर दोस्रो वर्षको परीक्षा सन्चालन भइहेको छ । आफ्ना विदयार्थीको उत्तीर्ण प्रतिशत धेरै देखाउन यस क्षेत्रका निजी क्याम्पसहरु पनि यही परीक्षा केन्द्र पार्न अनेक तिकडम् गर्छन ।
त्यस्ता क्याम्पस सञ्चालकले क्याम्पस प्रशासन र विद्यार्थी अगुवालाई समेत हातमा लिएर चिट चोर्ने वातावरण मिलाउन अनुरोध गर्छन् । यो भिडियोमा देखाइएको दृश्य नै तपाईले हेर्नुभयो भने सबै कुरा बुझ्न धेरै बेर लाग्दैन ।
तर यहाँका क्याम्पस प्रमुख विजयलाल कर्ण यहाँ खुलेआम चिटिङ हुने गरेको कुरा सजिलै स्वीकार्दैनन् । उनी अलिअलि त बदमाशी भइजान्छ नि भन्दै घुमाउरो जवाफ दिएर पन्छिन खोज्छन् । ‘परीक्षा अमर्यादित भएको भन्ने कुरा गलत हो, मर्यादित नै भएको छ’, उनी भन्छन्, ‘अलिअलि बदमाशी त भइजान्छ नि । तर, हामी चिट चोर्नेलाई कारबाही गर्दैछौँ ।’
यो क्याम्पसबाट परीक्षा दिनेहरुले खुलेआम चिट र गेसपेपरलाई उत्तरपुस्तिकामा उतारिरहेको दृश्यले जोकोहीको मन कुँडिन्छ । यसरी चिट सारेर उत्तीर्ण भएकाको शैक्षिक गुणस्तर कस्तो होला ? तपाईँले पनि सजिलै अनुमान लगाउन सक्हुन्छ ।
ठुलाबडालाई अलग्गै कोठा
यो क्याम्पसको चिटिङ प्रकरण यतिमै सकिँदैन । यहाँबाट परीक्षा दिने पहुँचवालाका लागि क्याम्पस प्रशासन र विद्यार्थी नेताको मिलेमतोमा अलग्गै कोठा व्यवस्था गरिएको छ ।
यो केन्द्रबाट परीक्षा दिने प्रहरीका हाकिम, प्रशाशनिक निकायका प्रमुख र नेताहरुलाई छुट्टै कोठामा राखेर परीक्षा दिने ब्यवस्था मिलाइएको छ । यस्तो काम यहाँ केही वर्षदेखि निरन्तर चलिरहेको छ । चिट चोर्न पाइने भएकैले राजधानी काठमाडौँ तथा देशका टाढा टाढाका जिल्लाबाट पनि यहाँको विद्यार्थी हुन तँछाडमछाड गर्छन् ।
चिट चोर्न नपाउँदा नाराबाजी
सुपरीवेक्षणका लागि काठमाडौँबाट आएका प्राध्यापक झाले परीक्षामा कडाई गरेपछि विद्यार्थीहरु नाराबाजीमै उत्रिए । एक विद्यार्थीले त पढाउने बेला गतिलो नपढाएको भन्दै चिट गर्न पाउनुपर्ने माग नै राखे ।
परीक्षामा कडाइ गरिएपछि यहाँका परीक्षार्थी शुक्रबार दिनभर नाराबाजी गर्दै क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिए । यहाँसम्म कि चिट चोर्न नदिएको भन्दै प्राध्यापक झाको पुतला समेत यहाँका परीक्षार्थीले क्याम्पस परिसरमै जलाए ।
‘एक्जाम टाइट गर्नु त्यो राम्रो कुरा हो’, एक विद्यार्थीले जोसिँदै भने, ‘तर एक्जाम टाइट गर्नु पहिले पढाई पनि त गतिलो हुनुपर्यो । अनि पो एक्जाम टाइट गरेको राम्रो ।’
चिट चोर्न पाउनु आफ्नो अधिकार जस्तै शैलीमा विरोधमा उत्रिएका विद्यार्थीहरुले एकै स्वरमा भने, ‘पढाउने बेलामा राम्रो सँग नपठाउने अनि परिक्षा मात्रै कडाइ गर्ने ?’
देशमै उत्कृष्ट राराब
कुनै बेला यो क्याम्पस देशकै उत्कृष्टमध्ये एक थियो । राराब जनकपुरधाम एक दशक अघिसम्म नेपालमै उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने क्याम्पस थियो । तर केही वर्षयता यो क्याम्पस देशमै बदनाम भएको छ ।
पछिल्लो समय परीक्षा अमर्यादित बन्दै गएपछि चिट चोरेर पास हुने लोभमा देशका कुना काप्चा र राजधानी काठमाडौँबाट समेत विद्यार्थी जनकपुरमा भर्ना हुन्छन्।
सुपरिवेक्षणका लागि काठमाडौँबाट पुगेका प्राध्यापकले गरेको एकदिनको प्रयासले यहाँको परीक्षा प्रणाली सुधार हुन सक्दैन । यसका लागि बदनाम भएको क्याम्पसको छवि सुधार्न क्याम्पस प्रशासनै सचेत हुनु जरुरी भइसकेको छ।
annapurnapost


