गोरखा समाचारदाता
असोज ३० गते । बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रका जनप्रतिनिधिहरुले यथाशिघ्र मुआब्जा वितरण गर्न आग्रह गरेका छन् । आयोजना कार्यालयले आईतबार धादिङमा गरेको एक कार्यक्रममा सहभागी गोरखाका जनप्रतिनिधिहरुले डुबान क्षेत्रका सबै प्रभावितहरुलाई एकै पटक मुआब्जा दिनुपर्ने माग गरेका हुन् ।‘अब जनतालाई अड्काएर राख्नु हुँदै, रकम अभाव पनि छैन्,‘भिमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले भने ‘यो वा त्यो बाहनामा मुआब्जा बितरणको काम ढिलाई गर्न भएन ।’ मुआब्जा निर्धारण भएको ठाउँको कात्तिक भित्रै एकैपटक सुचना प्रकाशित गर्नुपर्ने, आरुघाट र खहरे बजारको मुआब्जा तत्काल तोक्नुपर्ने, बोटबिरुवा, घर जग्गाको मुआब्जा निर्धारण गरिनु पर्ने, पुर्नस्थापना र पुर्नबासको टुङ्गो लगाउनुपर्ने, रिङरोड भित्र पर्ने जग्गा पहिचान गर्नुपर्ने लगायतका विषयमा आफूहरुले ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।‘हामीले प्रभावितका तर्फबाट विभिन्न मागहरु राख्यौ’ अध्यक्ष पाण्डेले भने ‘समय सिमा निर्धारण गरे काम गर्ने प्रतिवद्धता व्यक्त गर्न समेत आग्रह गरेका छौ ।’आयोजनाको कामले गती लिन नसकेको प्रति जनप्रतिनीधिले असन्तुष्टि समेत पोखेका थिए ।

बुढीगण्डकी क्षेत्रका जग्गा अहिले रोक्का गरिएको छ । मुआब्जा बितरणमा ढिलाई भईरहँदा प्रभावित क्षेत्रका स्थानीयको घर जग्गा रोक्का हुँदा बैङ्ककिङ कारोबार गर्न पाएका छैनन । त्यहाँको बिकास निर्माण ठप्प छ । आयोजनाले डुबान पर्ने ठाउँ भन्दै वर्षौँ देखि त्यस क्षेत्रमा बिकास बजेट बिनियोजन गरिएको छैन । भुकम्प पीडितले समेत नयाँ घर बनाउन नपाएको गुनासो जनप्रतिनीधिले गरेका थिए । जनप्रतिनिधिको सुझाब लिन कार्यक्रम गरिएको बुढीगण्डकी आयोजना इकाई कार्यालय प्रमुख कृष्ण कार्कीले बताए ।‘हाल सम्म भएको कामको प्रगती अब गर्नुपर्ने कुरा लगायतका बारेमा जनप्रतिनिधिलाई जानकारी गराउन कार्यक्रम गरेका हौ’ उनले भने ‘उहाँको सुझाव अनुसार छिटै आयोजनाको कामले गति लिन्छ ।’

बहुचर्चित राष्ट्रिय गौरबको उक्त आयोजना निर्माणका लागि आरुघाट र खहरे बाहेक डुबान क्षेत्रको मुआब्जा तोकिए पनि हालसम्म सबै ठाउँको मुआब्जा रकम वितरण हुन सकेको छैन् । सरकारले गत वर्ष गोरखा र धादिङ २ जिल्लाका लागि ५ अर्ब रकम बिनियोजन गरेको थियो । उक्त रकमबाट दुई जिल्लाको साबिकका ३÷३ वटा गाविसमा मुआब्जा वितरण गरिएको छ । गोरखाको घ्याल्चोक, भुम्लीचोक,दबुङ्र्ग र धादिङको सलाङ मैदी र खरी पहिलो चरणमा मुआब्जा वितरण गरिएको हो ।

जस अनुसार गोरखमा २ अर्ब ४ करोड रकम वितरण भईसकेको छ भने बाँकी ५१ जनाको रकम वितरणका लागि आवश्यक तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । आज धादिङका जनप्रतिनिधि सँग छलफल गर्ने आयोजनाको तयारी छ ।



