- बर्सेनि गर्नुपर्ने मर्मत सम्भारको काम बजेट अभावले रोकियो
चैत्र १०, २०७४ नवलपरासी — टर्बाइनको मर्मत सम्भार हुन नसक्दा हुप्सेकोट ५ को दुर्गम धौवादीमा हावाबाट बिजुली उत्पादन गर्ने परियोजना बन्द भएको छ ।
राष्ट्रिय प्रसारणको विद्युत् नपुगेको र छेउछाउमा जलविद्युत् आयोजना नभएकाले एसियाली विकास बैंकको २ करोडको आर्थिक सहयोगमा ६ वर्ष अघि यो परियोजना सञ्चालनमा आएको थियो । धौवादीको बतासे डाँडामा चल्ने हावाको गतिबाट १० किलोवाट र सौर्य ऊर्जाबाट २ किलोवाटको बिजुली निकालेर गाउँमा वितरण हुँदै आएको थियो । बर्सेनि गर्नुपर्ने मर्मत सम्भारको काम बजेट अभावले अनियमित भएपछि बिजुली उत्पादन हुन छाडेको हो ।
यहाँ उत्पादित बिजुलीबाट धौवादीका ५८ घरले उपयोग गर्दै आएका थिए । तीन वर्षअघिसम्म सबैजसो घरमा बत्ती बाल्न र टेलिभिजन हेर्न पुग्ने बिजुली हाल उपयोग गर्न नपाइने अवस्था आएको स्थानीय गमबहादुर थापाले बताए । उनका अनुसार २०७२ चैतदेखि उत्पादनका कमी आउँदै हाल आएर बन्द भएको हो । बिजुली उत्पादनका लागि ५/५ किलोवाटका टर्बाइन राखिएको छ । मर्मत हुन नसक्दा हावाले चलाउने दुईवटा पंखा चल्न छाडेका छन् । बेस्सरी चल्ने हावाले पंखालाई घुमाएपछि ब्याट्री चार्ज भएर निस्कने बिजुली गाउँलेका घर घरमा दिइएको थियो । पंखाको बेरीँग र चार्ज हुने ब्याट्री फेर्नुपर्ने भएको स्थानीयले बताए ।
बत्ती बालेको हिसाबले गाउँलेले प्रतिबत्ती मासिक सय रुपैयाँ शुल्क बुझाउने गरेका थिए । पहाड र चिसो मौसम भएकाले धौवादीका बासिन्दाले घरमा पंखा चलाउनु पर्दैन । सुरु–सुरुमा वितरित बिजुलीले बती बाल्न पुगेको थियो । ‘मर्मतको काममा धेरै खर्च आउने भन्ने बुझियो, हामीसँग पर्याप्त बजेट छैन’ हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेले भनिन्, ‘यसको व्यवस्थापनका लागि एसियाली विकास बैंकलाई लेखेर पठाएका छौं ।’ नौलो प्रयोग भएकाले बिजुली बाल्न पाउँदा खुसी भएकाहरूले बिग्रँदा कसरी मर्मत गर्न र बजेटको स्थायी स्रोत के हुने भन्ने हेक्का नराख्दा अहिले समस्या भएको उनले बताइन । पाइलट प्रोजेक्टका रूपमा एडीबीले लगानी गरेको परियोजनामा सुरुमा स्थानीयलाई घर घरबाट संकलन हुने शुल्कले नै मर्मत सम्भार खर्च पुर्याउन भनिएको थियो । उक्त शुल्कले नपुग्ने अवस्था रहेको स्थानीयले बताएका छन् । विद्युत् महसुलबापत स्थानीयले बुझाउने शुल्क रेखदेख गर्ने प्राविधिकलाई तलब दिनसमेत नपुगेपछि परियोजना उपयोगविहीन भएको हो । हाल सम्पन्न परिवारले घर–घरमा सोलार जडान गरेका छन् भने ३१ घरधुरी अझै पनि त्यही बिजुली उपयोग गर्न पाउने दिन पर्खिरहेका छन् ।
‘पहिले पहिले मान्छेहरू यहाँ हावाबाट कसरी बिजुली निस्कन्छ भनेर हेर्न आउँथे,’ स्थानीय शिक्षक पदम परियारले भने, ‘अहिले आउने यहाँ पहिले यस्तो थियो भनेर हेर्छन् ।’
kantipurdaily


