जिम्बाब्वेमा आइतवार दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्न लागेका छन्, जसले राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्क्योल गर्न सक्छन्।
अबका केही घण्टामा मुगाबेले गत बुधवार सत्ता हत्याएका सेनाका वरिष्ठ अधिकारीहरुसँग वार्ता गर्नेछन्, जहाँ उनीहरुले मुगाबेलाई राजीनामा दिन आह्वान गर्ने अपेक्षा गरिएको छ।
सत्तारुढ जानु-पीएफका नेताहरुले मुगाबेलाई पार्टी प्रमुखबाट हटाउने विषयमा पनि छलफल गर्नेछन्।
राष्ट्रपतिको राजीनामा माग गर्दै शनिवार जिम्बाब्वेका प्रमुख शहरहरुमा व्यापक प्रदर्शनहरु गरिएका खबरका माझ ती बैठकहरु बस्न लागेका हुन्।
तर जिम्बाब्वेबाट प्राप्त खबरहरुका अनुसार आफ्नै घरमा नजरबन्दमा राखिएका मुगाबेले राजीनामा दिन अस्वीकार गर्ने अपेक्षा गरिएको छ।
सेनाले सत्ता कब्जा गरेकोमा हजारौं संख्यामा प्रदर्शनकारीले खुसियाली मनाएका छन्।
प्रदर्शनकारीले मुगाबेको तस्वीर च्यात्नुका साथै उनको घरसम्म र्याली निकालेका थिए।

राष्ट्रपति मुगाबेले गत साता उपराष्ट्रपति एमर्सन मनाङ्ग्याग्वालाई बर्खास्त गरेका थिए।
उनको कदमको संकेत थियो कि उनी आफ्नी पत्नी ग्रेस मुगाबेलाई उत्तराधिकरी बनाउन चाहन्छन्।
देशमा जारी तनावका माझ बुधवार सेनाले हस्तक्षेप गर्दै मुगाबेलाई उनकै घरमा नजरबन्दमा राखको छ।
शनिबार निकालिएको एउटा र्यालीलाई सेना र सत्तारुढ जानु-पीएफ पार्टीले समर्थन गरेको थियो।
जिम्बाब्वेको स्वतन्त्रताको लडाइँमा सहभागिता जनाएका सेना पनि उक्त र्यालीको समर्थनमा आएका थिए।
गत वर्षसम्म मुगाबेको समर्थन गरिरहेको सेनाले अब मुगाबेले पद छोड्नुपर्ने बताएको छ।
कैयौँ मानिसले राष्ट्रपति कार्यालय र मुगाबेको घर अगाडि प्रदर्शन गरेका थिए।
BBC


