बाली : इन्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरूले जनाएका छन् ।उनीहरूले बालीमा यसको खतरा अझै पनि कायमै रहेको चेतावनी दिएका कारण बालीस्थित एकमात्र विमानस्थल मंगलबार पनि खुलेको छैन । केही समयदेखि यस क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविष्यवाणी गरिएको थियो । त्यसैले मंगलबार दोस्रो दिन पनि विमानस्थल बन्द राखिएको थियो । यसबाट बाली पुगेका हजारौं यात्री अलपत्र अवस्थामा छन् ।
यसअघि इन्डोनेसियाको सरकारले यसको वरिपरि बस्ने करिब एक लाख मानिसलाई सुरक्षित रूपमा अन्यत्र सर्न आग्रह पनि गरिरहेको छ । तर बालीको पनि पहाडी क्षेत्रका मानिसहरू सरिसकेका भने छैनन् । विमानस्थलबाट उडान सेवा बन्द भएपछि हजारौं यात्रु विमानस्थल बाहिर जम्मा भएका छन् । सोमबार मात्रै करिब ४ सय ४५ उडान रद्द भएका थिए । विमानस्थल क्षेत्रमा ५५ हजारभन्दा बढी यात्री अलपत्र परेका छन् ।
बाली द्वीपको माउन्ट आगुंग पहाडबाट केही दिनदेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्हरूले ज्वालामुखीको खतराको भविष्यवाणी गरेका छन् । अधिकारीहरूले यसरी धुवाँ र खरानी निस्किनु भनेको छिट्टै ठूलो मात्रामा विस्फोट हुन सक्ने अनुमान गरिएको जनाएका छन् । यहाँ लगातार कम्पन भइरहेको छ । त्सोमबारका धुवाँका मुस्ला ३ किलोमिटर ४ सय मिटर उचाइसम्म पुगेको उनको भनाइ छ ।
यस क्षेत्रमा बस्ने नागरिकलाई सरकारले मास्क वितरण गरिरहेको छ । सरकारले सर्वसाधारण नागरिकहरूलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै आधिकारिक प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले करिब १ लाख ४० हजार मानिस खतरामा परेको बताएका छन् । उनीहरूलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ । ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको छ ।
यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन । खरानीका कारण मानवीय समस्या त छँदै छ, यसले जहाजको इन्जिनमा समेत क्षति पुर्याउने बताइन्छ । त्यसैले उक्त विमानस्थलबाट उडान रोकिएको हो ।
एपी/रासस


