कैलासबावु श्रेष्ठ/ गोरखा
जेष्ठ २८ गते । गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको मनास्लु बिकास बैंक र पोखरामा केन्द्रिय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक बिच बैधानिक एकता भएको छ । एकता संगै दुवै बैंकको संयुक्त कारोबार भने असार २ गते देखी हुने भएको छ ।
नेपाल राष्ट्र बैंक बाट ‘ख’ बर्गको कारोबार गर्ने गरी इजाजत पाएको दुवै बैंक बिच ०७३ साल चैत्र १ गते भएको बिशेष साधारण सभाले एक अर्कामा गाभिने निर्णय गरे पछि नेपाल राष्ट्र बैंकले ०७४ साल जेष्ठ १७ गते संयुक्त रुपमा कारोबार गर्न अन्तिम स्विकृती दिएको थियो ।

नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्टारको कार्यालयले ०७४ साल जेष्ठ २६ गते पत्राचार गर्दै मनास्लु बिकास बैंक लिमिटेडको अन्तिम दिन सम्म कायम रहेको सम्पूर्ण चल तथा अचल सम्पत्ती तथा दायित्व तथा सम्भावित दायित्वहरु गाभ्ने संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडले ब्यहोर्ने गरी दुवै बैंक गाभिएर ‘ओंम डेभलपमेन्ट बैंक लिमिटेड’ राष्ट्रिय स्तरको ‘ख’ बर्ग भएकोले सोही अनुसार आफ्ना शेयर धनी र ग्राहक संग कारोबार गर्न भनेको छ ।

बैंक गाभिए संगै बैंकको रजिष्टर्ड कार्यालय हाल ओम डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय रहेको कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका ४ को चिप्ले ढुङ्गामानै रहने भएको छ । त्यस्तै गरी शाखा र बैकिङ्ग कार्यालयहरु समेत अर्को निर्णय नहुदाँ सम्म पहिलेकै स्थानबाट कारोबार हुने बैंक प्रशासनले जानकारी दिएको छ ।
गाभिनु अघि मनास्लु बिकास बैंकले गोरखा, तनहुँ र चितवन गरी ३ जिल्लामा १० शाखा स्थापना गरी कारोबार गर्दै आएको थियो । भने पहिले ने राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकले भने देश भरी ३२ शाखा स्थापना गरी कारोबार गर्दै आएको थियो । दुवै बैंक गाभिए पछि अब देश भरीको ४२ शाखाबाट बैंकले कारोबार गर्ने छ ।




