गोरखा समाचारदाता
भाद्र २५ गते । गोरखाका सिरानचोक गाउँ पालिका वडा ४ छोप्राकमा नागरिक सुनुवाई कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालयको नियमित कार्यक्रम अनुसार भएको उक्त कार्यक्रममा सो क्षेत्र स्थानीयहरुले प्रहरीको सेवा प्रभावकारी बनाउन जोड दिएका छन् ।
प्रहरीको सेवा चुस्तदुस्त हुनुपर्ने, ग्रामिण भेगमा पनि ट्राफिक चेकजाँचको व्यवस्था गरिनुपर्ने, प्रहरी चौकीहरुमा दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गरिनुपर्ने, स्थानीय तहको सरचना अनुसार शान्ति सुरक्षाको व्यवस्थापन मिलाउनु पर्ने लगायतका कुरामा जोड दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख एस्पी प्रकाश अर्याल, जिल्ला समन्वय समितिका सदस्य कृष्ण प्रसाद अर्याल लगायतले सहभागी जिज्ञासाको जबाफ दिएका थिए ।
जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउनु आफ्नो दायित्व भएको भन्दै उनीहरुले नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेको अवस्थामा प्रहरी प्रशासनको ध्यान त्यसैमा केन्द्रिय भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जोड दिनुभएको प्रहरी निरिक्षक रामचन्द्र शाहले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यलयले अबैध ७० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । गोरखा बजार तर्फ ल्याउँदै गरेको अवस्थामा खोलखोलमा गरिएको चेकजाँचका क्रममा उक्त परिमाण घरेलु मदिरा भेटिएको प्रहरी निरिक्षक शाहले जानकारी दिए । सरकारले घरेलु मदिरा ओसार प्रसार र बेचबिखनलाई अबैद्य मानेको छ । गोरखा सदरमुकाममा दैनिक सयौं लिटर मदिराको ओसारप्रसार र बिक्रि बितरण हुँदै आएको छ ।
पछिल्लो समय प्रहरीले चेकजाँचमा कडाई गरेपछि उक्त घटना सावजानिक भएको हो ।


