गोरखा समाचारदाता
पुस ११ गते । मलाई अमेरिका यही, मलाई बेलायत नी यही बोलको गित गाउँदै जब पशुपती शर्मा मञ्चमा उभिए खेलकुद मैदान हरमटारीको जुरुक्कै उठ्यो । सार्वजानिक बिदा दिन खचाखच दर्शक भरिएको रङ्शालामा आयोजित पहिलो गोरखाकाली मेलाको चौथो दिनका मुख्य आकर्षक मानिएका शर्माको प्रस्तुति हेर्न १० हजार भन्दा बढि दर्शक टिकट काटेर खेलमैदान हरमटारी पुगेका थिए ।
इसाई धर्मावम्बीहरुको मुख्य पर्व क्रिसमस परेकाले पनि दर्शकहरुको निकै भिडभाड थियो । झण्डै आधा घण्टा स्टेज तताएका शर्माले आफ्ना आधा दर्जन गित गाएका थिए । नेपाली दोहोरी क्षेत्रका सर्वाधिक चर्चित गायक शर्माले मेरो मायाँ बसेको गाउँमा बत्ति बाल्नै पर्दैन त्यो ठाउँमा गित गाउँदा दर्शक सबै उठेर छम्छमी नाचेका थिए । मेलाकी मुख्य आकर्षक मध्येकी प्रिती आलेले पनि गोरखालीहरुलाई मज्जाले नचाइन् । पछिल्लो समय निकै चर्चामा रहेकी आलेले पनि आफ्ना झण्डै आधा दर्जन गित गाएकी थिइन् ।
नाचेर स्टेज तताउन खप्पिस उनको भनकसो गरौं र पन्चेबाजामा रहेको गित गाउँदै नाउँदै गर्दा सबै उफ्रीउफ्री नाचेका थिए । कार्यक्रममा गोरखाली गायक सन्तोष दवाडी, भावना बस्नेत, पप गायक रमेश मेलोडी, विश्व आरके लगायतले समेत आ–आफ्नो प्रस्तुती राखेका थिए । मेलाको चौंथो दिन सोमबार अन्तर बिद्यालय नृत्य प्रतियोगिता समेत भएको छ । मेलामा सोमबार १० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका छन् ।
सोमबार क्रिसमसका दिन सार्वजानिक बिदा परेकाले दर्शकहरुको अत्याधिक चाप रहेको आयोजक हरमटारी क्लवका महासचिव अनिल श्रेष्ठले बताए । अपराह्न ३ बजे पछि रङ्गशालामा दर्शक नअटे पछि एक घण्टा प्रवेश निषेध गर्नुपरेको श्रेष्ठले बताए । ‘दिउँसो ३ बजे तिर त भित्र मान्छे भरिभराउ भयो, एक घण्टा टिकट बुकिङ रोकेर पछि मात्र खोल्यौ’ उनले भने । हरमटारी क्लवको आयोजनामा भएको पहिलो गोरखकाली मेलामा ८० वटा स्टल राखिएको छ । खेलकुद बिकास समितिको कर्बडहलमा खाना महोत्सव समेत आयोजना गरिएको छ । आठ दिन सम्म चल्ने मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती हुने आयोजकको दावी छ ।
पाचौं दिन आज चर्चित पप गायक सबिन राई, लोकदोहोरी गायक दिपसागर थापा, हरिराम परियार लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले बताएको छ ।


