काठमाडौं : उपभोक्ता ठगीका प्रमाण बटुलेर मुद्दा दायर गर्ने क्रम अन्तिम चरणमा पुगेका बेला नेपालस्थित फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले सरकारलाई चुनौती दिँदै विभिन्न सञ्चारमाध्यममा विज्ञापन गराएको छ। फोर्ड कम्पनीको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा जीओ अटोमोबाइल्सले ठूलो ठगी गरेको पुष्टि भइसक्दा पनि राज्यलाई चुनौती दिँदै उक्त बिक्रेताले खुलेआम त्यही मोडेलको चारपांग्रे सवारीसाधन बिक्रीवितरणका लागि विज्ञापन गराएको हो। अनुसन्धान चलिरहेकै बेला यसरी बजार प्रवद्र्धनसम्बन्धी विज्ञापन प्रकाशित गरी राज्यको अनुगमन संयन्त्रलाई लज्जास्पद बनाएको उपभोक्तावादीको निष्कर्ष छ।
‘सरकारकै एउटा अनुगमनकारी निकायले फोर्डको एउटा मोडलको बिक्रीमा ठूलो ठगी भयो भनेर सप्रमाण अनुसन्धानलाई अन्तिम चरणमा पुर्याइरहँदा दोषी ठहराइएका बिक्रेताले त्यही मोडलको विज्ञापन गरी राज्यको नीति नियम र अनुगमनकै खिल्ली उडाएको छ’, उपभोक्तावादी अधिवक्ता ज्योति बानियाँले भने, ‘फोर्ड गाडी बिक्री गर्ने जीओ अटोमोबाइल्स राज्यको नीतिलाई उल्लंघन गरी आफू कानुनभन्दा माथि भएको पुष्टि गरेका छन्। यस्ता ठग व्यवसायीलाई कुनै पनि वहानामा उन्मुक्ति दिनु हुँदैन। यसरी अनुसन्धान भइरहेकै विषयमा खुलेआम चुनौती दिएर विज्ञापन गराउने बिक्रेतालाई उन्मुक्ति दिइए आपूर्ति विभाग आफै पनि विवादमा पर्ने अवस्था आएको छ।’
थापाथलीस्थित फोर्ड गाडीको नेपालको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले ‘ईको स्पोर्ट’ चार पांग्रे सवारीसाधनको बजार प्रवद्र्धन गर्दै बिहीबार विज्ञापन गराएको छ। आपूर्ति विभागले सोही मोडेलको सवारीसाधनमा उक्त अटोमोबाइल्सका वित्त प्रबन्धक तेजकरण जैनले अत्यधिक ठगी गरेको ठहर गरी अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ। विभागले यही आइतबारसम्म फोर्डको बिक्रेतासहित अन्य गरी १३ अटोबाइल्सविरुद्ध प्रहरीमा मुद्दा दायर गर्न लागेको दाबी गरेको छ।
अनुसन्धान भइरहेकै विषयमा विज्ञापन आउनु र अनुगमनकारी निकाय टुलुटुली हेरेर बस्नुपका पछाडि शंका उब्जिएको भन्दै बानियाँले आपूर्ति विभागको भूमिका ‘म कुटेजस्तो गर्छु तिमी रोएजस्तो गर्नुजस्तै’ शंकास्पद देखिएको बताए। उनले भने, ‘अनुसन्धान पूरा गरी मुद्दाको छिनोफानो नगर्दासम्म त्यही वस्तुको विज्ञापन गर्न पाइदैन। बिक्रेताले विज्ञापन गराएर राज्यको कानुनलाई धज्जी उडायो।’
उच्च स्रोतका अनुसार जीओ अटोमोबाइल्सको ठगी प्रकरणलाई मत्थर पार्न देउवा सरकारका अर्थमन्त्री, अर्थसचिवसहित केही उच्च तहका नेता सक्रिय रूपमा विभागलाई दबाब दिन थालेका छन्। यसअघि पनि विभागले न्यु रोड र दरबार मार्गको ठगी काण्डलाई उजागर गर्दा तत्कालीन अर्थमन्त्रीसहित सचिवको सक्रियतामा दोषी पाइएका व्यापारीलाई उन्मुक्ति दिइएको थियो।
विभागका उच्च अधिकाका अनुसार न्युरोड र दरबारमार्ग प्रकरणजस्तै अहिले ठूलो राजस्वको स्रोत मानेर उपभोक्तासँग लुट गर्दै आएका यस्ता अटोमोबाइल्स बिक्रेतालाई जोगाउन व्यवसायीले ठूलो रकमको ‘डिल’ गरेका छन्। यस्तो रकम प्रधानमन्त्री देउवादेखि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थसचिव शंकरप्रसाद अधिकारी, आपूर्ति मन्त्री जयन्त चन्द र केही दलका उच्च तहसम्म बाँडिएको छ।
‘अनुगमनका क्रममा दोषी पाइएका बिक्रेताले रकम लेनदेनका आधारमा कारबाही र अनुगमन रोक्न अर्थमन्त्रीदेखि सचिवसम्मलाई प्रभावमा पारिसकेका छन्’, विभागका उच्च अधिकारीले भने, ‘त्यही चलखेलका कारण अनुसन्धान चलिरहेकै विषयमा राज्यलाई चुनौती दिँदै जीओ अटोमोबाइल्सले विज्ञापन गराएको हो।’
