लक्ष्मण दर्नाल
काठमाडौँ, जेठ १८ गते । नेपाल आयल निगमले नमुना पेट्रोल पम्प निर्माण गरी बिक्री वितरणका लागि आवेदन खुला गरे पनि व्यवसायी भने इच्छुक देखिएका छैनन् ।
निजी र सरकारी गरी हालसम्म जम्मा ७३ वटा पम्पले आवेदन दिए पनि छ जनाले मात्र नमुना पेट्रोलपम्प बनाउन तयार भएको निगमका प्रवक्ता सीताराम पोख्रेलले जानकारी दिनुभयो ।
निगमका अनुसार निजी क्षेत्रबाट पूर्वाञ्चलमा १३ वटा, मध्यमाञ्चलमा २६, पश्चिमाञ्चलमा १७ र मध्यपश्चिम र सुदूरपश्चिममा एक/एक गरी जम्मा ५६ वटा नयाँ पम्प सञ्चालनका लागि आवेदन परेका छन् । सरकारीतर्फ साल्ट टेडिङ लिमिटेडले चारवटा, साझा पेट्रोल पम्पले चारवटा, नेसनल टेडिङ लिमिटेडले सातवटा र नेपाली सेनाले दुईवटा गरी जम्मा १७ नयाँ पम्पका लागि दर्ता भएका छन् ।
निगमले सम्पुर्ण सुविधासहितका पेट्रोल पम्प निर्माण गर्ने योजना ल्याएको हो जसमा पर्याप्त पार्किङसहित आराम गर्ने र रेस्टुराँको समेत सुविधा हुने छ ।
निगमका प्रवक्ता पोख्रेलले यात्रु, सवारीसाधन तथा व्यवसायी सबैको सुरक्षा र आरामका लागि नमूना पेट्रोल पम्प निर्माणको आवेदन खुलाएको बताउनुभयो । उहाँका अनुसार व्यवसायीले निवेदन दिएपछि निगमले जग्गा हेरेर निर्माण लागि स्वीकृति दिनेछ ।
निर्माण अवधि एक वर्षको तोकिएको छ । नयाँ पम्प सञ्चालन गर्न चाहने व्यवसायीले सोही मापदण्डअनुसार नमुना पम्प निर्माण गर्नुपर्ने निगमले जनाएको छ तर व्यवसायीले भने ठूलो लगानी आवश्यक पर्ने भन्दै आनाकानी गरिरहेका छन् ।
धादिङको त्रिशूलधारी आयल स्टोरका सञ्चालक नरेन्द्रराज सेढार्इंले निगमले तोकेको मापदण्ड अव्यवहारिक भएकाले कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँ भन्नुभयो, अहिलेको बजार भाउअनुसार एक बिघा जमिन भनेको एक करोड रुपियाँ हो, जमिन मात्रै भएर भएन निर्माण खर्च उत्तिकै छ पेट्रोल पम्पका नाममा त्यहाँ त बजारै बनाउनुपर्ने छ, पर्खाल कम्पाउन्ड, पार्किङ, ट्वाइलेट, रेस्टुराँ, पेट्रोल भण्डारण सबै बनाउनुपर्ने अनि कसरी सम्भव छ ?
