उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
शनिवार उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।
त्यसमा उनको मात्रै उम्मेदवारी परेको थियो।
त्यसपछि निर्विरोध बनेका पुनलाई आइतवार औपचारिक रुपमा निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले बीबीसीलाई बताए।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि चुनिएका उपराष्ट्रपति पुन उक्त पदमा २८ महिना रहिसकेका छन्।
नयाँ संसद चुनिएपछि फेरि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नुपर्ने व्यवस्था छ।

वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति फेरि दोहोर्याउने सहमति गरेपछि पुनले दोस्रो कार्यकालका लागि पनि निरन्तरता पाएका हुन्।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी पनि दोस्रो कार्यकालका लागि चुनिइसकेकी छन्।
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ।
यात्रा
विक्रम सम्वत् २०२२ कात्तिक ७ गते रोल्पामा जन्मिएका पुन विभिन्न राजनीतिक जिम्मेवारी तथा माओवादी सैन्य संरचनाको भूमिका निर्वाह गर्दै सशस्त्र द्वन्द्वको अन्त्यतिर ‘डेपुटी कमाण्डर’ थिए।
सशस्त्र द्वन्द्वताका माओवादीको सैन्य रणनीति बनाउन उनले प्रमुख भूमिका खेलेको बताइन्छ।
शान्ति प्रकियामा माओवादी सहभागी भएपछि गठित एउटा महत्वपूर्ण संयुक्त समितिमा उनी पनि सहभागी थिए।
उनलाई नजिकबाट चिन्नेहरू शान्ति प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेको टिप्पणी गर्छन्।
खासगरी शान्ति प्रक्रिया चलिरहेका बेला तत्कालीन लडाकुहरूलाई संयम बनाएर राख्न उनले भूमिका निर्वाह गरेको जानकारहरू बताउँछन्।
चर्चा
उपराष्ट्रपति पुनले २०६९ सालमा आफू गम्भीर बिरामी हुँदा पनि विदेशमा उपचार गर्न नगई स्वदेशमा उपचार गराएको विषय निकै चर्चामा आएको थियो।
नेताहरू सामान्य उपचारका लागि पनि विदेश धाउने गरेको भन्दै आलोचना भइरहेका बेला उनको उक्त कदमको धेरैले प्रशंसा गरे।
दुवै मृगौला अधिकांशत: काम नलाग्ने अवस्थामा पुगेको बताइएका पुन स्वदेशमा उपचारपछि स्वस्थ भई आफ्नो नियमित काममा फर्किएका थिए।
उपराष्ट्रपतिका रुपमा रहँदा पनि पुन कुनै ठूलो विवादमा तानिएको नदेखिएको जानकारहरू बताउँछन्।
राष्ट्रियसभा उपाध्यक्ष
राष्ट्रियसभा उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल निर्वाचित भएकी छन्।

उनले कांग्रेसकी उम्मेदवार वृन्दादेवी आलेलाई पराजित गरेकी हुन्।
आलेको पक्षमा ११ र दाहालको पक्षमा ४५ मत खसेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।
उनले आइतवारै शपथ ग्रहण गरेकी छन्।
BBC




















