मंसिर २०, २०७४-सर्लाही–४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ । निर्वाचन आयोगको निर्णय खारेज गर्न माग राखी दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीशहरु दीपकराज जोशी र डम्बरबहादुर जोशीको संयुक्त इजलासले बुधबार यादवको रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको हो । सर्लाही–४ बाट प्रतिस्पर्धामा होमिएका शिवपुजन राय यादवको उम्मेदवार निर्वाचन आयोगले खारेज गरेको थियो ।
आयोगको निर्णयविरुद्ध यादवले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । उनीमाथि कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा सजायको फैसला भएकाले उम्मेदवारी खारेज हुनुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो । फौजदारी कसुरमा प्रमाणित भएको व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँदैनन् ।
ekantipur


