नरेन्द्र ढकाल/गोरखा
भाद्र ६ गते । जिल्ला मै पहिलो पटक सरसरफाईका लागि आवश्यक सामग्रीहरुको उत्पादन शुरु भएको छ । गोरखा नगरपालिका ११ की रेखा तामाङले कलकारखाना, अस्पताल, शौचालय, विद्यालय, अफिस, घर जस्ता महत्वपुर्ण स्थानहरुको सरसफाईका लागि आवश्यक पर्ने सरसफाईका सामाग्रीहरुको उत्पादन शुरु गरेकी हुन् । ‘हामीलाई दैनिक सरसफाईको लागि चाहिने सामानहरु बाहिरबाट आईरहेका छन्, सोको माग पुरा गर्न मैले प्रयास सुरु गरेकी हुँ’ गोरखा समाचार सँग कुराकानी गर्दै तामाङले भनिन् ।

गोरखा नगरपालिका वडा नम्बर ११ को बाह्र किलो बजार नजिकै उद्योग दर्ता गरेर तामाङले झोल साबुन, फिनेल, ट्वाईलेट क्लिनर, हात धुने साबुन, ग्लास क्लिनर को उत्पादन सुरु गरेकी छिन् । ‘यो काम नयाँ पनि हो, सम्भावना पनि छ भन्ने लाग्यो, यहि बसेर राम्रो कमाई गर्न सकिन्छ भने किन काम सुरु नगर्ने भनेर यो उद्योग सञ्चालन गर्ने निर्णय गरेँ’ तामाङले भनिन् ।
गोरखा र आसपासमा सरसफाईका सामानको माग अधिक रहेको भन्दै सस्था नै दर्ता गरेर तामाङले उद्योग सुरु गरेकी हुन् । श्रीयन क्लिनर केमिकल हाउस नाम गरेको उद्योग दर्ता गरी १२ किलो बजार नजिकै रहेको आफ्नै घर बाट तामाङ सरसफाईका सामानहरु उत्पादन थालेकी छिन् ।
उक्त सामान उत्पादन बारे आवश्यक ज्ञान हाँसिल गरेकी तामाङले केही दिन अघि बाट व्यवसाय थालेकी हुन् । ‘सुरुमा यसको उत्पादन बारे काठमाण्डांैका साथी सँग सिके, अहिले उहाँ पनि काठमाण्डौमा यही काम गर्नुहुन्छ । म यहाँ गर्छु’ उनले भनिन् । ३ लाख लगानीमा सुरु भएको उनको उद्योगबाट दैनिक १५ हजार भन्दा बढिको समान उत्पादन हुन्छ ।

काठमाण्डौमा साथीको उद्योगमा कच्चा पदार्थ तयारी गरी गोरखा ल्याएर सामान उत्पादन गरिरहेकी तामाङले अहिले ४ वटा उत्पादन बजारमा सार्वजनिक गरेको बताईन् । ‘अहिले हामीले ४ वटा उत्पादन बाहिर ल्याएका छौ, केही दिन पछि दुई वटा उत्पादन पनि थप गर्ने तयारी गरिरहेका छौ’ उनले भनिन् । सबै उत्पादनका लागि आवश्यक प्लास्टिकका बोटल, जर्किन, अन्य सामाग्री राख्ने भाँडाहरु कम्पनी बाटै अर्डर गरी निर्माण गरेको तामाङले बताईन् । उक्त सामाग्रीमा टाँस्ने स्टिकर भने उनले काठमाण्डौमा छपाएर ल्याइएको हो ।
आफू सँगै २ जना अन्य महिलाहरुलाई समेत रोजगारी दिइरहेको उद्योगबाट भविष्यमा सरसफाईका लागि आवश्यक सबै सामाग्रीहरु उत्पादन गर्ने उनको योजना छ । व्यक्तिगत प्रयोजनका लागि अन्य कम्पनीले जस्तै मिनी प्याक बनाए पनि होटल, कल कारकाखाना, उद्योग तथा घरायसी प्रयोजनका लागि आवश्यकता अनुसार सामाग्री उपलब्ध गराउने सक्ने तामाङले बताईन ।
गोरखा जिल्लामा पहिलो पटक सुरु भएको यस उद्योगबाट उत्पादित सामाग्रीहरु जिल्ला सदरमुकाम, मनकामना बजार, पालुङटार नगरपालिका लगायत जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्ला तनहुँको खैरनी, डुम्रे, दमौली र चितवनको मुग्लीन लगायत स्थानमा बेच्ने उनको लक्ष्य छ ।



