नरेन्द्र ढकाल/गोरखा
माघ २३ गते । जगंलमा खेर गइरहेको अल्लो प्रशोधन गरेर मनग्य आम्दानी गर्ने लक्ष्यका साथ शान्ती गुरुङले तालिम लिन थालेको एक महिना भयो । सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीकी शान्ति अहिले गोरखा नगरपालिका वडा नम्बर एघार १३ किलो बजारमा अल्लो धाँगो बनाउने र उक्त धाँगो कपडा बुन्ने सिप सिक्दै छिन् । ‘वन भरी अल्लोको झाडी छ, त्यसै खेर गइरहेको कुरा बाट पनि पैसा कमाउन सकिने रहेछ’ तालिममा सिकेको अनुभव सुनाउँदै उनले भनिन् ‘यहाँ आउनु पहिले त अल्लो बाट कपडा बन्छ भन्ने पनि थाहा थिएन, अब त बुन्न समेत जानिसके ।’ शान्ती जस्तै १२ जना भुकम्प पिडितहरु अहिले गोरखा आँबुखैरनी सडक अन्तर्गत पर्ने १३ किलो बजार नजिकै रहेको मनकामना सुति कपडा उद्योगमा तालिम लिइरहेका छन् ।
धार्चे, सुलिकोट र अजिरकोट गाउँपालिकाका अधिकाशं सहभागीहरु महिला छन् । त्यसमा पनि किशोरीको संख्या धेरै छ । धार्चे गाउँपालिका ३ खोर्लाकी जिरानी गुरुङ एसइई परिक्षा दिएर घर मै बसेकी थिइन् । भूकम्पले उनको घर पुरै भत्कियो । उनको पढाई पनि त्यत्तिकैमा रोकियो । अब उनलाई पढाई सुरु गर्ने इच्छा पनि छैन । अल्लोका धाँगोबाट कपडा बुन्ने तान लगाउँदै गरेकी जिरानीले हामी सँग भनिन् ‘सिप सिकेको छु, अब पढ्न तिर लाग्दिन गाउँमा गएर अल्लोको व्यवासाय गर्छु ।’
२ हजार फिट भन्दा माथि पाइने एक प्रकारको बुट्यान ‘अल्लो’ गोरखाका उत्तरी क्षेत्रमा प्रशस्त मात्रामा पाइन्छ । पहिले÷पहिले अल्लोको कपडाबाट घर धाँगो बनाएर बुनिएको कपडा चलनमा थियो तर पछिल्लो समय प्रविधीमा आएको विकास क्रमसँगै घरबुनाका कपडाहरु हराएको जानकारहरु बनाउँछन् । ‘हामीले त घर बुना कै कपडालाएर हुर्केको हो, लाज ढाक्न भने पनि कपडा त लाउनै पर्थो’ लामो समय देखि १३ किलोमा कपडा उद्योग सञ्चालन गरेर बसेका उद्योगी तुलसी देवकोटाले भने ।
अहिले पनि अल्लोको कपडाको माग धेरै भएकाले यसबाट धेरै आम्दानी गर्न सकिने प्रशिक्षक हरिकुमार च्यासीले बताए । ‘बिदेशमा यसको ठुलो माग छ, नेपाली बजारमा पनि घरबुनाका कपडा लगाउनेहरु बढ्नु भएको छ’ उनले भने । ठुलो सम्भावना भएर पनि गोरखामा अल्लोको कपडा बनाउने काम नभएको उनले बताए । अक्सफामको भुकम्प प्रतिकार्य तथा पुनस्थापना कार्याक्रम अन्र्तगत साझेदार संस्था गोरेटो गोरखा, तुलसी मेहर युनेस्को क्लव र एकिकरण नेपालद्धारा सञ्चालित जिविको पार्जन कार्यक्रम अन्र्तगत उक्त तालिम सञ्चालन गरिएको हो ।
‘जंगलमा खेर गइरहेका अल्लोबाट स्थानीयलाई स्वरोजगार बनाउन सकिन्छ भने, किन नगर्ने ? भनेर हामीले यो तामिल दिएका हौ’ गोरेटो गोरखाका कार्यक्रम संयोजक पुरुषोतम ढकालले बताए । दुई सत्र गरेर सञ्चालन गरिएको उक्त तालिम पुस १६ गते बाट सुरु गरिएको हो । पहिलो सत्रमा जंगलबाट अल्लो काटेर ल्याउने, त्यसलाई प्रशोधन गरेर कपास बनाउने, त्यसबाट धाँगो निर्माण सम्मको सिप सिकाइएको प्र्रशिक्षक च्यासीले बताए । ‘उहाँहरुको लगाब देखेर निकै खुसि लागेको छ, निकै मेहनत गर्नुभएको छ’ उनले भने ‘उहाँले राम्रो काम गर्न सक्नु हुन्छ ।’ अहिले प्रशिक्षार्थीले निर्माण गरेको धाँगोबाट कपडा बनाउन सिकाइएको च्यासीले बताए ।
सहभागीहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा परिवर्तन गरी गाउँगाउँमा कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्ने बताएका छन् । ‘अब आँखा खुलेको छ, तालिम सकिएपछि गाउँ जान्छु, सिकेका कुरा, अरुलाई सिकाउछु, व्यवसाय सुरु गर्छु’ जिरानीले भनिन् । उनीहरुलाई तालिमसँगै आवश्यक उपकरणहरु पनि सहयोग गर्ने अक्सफामले बताएको छ । अल्लोको धाँगाबाट कोट, झोला, जुत्ता, गम्छा लगायतका सामाग्री लोकप्रिय मानिन्छन् ।