सेढाईंका अनुसार विगतमा निर्माण भएका साधारण पेट्रोल पम्प ५० देखि ६० लाख रुपियाँमा निर्माण भएका हुन् तर अब भने पाँच/छ करोड रुपियाँ लाग्ने अवस्था छ । उहाँले थप्नुभयो, कमाइले ब्याज नै धान्दैन, जति लगानी गरे पनि हामीले तीन प्रतिशत कमाउने हो त्यो भनेको ब्याज तिर्न पनि पुग्दैन, कि त सरकारले सहुलियत दिनुपरयो ब्याज कम गर्नुपरयो, लागत बढ्यो खर्चले धान्दैन ।
नमुना पेट्रोल पम्पको आवश्यकता रहेको चर्चा गर्दै प्रवक्ता पोख्रेलले भन्नुभयो, नमुना पम्पको आवश्यकता छ, व्यवसायीले खोल्नुहुन्छ भन्ने विश्वास छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियनका अध्यक्ष लिलेन्द्र प्रधानले नमुना पेट्रोल पम्पको अवधारण बिनाअध्ययन हचुवाको भरमा ल्याएइएको बताउनुभयो । उहाँले भन्नुभयो, लागतअनुसारको प्रतिफल आउँदैन, अहिले त बिजनेस भोल्युम कम छ भने त्यत्रो लगानी गरेपछि के हुन्छ ? कुन ठाउँमा कति पम्प जरुरी छ भन्ने कुराको समेत अध्ययन गरिएको छैन, नमुना पम्प चल्छ की चल्दैन भन्ने कुराको कुनै आधार छैन, मलाई त नमुना मापदण्डअनुसार बनाउँछन् भन्ने लाग्दैन ।
आवेदनका लागि असार मसान्तसम्म अन्तिम म्याद तोकिएको छ । निगमका अनुसार नमुना पेट्रोल पम्पका लागि तराई र भित्रिमधेसमा एक बिघा जमिन हुनुपर्ने छ भने पहाडी तथा हिमाली क्षेत्रमा पाँच रोपनी जग्गा हुनुपर्ने छ । जग्गाको सडक तर्फको मोहडा ४० मिटर र चौडाई ५० मिटर हुनुपर्ने छ । नमूना पेट्रोल पम्मका लागि हाल चलिरहेका साधारण पम्मबाट एकतर्फी रूपमा पाँच सय मिटर दूरी कायम गर्नुपर्ने छ भने नमुना पम्पको बिक्रीस्थलबाट अर्को नमुना पम्पको बिक्रीस्थलको दूरी तीन किलोमिटर कायम गरिएको छ ।
त्यस्तै, भौतिक संरचनाको पनि मापदण्ड तोकिएको छ । बिक्रीस्थलको ड्राइभ वे, पम्पयार्ड, सार्वजनिक सडक सीमादेखि पम्पयार्ड एप्रोच रोडको वा कङ्क्रिट ढलान (आरसीसी) वा ढुङ्गा छापी सिमेन्ट जोडाई भएको वा सिमेन्टबाट बनेको इन्टरलकिङ टायलबाट बनेको हुनुपर्ने छ । निगमले बिक्रीस्थलको तीनतर्फ कम्तीमा तीन फिट र पाँच फिटसम्म उचाई भएको कम्पाउन्ड हुनुपर्ने मापदण्ड तोकेको छ ।
कम्पाउन्डभित्र एप्रोच रोड, टैङ्क फार्म, बिक्री कक्ष, पार्किङ एरिया बाहेकका सवारीसाधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्ने मापदण्ड तोकिएको छ । बिक्रीस्थलमा पुरुषको हकमा दुईवटा शौचालय सहितको छवटा युरिनरी, महिलाको हकमा न्युनतम चारवटा शौचालय र एकवटा अपाङ्गमैत्री शौचालय निर्माण गर्नु पर्नेछ, पिउने पानीको व्यवस्था गर्नु पर्नेछ ।
नमूना पेट्रोल पम्पमा न्युनतम १० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस र कफी सप आदिको पनि सुविधा हुनु पर्नेछ । न्युनतम २० वटा गाडी पार्किङ गर्न मिल्ने पाँचसय वर्ग मिटरको पार्किङ एरिया भएको हुनु पर्नेछ । त्यस्तै, गाडी धुन मिल्ने टायरमा हावा भर्ने व्यवस्था, सामान्य मर्मत गर्न सकिने मर्मत केन्द्र पनि हुनु पर्ने मापदण्ड छ । स्वचालित बिलिङ, एटीएम काउन्टरको व्यवस्था बिक्रीस्थल क्षेत्रमा कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्मको कम्पाउन्ड हुनुपर्ने छ ।
gorkhapatraonline



