मुख्यसचिव भन्छन्- यो आचरण विपरीतको काम हो, कारबाही हुन्छ
२२ पुस, काठमाडौ । राज्यकोषबाट तलबभत्ता खाने राष्ट्रसेवक कर्मचारीहरु नै कार्यालयमा बसेर नागरिकलाई सेवा नदिई पार्टीको जुलुस र शक्ति प्रदर्शनमा सहभागी भएका छन् । कर्मचारीहरु पार्टीको झण्डा बोकेर सडकमा निस्किएपछि राजधानीका सरकारी कार्यालयका सेवाग्राहीहरु प्रभावित भएका छन् ।
निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेल जुलुसको नेतृत्व गर्दै अग्रभागमा देखिएका छन् भने उनीहरुका पछिपछि सरकारी कर्मचारीहरु पार्टीका कार्यकर्ताजस्तै गरी लामवद्ध भएका छन् ।नेकपा एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, शिक्षकलगायतका राष्ट्रसेवक कर्मचारीहरु कार्यालयको कामै छाडेर सहभागी भएका हुन् । उनीहरु एमालेको झण्डा बोकेर पेशागत महासंघ अन्र्तगतको ”नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटी” को ब्यानरमा जुलुसमा देखिएका छन् ।
मुख्यसचिव भन्छन्- सामान्य मन्त्रालयमा कुरा गर्छु, कारवाही हुन्छ
मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवक कर्मचारीहरु दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भएकोमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
कर्मचारीहरु निजामति सेवा ऐनलाई आत्मसाथ गर्छु भनेर सेवामा आएका हुन्, त्यस्तो आचरण विपरीत काम गर्ने कर्मचारीलाई कारवाही हुन्छ । उनीहरुलाई आचरण विपरीत काम गरेवापत कारवाही गरिने मुख्यसचिवले बताएका छन् । उनले भने, मैलेको सहभागी भए देखेको छैन, यदि सहभागी भएको प्रमाणित भयो भने कारवाही हुन्छ । उनले यस विषयमा सामान्य प्रशासन मन्त्रालयसँग कुरा गर्ने समेत बताएका छन् ।
के छ निजामति सेवा ऐनमा ?
निजामति सेवा ऐनको आचरणसम्बन्धी महलमा कर्मचारीहरु राजनीतिक दलको सदस्य हुन पाइँदैन । यस्तै उनीहरुले दलका झण्डामा कुनै क्रियाकलाप गर्न पाउने छैनन् । त्यस्तो गतिविधिमा संलग्न भएमा उनीहरुलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने र भविश्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने सम्मको व्यवस्था रहेको छ ।
onlinekhabar


