नरेन्द्र ढकाल/गोरखा
साउन ३१ गते । जिल्ला सदरमुकाममा घर भाडामा लगाएकाहरुबाट नगरपालिकाले बाहलकर लिन सकेको छैन् । घरभाडा लगाएर लाखौ आम्दानी गरिरहेका घरधनीले नगरपालिकालाई अटेर गरी कर नबुझाउँदा लाखौको राजस्व गुमेको हो । ‘हामीले कडाई गर्न सकेका छैनौं, गोरखामा घरबाहाल कर तिर्ने परिपाटी बिकास भईसकेको रहेनछ’ गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्तले भने ।
सदरमुकामको मुख्य सडक छेउमा घर बनाएर भाडामा व्यवसाय गर्न दिएका घरधनीहरुले मासिक लाखौ आम्दानी गर्दा पनि नगरपालिकालाई कर तिर्न अटेरी गरेका हुन ।‘बाहाल कर तिर्नेको संख्या न्यून छ, अहिले हामीले त्यसको शुक्ष्म ढङ्गले अध्ययन गरिरहेका छौ’ पन्तले भने । नगरपालिकाले आन्तरिक रुपमा कर्मचारी र जनप्रतिनिधिहरुबाट घर बहाल कर बारेमा शुक्ष्म अध्ययन गरिरहेको उनले बताए । नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मध्ये बाहलकर पनि एक भए पनि कडाईका साथ कर उठाउने नसक्दा नगरपालिकाको स्रोत पनि कम देखिन गएको छ ।
गोरखा बजारको खोलखोले देखि नयाँ बसपार्क सम्म सयौ घरधनीले व्यापारिक प्रयोजनका लागि घर भाडामा लगाएका छन् । हरटारी देखि हस्पताल मार्ग हुँदै बराह, ठुलो आँगन देखि पाटचौर हुँदै हस्पिटलचोक, धारापानी, रोटेपानी लगायतका मुख्य सडक क्षेत्रका घर अधिकाशं भाडामा लगाईएको छ । घरको तल्लो तल्लाको एउटा सटरको मात्र भाडा मासिक १० हजार देखि २५ हजार सम्म पर्छ । त्यस्मा पनि सडक छेउका घरधनीले अन्य तलाहरु पनि सघ संस्था र सरकारी कार्यलयलाई भाडा लगाएका छन् । सो बाट पनि घरधनीले लाखौको घरभाडा उठाउँने गरेका छन । अझ भुकम्प पछि जिल्ला भित्रिएका एनजिओ आइएनजिओले घर पुरै भाडा लिएर लाखौको रकम घरधनीलाई बुझाउछन । तर घरधनीले अर्को एग्रिमेट बनाएर करछली गर्ने गरेको केही आरोप छ ।‘हामीले त एग्रीमेन्ट गर्दैमा बाहल कर बार स्पष्ट सम्झौता गरेका हुन्छौ’ सदरमुकामका घर भाडामा लिएर सस्था चलाउँदै आएका एक एनजिओकर्मीले भने ।
यता नगरपालिकाले भने भाडामा बस्ने र घरबेटी विच आन्तरिक सहमती गरेर कल छली गरेको भए कारवाहीको दायरामा ल्याउने बताएको छ । ‘घरबेटि सँगको मिलेमतोमा घरबाहल कर छलि गरेको गुनासो पनि आएको छ, छिटै अध्ययन गरेर तिनिहरुलाई कारवाही गर्ने तयारी गरेका छौ’ नगरप्रमुख पन्तले भने । अहिले नगरपालिकाले कहाँ कति भाडामा लगार्ईएको छ, चलन चल्तीमा घरभाडाको मुख्य कति छ, कतिको सम्झौता हुन्छ र कति करले कर तिर्ने गरेका छन भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए । सघं सस्थाले सञ्चालन गरेको कार्यलय राख्न लिइएको भाडाको घरबाट कर तिर्ने गरिएको भएपनि अधिकाशं व्यापारिक प्रयोजनका लागि सञ्चालनमा भाडामा लगाईएका घरहरु बाहल कर नतिर्ने गरेका छन् ।
‘हामी व्यवसाय कर पनि तिछौ,घर धनीलाई भाडा पनि बुझाउँछौ, उनीहरु घर भाडामा लगाएर लाखौ आम्दानी गरिरहेका हुन्छन् तर सरकारलाई बहाल कर भने तिर्दैनन्’ जिल्ला सदरमुकामको हरमटारीमा व्यवसाय सञ्चालन गरिएका एक व्यपारीले भने । उक्त कुरा थाहा पाए आफूलाई घर बाट निकालिदिने भएका परिचय नखुलाईदिन आग्रह गर्दै उनी भन्छन्‘हामी सानो आम्दानी भएकाहरुलाई राज्य करमा कडाई गरेपनि घर भाडामा लगाएकाहरुलाई करको दायरामा ल्याउन सकेको छैन ।’
बाहल उठाउन नसकेको स्वीकार गर्न नगरप्रमुख पन्तले अब अभियानको रुपमा कर उठाउने बताए । पहिले बाहल करको बारेमा नागरिकलाई बुझाउने अनि बिस्तारै करको दायरामा ल्याउने नगरपालिकाको योजना छ । ‘हामी पहिले उहाँहरुलाई बुझाउछौ, अनि कर लिन्छौ’ उनले भने ‘राज्य बाट सुबिधा लिने तर कर नबुझाउने त असल नागरिक भएन नी ?’ पन्तले प्रतिप्रश्न गरे । गोरखा नगरपालिका छिट्टै नगर क्षेत्रमा घर बाहलमा लगाउनेहरुबाट बाहल कर उठाउने दाबी गरेको छ । बाहलकर व्यक्ति कुल भाडाको १ प्रतिशत र सस्थाले २ प्रतिशत तिनुपर्ने कानूनी प्रावधान छ । भाडामा बस्नेहरुले दिएको भाडाबाट घरधनीले उक्त रकम नगरपालिकालाई बुझाउनु पर्ने हुन्छ ।



