, इटहरी
मंसिर १४, २०७४-इटहरी उपमहानगरपालिका–९ भलाद्मी टोलमा नेपाली कांग्रेसको भेला भइरहेको स्थानमा बम विष्फोट भएको छ । बम विष्फोटबाट एक वर्षका बालक यौवन न्यौपाने, १६ वर्षकी सम्रिना अधिकारी, ५० वर्षका धनबहादुर श्रेष्ठ र ४० वर्षकी गीता आचार्य घाइते भएका छन् । १३ जनाभन्दा बढी सामान्य घाइते छन् ।
टेण्ट गाडेर गरिएको कार्यक्रममा प्रमुख अतिथि निर्मला गच्छदार थिइन् भने विशेष अतिथि राज्यमन्त्री सुमित्रादेवी चौधरी थिइन् । कार्यक्रममा जिल्ला सदस्य दीपक ढकाल बोलीरहेका थिए । मध्यान्हको ११:५० मा मञ्चकै एक मिटर परतिर बम विष्फोट भएको थियो ।
मञ्च नजिकै खेल्दै गरेका बालक यौवनको कंचटमा बमको छर्राले लागेको छ । त्यस्तै सम्रिनाको पनि कंचटमा र धनबहादुरको पेट र खुट्टामा तथा गीता आचार्यको टाउकोमा लागेको छ ।
बम विष्फोटनको जिम्मा कसैले लिएको छैन । विष्फोट निकै शक्तिशाली भएकाले सकेट बममा टाईम सेट गराएर विष्फोट गरेको हुनसक्ने घटनास्थलमा तैनाथ सुरक्षाकर्मीको अनुमान छ । घाइतेहरुको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरमा भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार जिल्लामा कुनैपनि दलको कार्यक्रमस्थलमा पहिला सुरक्षा जाँच गरी त्यसपछि मात्र कार्यक्रमको लागि स्वीकृती दिने चलन भएपनि ससाना कार्यक्रममा भने त्यस्तो गर्ने गरिएको छैन ।
स–साना कोणसभा र टोलभेलामा पनि बम पड्कन थालेपछि ससाना कार्यक्रममा पनि अब उच्च सुरक्षा सतर्कता अपनाइने प्रजिअ पराजुलीले बताए ।
इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतका अनुसार कुनैपनि दलको कार्यक्रममा सुरक्षा दिने गरिएको छ । अब कार्यक्रम स्थलमा कार्यक्रम भन्दा पहिले सुरक्षा जाच पछि मात्र कार्यक्रम गर्न दिइने छ ।
ekantipur




















