- सहयोगको पखाईमा किसान
नरेन्द्र ढकाल/गोरखा
असोज ३ गते । गण्डकी गाउँपालिका वडा नम्बर ६ का स्थानीय किसानहरुले राज्य कुनै सहयोग नगरेको गुनासो गरेका छन् । साबिकको भुम्लिचोक गाविसमा व्यवसायिक तरकारी खेति गरिरहेकाहरुले आवश्यक ज्ञान सिप नपाएको बताए ।‘हामीले पढे लेखेको छैन्, रोग किराको दबाई गर्न पनि जानिदैन, कृषिका सरहरु पनि हाम्रो बारीमा हेर्न आउँनु हुन्न’ भुम्लिचोक चिसापानीकी गौमायाँ गुरुङले भनिन् । व्यवसायिक तराकारी खेतिका लागि पकेट क्षेत्र मानिएको गण्डकी गाउँपालिकाका घ्याल्चोक,भुम्लिचोक,दर्बुङ लगायतको क्षेत्रका किसानको मुख्य पेशा तरकारी खेति हो । उनीहरु बेमौसमी तथा मौसमी दुबै किसिमका तरकारी लगाउँछन् ।
पृथ्वी राजमार्गबाट नजिक पर्ने भएकाले त्यहाँ उत्पादित तरकारीको बजार पनि राम्रो छ । तर राज्यले आवश्यक सहयोग नगर्दा किसानहरुको परिश्रम यसै खेर गएको छ । ‘त्यसै बाहिर लाउँदा तरकारीको विरुवा नै मेरेर जान्छ हामीलाई कसैले प्लास्टिकका घरहरु दिए धेरै राम्रो हुन्थ्यो ?’अर्की कृषक लालमाँया गुरुङले दुखेसो पोखिन् । पहुँचवाला केही किसानले सदरमुकामबाट टनेल लगेर तरकारी खेति गर्ने गरेको भए पनि अधिकाशं किसानहरु यसै खेति गर्न बाध्य छन् । ‘मौसम अनुसारको खेति गर्न त प्लास्टिकको घर नभए पनि हुन्छ तर बेमौसी लगायो भने नभई नहुने रैछ’ गुरुङले भनिन् ।
मुलक सघियतामा जानु पूर्व कृषि कार्यालयले सेवा केन्द्र मार्फत किसानहरुलाई सहयोग गदै आएको थियो तर अहिले उक्त सेवा केन्द्रलाई गाउँपालिका अन्र्तगत सञ्चालन गर्ने मापदण्ड बनाईएको छ । तरकारी खेतिमा रोग किराको प्रकोप बढि हुने भएकाले विशेषज्ञ सेवाको अपेक्षा स्थानीय कृषकहरुले गरेका छन् । यस वर्ष पनि रोगका कारण बेच्ने बेलाको तरकारी बोटमै सुकेको स्थानिय हुकमायाँ गुरुङले गुनासो गरिन् । बारीमा रहेको तरकारीमा रोग लाग्दा कहाँ खबर गर्ने भन्ने पनि उनीहरुलाई थाहा छैन् ।‘रोग लाग्यो भनेर कहाँ भन्न जाने कहाँ भने के हुन्छ केही थाहा छैन’ उनले भनिन् । सरकारले प्राविधिक ज्ञान नदिएकाले आफूहरुलाई निकै समस्या भएको किसानहरुको भनाई छ ।
किसानले उत्पादन गरेको कृषि उपजको फाईदा बिचौलियलो बढि लिने गरेको उनीहरुको गुनासो छ ।‘हामी मरीमरी काम ग¥यो फाईदा चाँही अरुले नै खान्छ, बजार भाउमा बेच्न पाए त कति राम्रो हुन्थ्यो नी’ गौमायाँ गुरुङले गुनासो गरिन् । सहकारी मार्फत तरकारी बेच्ने गरेका उनीहरुलाई त्यहाँबाट बेच्दा पनि समस्या भएको छ । सहकारीले एक पटक बेचेको तरकारी पैसा अर्को पटक तरकारी लगेपछि मात्र भुक्तानी दिने गरेकाले घर खर्च चलाउन गा¥यो भएको किसानहरुले बताए ।
गण्डकी गाउँपालिकाको सो क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा सरकारले कार्यक्रमहरु सञ्चालन गरिरहेका बताए पनि अधिकाशं किसानहरुले आफूहरुले प्राविधिक सहयोग समेत नपाएको गुनासो गरेका छन् । स्थानीय तह बने सँगै कृषिका कर्मचारी गाउँपालिकाको केन्द्रमा पुगेर काम गर्न सुरु गरेको बताइए पनि किसानहरु उक्त कुरामा बेखबर छन् । उनीहरु सरकारी सहयोगको पखाईमा देखिन्छ । यद्यपी अहिले पनि हरेक किसानले वर्षेनी लाखौं मुल्यको तरकारी बच्ने गरेका छन् । गण्डकी गाउँपालिकाको घ्याल्चोक, भुम्मीचोक लगायत आसपासका क्षेत्रमा उत्पादित तरकारीको काठमाण्डौ ठुलो माग छ ।



