प्रतिनिधि सभा तर्फको जारी मतगणना अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले ९३ सिटमा जित हासिल गरिसकेको निर्वाचन आयोगले जनाएको छ।
नेकपा एमालेले ६७ स्थानमा जितेको छ भने नेकपा माओवादी केन्द्र २६ सिटमा विजयी बनेको छ।
अहिलेसम्म सत्तारुढ नेपाली कांग्रेसले जम्मा १५ स्थानमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले बताएको छ।
मत गणना जारी रहेका क्षेत्रमध्ये वाम गठबन्धनले २५ ठाउँमा अग्रता लिएको छ भने कांग्रेसले जम्मा ६ ठाउँमा अग्रता लिएको छ।
प्रतिनिधि सभाकै समानुपातिक प्रणालीतर्फ भने एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।
बिहान साढे सात बजेसम्मको गणना अनुसार एमालेले झण्डै ३ लाख ६ हजार ६२ मत छ भने नेपाली काँग्रेसले ३ लाख ५ हजार ४ सय ७६ मत पाएको छ।
वाम गठबन्धनको एउटा घटक माओवादी केन्द्रले १ लाख ४६ हजार ९ सय ५१ मत ल्याएको छ।
कतिपय चर्चित उम्मेदवार प्रतिस्पर्धामा रहेका निर्वाचन क्षेत्रको मतपरिणामलाई धेरैले चासोपूर्वक हेरिरहेका छन्।
चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३५ हजार चार सय भन्दा बढी मत ल्याएका छन्।
उनले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजार भन्दा बढी मतले पछि पारेको चितवनस्थित हाम्रा संवाददाता ईश्वर जोशीले जनाएका छन्।
नवलपरासीमा भने नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले जित हात पारेका छन्।
४० हजार ६ सय २० मत ल्याएका कोइरालाले आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार भवेश्वर पराजुली भन्दा करिव ४ हजार मत बढी ल्याएका थिए।
कोइराला प्रदेश नम्बर ४ बाट प्रत्यक्षतर्फ जित्ने एक मात्र कांग्रेस नेता हुन्।
त्यस्तै अछामबाट उठेका नेकपा एमालेका भीम रावलले २४ हजार ८ सय ९३ मत ल्याएर विजयी भएका छन्।
उता, सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार रहेका विजय गच्छदारले आफू भन्दा अघि रहेकी प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीसँगको मतअन्तर साँघुरो बनाएका छन्।
२६ हजार २ सय भन्दा बढी मत ल्याएकी चौधरी गच्छदार भन्दा ६ सय मतले अघि छन्।
वाम गठबन्धनले ७ वटै प्रदेशमा गरेर अहिलेसम्म १ सय ९८ स्थानमा विजय प्राप्त गरेको छ भने कांग्रेसले जम्मा ३३ ठाउँमा मात्रै जित हासिल गरेको छ।
BBC




