अर्का उपभोक्तावादी प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारमाथि लुट गरिरहेका केही बिक्रेताले जोगिन ठूलै रकमको चलखेल गरेको दाबी गरे। राज्यको अनुसन्धानकै क्रममा रहेका वस्तुको बजार प्रवद्र्धन हुनु राज्यको आँखा अगाडि सर्वसाधारणलाई जवरजस्ती विषपान गराउनुजस्तै भएको अधिकारकर्मी महर्जनले बताए।
‘ठगीको अभियोग लागेको बिक्रेताले कतिसम्म आँट गरेको फेला पर्यो भने जो अनुसन्धान गर्दैछ, उसकै आँखा अगाडि झन् देखाएरै ठगी गर्ने अभिप्रायले बजार प्रवद्र्धनका लागि विज्ञापन गरियो’, महर्जनले भने, ‘उच्च तहमा रकमको भागबण्डा नपुगेसम्म बिक्रेताको मनोबल यसरी बढ्दैन्।’
अनुसन्धान पूरा गरी मुद्दाको छिनोफानो नगर्दासम्म त्यही वस्तुको विज्ञापन गर्न पाइदैन। बिक्रेताले विज्ञापन गराएर राज्यको कानुनलाई धज्जी उडायो।
ज्योति बानियाँ, उपभोक्तावादी अधिवक्ता।
ठगीको अभियोग लागेका बिक्रेताले बजार प्रवद्र्धनका लागि विज्ञापन गरेको देखियो। उच्च तहमा रकमको भागबण्डा नपुगेसम्म बिक्रेताको मनोबल यसरी बढ्दैन्। प्रेमलाल महर्जन, उपभोक्तावादी
महर्जनले उपभोक्तामाथि लुट गर्ने व्यवसायीलाई सरकारले नै रकम लेनदेनको आधारमा चोख्याउँदै आएको बताए। उनका अनुसार आपूर्ति विभागको नियतमाथि पनि शंका उब्जिएको छ। सामान्य कैफियत भेटिएको अवस्थामा सानोतिनो पसलमा सिलबन्दी गर्ने विभागले लागत मूल्यमा पाँच लाखभन्दा बढी थपिएको रकममा तीन लाख रुपैयाँ छुट दिएको भनेर ठगी गरेको फोर्डका बिक्रेता जीओ अटोमोबाइल्समा सिलबन्दी गर्न नसक्नु आफै शंकाको घेरामा परेको महर्जनले बताए।
आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समयमा सवारीसाधनको अनुगमनलाई प्रभावित बनाउन ठूलो चलखेल भइरहेको स्वीकार गरे। ‘पछिल्लो पटकको दरबारमार्गजस्तै अहिले पनि प्रभावित बनाउने काम भइरहेको छ’, महानिर्देशक दाहालले भने,‘तर मसँग पुष्टि हुने प्रमाणसहित सम्पूर्ण कागजात छ। जस्तोसुकै दबाब आए पनि आइतबारसम्म प्रहरीमा मुद्दा दायर गर्छु। त्यसपछि प्रहरी र अदालतले के गर्छ, हेर्दैजाउ।’ महनिर्देशक दाहालले अनुसन्धान भइरहेकै विषयमा बजार प्रवद्र्धन गर्ने खालको विज्ञापन आउनु राज्यका लागि ठूलो चुनौती भएको टिप्पणी गरे। करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको इको स्पोर्ट चार पांग्रे सबारी साधनमा छुटको नाममा जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडले पाँच लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मूल्य २८ लाख २२ हजार सात सय आठ रुपैयाँ कायम गरेको छानबिनको क्रममा फेला परेको महानिर्देशक दाहालले जानकारी दिए।
विभागका अनुसार यसरी २८ लाख २२ हजार बिक्री मूल्यबाट जैनले तीन लाख ३६ हजार दुई सय ८३ छुट दिएर २४ लाख ८६ हजारमा १.५ लिटर पेट्रोल मोडेलको एचआर ६४६०० इन्जिन नम्बर भएको इको स्पोर्ट मोडेलको गाडी बिक्री गरेको बिल नम्बर ७५७ बाट फेला परेको छ। फोर्ड बिक्रेताको ठगी यसैमा सीमित छैन। कहाँसम्म ठगी गरेको छ भने विज्ञापन, प्रशासनिक, बैंकको ब्याज, गाडी बिक्री नहुँदा राखिएको स्थानको भाडासमेत जोडेर खरिद गर्ने उपभोक्ताबाट असुल भएको छ।
महानिर्देशक दाहालका अनुसार प्रतिसवारीसाधन बिक्री गर्दा उपभोक्ताबाट प्रशासनिक खर्च भनेर ९१ हजार पाँच सय ५९ रुपैयाँ अतिरिक्त खर्च असुल गरेको भेटिएको छ। यस्तै बिक्री, वितरण र विज्ञापनका नाममा एउटा गाडी बिक्री गर्दा उपभोक्ताबाट ६४ हजार चार सय ३३ रुपैयाँ र बैंकको ब्याजदर भनेर ३७ हजार थप रकम असुल गरी बिक्रेता जैनले सीधै लुटेको उनले बताएका छन्।
annapurnapost



