गत वर्षको तुलनामा यो वर्ष करिब एक लाख मेट्रिक टन धान कम उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ।
रोपाईँ गर्ने बेला खडेरी पर्नु र त्यसपछि गएको बाढीका कारण यस वर्ष देशभरी गरी करिब ५१ लाख मेट्रिक टन धान उत्पादन भएको अधिकारीहरु बताउँछन्।
धान उत्पादनमा आएको ह्रासले आयात बढाउने र यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने विज्ञहरुले बताएका छन्।
उन्नत जातिको बिउ, गुणस्तरीय मल र सिँचाइ सुविधाजस्ता कारणले केही वर्षयता धान उत्पादन बढ्दै गएको थियो।
गत वर्ष करिब ५२ लाख मेट्रिक टन धान उत्पादन भयो।
जुन त्यसअघिको वर्षको तुलनामा २१ प्रतिशतले बढी रहेको थियो।
तर यस वर्ष बाढी र अन्य प्राकृतिक प्रकोपका कारण धान उत्पादनमा ह्रास आएको कृषि मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयका सहसचिव मणिरत्न अर्याल भन्छन, “पोहोरको तुलनामा १ लाख मेट्रिक टन कम उत्पादन भएको देखिएको छ, ८० प्रतिशत धान उत्पादन तराईमै हुन्छ त्यहाँ खडेरी र बाढी दुवै आएकाले असर देखिएको हो। “
८० प्रतिशत धान उत्पादन तराईमै हुन्छ त्यहाँ खडेरी र बाढी दुवै आएकाले असर देखिएको हो
अर्यालका अनुसार अघिल्लो वर्ष करिब १४ लाख हेक्टर जमिनमा धान बाली लगाइएको थियो।
यस वर्ष १३ लाख हेक्टर जमिनमा मात्र धान लगाइएकोले पनि उत्पादनमा कमी आएको हो।
मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २९ प्रतिशत छ।
धान कृषि क्षेत्रभित्र पनि मुख्य बाली हो।
कृषिभित्र धानको योगदान करिब २२ प्रतिशत रहेने गरेको छ।
यस्तै बढ्दो शहरीकरणका कारण जीवनशैलीमा आएको परिवर्तनले पनि चामलको खपत बढ्दै गएको छ।
यसकारण धान उत्पादनमा कमी आउँदा अर्थतन्त्रमा यसको नकारात्मक असर पर्ने धानविद् भोलामान सिंह बस्नेत बताउँछन् ।
करिब १० प्रतिशत धान उत्पादन घट्यो भने कुल ग्राहस्थ उत्पादनमा एक प्रतिशत कमी आउँछ
उनले भने, “करिब-करिब महिनाको २ अर्ब रुपियाँको चामल आयात भइरहेको हुन्छ। उत्पादन कम भएपछि अरु बढी आयात हुने नै भयो। करिब १० प्रतिशत धान उत्पादन घट्यो भने कुल ग्राहस्थ उत्पादनमा एक प्रतिशत कमी आउँछ।”
चामलको मूल्य बढ्नेतर्फ सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्।
यस्तै कतिपय अर्थविज्ञले भने धान उत्पादनमा आएको कमीले सरकारले प्रक्षेपण गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिमा पनि प्रभाव पार्न सक्ने बताएका छन्।
BBC



