ललितपुर, १२ मंसिर । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादीलाई एमालेमा विलिन गराएपछि आफ्ना पूर्व सहकर्मी प्रचण्डले जननिर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा छाडेको आरोप लगाएका छन् ।
ललितपुरको प्याङगाउँमा मंगलबार नयाँ शक्ति पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले भित्ते राष्ट्रपतिका रुपमा चर्चित आफ्ना पूर्वसहकर्मी प्रचण्डले कार्यकारी राष्ट्रपतिको एजेन्डा छाडेको आरोप लगाएका हुन् । ‘एकपटक भित्ते राष्ट्रपतिको रुपमा चर्चित मेरा मित्र प्रचण्डजीले पार्टीलाई एमालेसँग विलिन गरेसँगै कार्यकारी राष्ट्रपतिको मुद्दा छाडिदिनुभयो,’ उनले भने, ‘उहाँहरुको घोषणापत्र हेर्नुहोस्, उक्त एजेण्डा नै गायव छ ।’
कांग्रेसका लागि संसदीय व्यवस्था नै सर्वोपरि भएकोले उनीहरुबाट शासकीय स्वरुप परिवर्तनको अपेक्षा नभएको उनको तर्क थियो । उनले भने, ‘कांग्रेसको लागि चिसो भनेको कोकाकोला भनेजस्तै संसदीय व्यवस्था भनेकै सर्वोपरि छ, उनीहरुबाट यो अपेक्षा थिएन ।’
विगत २५ वर्षमा २६ वटा सरकार र १० वर्षमा १० सरकार बनेको उदाहरण दिँदै संयोजक भट्टराईले अहिलेको संविधानमा भएको गलत शासकीय स्वरुप सच्याउन संविधान संशोधन गर्नुपर्ने तर्क अगाडि सारे ।
‘नयाँ शक्ति मात्रै यस्तो पार्टी हो, जसले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई दृढतापूर्वक उठाएको छ,’ उनले भने, ‘हामी संसद पूर्ण समानुपातिक र राष्ट्रपति पूर्ण कार्यकारी बनाउने र संसदभन्दा बाहिरबाटै मन्त्रि हुने व्यवस्थाको वकालत गरिरहेका छौं ।’ उनले नयाँ शक्तिले अगाडि सारेको शासकीय स्वरुपले राजनीतिक स्थिरता पनि हासिल हुने र खर्चिलो चुनावी दुश्चक्रबाट पनि मुलुकलाई बाहिर निकाल्न सकिने उनको जिकिर थियो ।
समृद्धिका लागि शान्ति, स्थिरता र सुशासन
मुलुकको समृद्धिको लागि शान्ति, स्थिरता र सुशासन आधारभूत आवश्यकता रहेको उनले बताए । ‘पुराना दलहरुले विकास र समृद्धिका सतही कुरा मात्रै गरिरहेका छन्,’ उनले भने, ‘समृद्धिको लागि पहिलो शर्त राष्ट्रिय एकता हो, यसको लागि नेपालको विविधता सम्बोधन हुने गरी संघीयताको सही अर्थमा कार्यान्वयन हुनुपर्छ ।’ संघीयताको सही अर्थमा कार्यानव्यन गरेर जनताको घरदैलोमा अधिकार नपुगे पुनः विद्रोह हुनसक्ने सम्भावना उनले औंल्याए ।
राष्ट्रिय एकतासँगै समृद्धिको लागि दुवै छिमेकीसँग असल सम्बन्धलाई उनले समृद्धिको लागि आधारभूत आवश्यकता भएको आैंल्याए । ‘समृद्धिको आधार आन्तरिक एकता र बाह्य शक्ति सन्तुलत आवश्यक पर्छ, त्यसैले नयाँ शक्तिले इन्द्रधनुषी र प्रगतिशील राष्ट्रवादको कुरा गरिरहेको छ ।’
उनले ठूला पार्टीका शीर्ष नेताहरु अरबौंका अनियमितता काण्डसँग जोडिएको दावी गरे । ‘म दावीका साथ भन्न सक्छु, तीन पार्टीका शीर्ष नेताहरु अरबौं अनियमितताका खेलहरुमा सहभागी छन्,’उनले भने, ‘चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्नँ । भ्रष्टाटारको अन्त्य समृद्धिको अर्को महत्वपूर्ण शर्त रहेको उनको तर्क थियो ।
कांग्रेसले जिते गरिब बढ्छन्, कम्युनिष्टले जिते देश कंगालीकरण
नयाँ शक्तिले सबैका लागि समृद्धिको नारा दिएको चर्चा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले वृद्धि र वितरणको सन्तुलनसहितको समृद्धिको सुत्र नयाँ शक्तिसँग भएको स्पष्ट पारे । ‘कांग्रेसको विकासले केही मात्र धनी हुन्छन्, अरु सबै गरिब नै रहन्छन्, कम्युनिष्टहरु वितरणका मात्र कुरा गर्छन्, आर्थिक वृद्धिको कुनै सोच नै छैन,’ उनले भने, ‘उनीहरुमा स्टालीनवादी सोच छ । यसले बाह्य लगानी पनि आउँदैन, देशकै लगानी पनि परिचालित हुँदैन ।’
जिडिपीको ४० प्रतिशतसम्म अर्थात् नेपालको सन्दर्भमा १० खर्ब लगानी गर्नुपर्नेमा अहिले ३/४ खर्ब मात्र प्रतिवर्ष लगानी भइरहेको भन्दै भट्टराईले देशको अर्थतन्त्र बिग्रिरहेको बताए । ‘कम्युनिष्टहरुको यस्तै सोचसहित सरकार बन्यो भने देशमा आर्थिक मन्दी आउने उनको तर्क थियो । ‘मलाई उहाँहरुले जित्नुहुन्छ जस्तो त लाग्दैन, तर उहाँहरुले जित्नुभयो भने देश कंगालीकरणको दिशामा जानेवाला छ,’ उनले भने । उनले नयाँ शक्तिले लिएको वाम लोकतन्त्रको नीतिले निजी पुँजीको पनि परिचालन र ठूला पूर्वाधारमा सरकारको लगानीलाई सुनिश्चित गर्ने स्पष्ट पारे ।
बलियो व्यवस्था सधैं टिक्दैन
‘जित्नेलाई मात्रै भोट दिने हो भने राणा शासन सधैं टिक्थ्यो, पञ्चायत पनि टिकिरहन्थ्यो,’ उनले फरक प्रसंगमा भने, ‘बलियोलाई मात्रै भोट हालियो भने संसारमा परिवर्तन आउँदैन ।’ उनले सहिदहरुले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध बलिदानी गरेको स्मरण गर्दै भने, ‘हाम्रा सहिदहरुले परिवर्तनको आँट गरेका थिए । सहिदहरुको बलिदानी बलिया शक्तिहरुकै विरुद्ध थियो ।’ उनले सन्तानको भविष्यको लागि आँखामा मतदानको लागि आह्वान गरे ।
sajhapost


