चैत्र ९, २०७४ चितवन — निर्माणधीन नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको यात्रु बाहक माइक्रोबसमाथि शुक्रबार दिउँसो लगभग पौने पाँच बजे पहाडबाट ढुंगा खस्दा चालकको निधन भएको छ । निधन हुने चालक मकवानपुर जिल्ला दामन–६ का २८ वर्षीय दीपक रुम्बा रहेको चितवन प्रहरीले जनाएको छ ।
निर्माणको काम सुरु भएपछि उक्त बाटो हुँदै यात्रा गर्नेहरुको ज्यानै जाने गरेर भएको यो तेस्रो घटना हो । नारायणगढ-मुग्लिन सडक आयोजनाले सडकमाथिको पहाडमा डढेलो लगाएका कारण ढुंगा खसेको जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा चार बजे र ४० मिनेट जाँदा इच्छाकामाना गाउँपालिका–६ दुई नम्बर पुलमा पहाडमाथिबाट खसेको सुख्खा पहिरो माइक्रोबसमाथि खसेको उल्लेख छ ।
काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माईक्रोबसमाथि ढुंगा खसेको प्रहरीले जानकारी दिएको छ । बसको चालक तर्फ ढुंगाले लागेको र अरु यात्रुलाई केही नभएको प्रहरीको भनाइ छ । दुर्घटनापछि घाइते भएका चालकलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयमा डिएसपी प्रभुप्रसाद ढकालले बताएका छन् ।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले ढुंगा खसेको ठाउँभन्दा माथिको पहाडमा डढेलो लागेको र त्यसैका कारण ढुंगाहरु तल खसेको बताए । सो सडकमा यसअघि पहिरो खस्दा पाँचजनाको ज्यान गएको छ । एकजना वेपत्ता छन् ।
गाडीमा यात्रा गर्नेहरुमध्ये पहिरोका कारणले तीनजना घाइते भएको चितवन प्रहरीको विवरणमा उल्लेख छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा वर्षा र वर्षा नभए पनि सुख्खा याममा पनि पहिरो झर्ने समस्या छ ।
kantipurdaily




















