किरण लोहनी/उज्यालो ।
गोरखा, पुस १५ – गोरखा नगरपालीका-११ का अमृत अर्याल घर नजिकैको सेन्ट जोसेफ स्कुलमा तीन कक्षामा पढ्दै थिए । अनुशासन र पढाइमा निकै अब्बल अमृतले एकाएक विद्यालय छाडे । अमृतले पढाइ छाड्नकै लागि विद्यालय छाडेका भने होइनन् । उनले सदरमुकाममा रहेको गोरक्षनाथ वैदिक गुरुकुल विद्यालयमा भर्ना हुन बोर्डिङको पढाइ छाडेका हुन् । अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय छाडेर सँस्कृत भाषा र सनातन वैदिक धर्मबारे पढाइ हुने गुरुकुलमा भर्ना भएका अमृतका आफन्तजन सुरुमा त आश्चर्यमा परे । तर यसरी अचम्ममा परेका आफन्तजनलाई अमृतका बुवाले पूर्वीय दर्शनमा आधारित शिक्षा किन जरुरी छ भनेर सम्झाईबुझाई गर्नुभयो ।
‘मलाई पनि बुवाले सँस्कृत शिक्षाबारे धेरै कुरा बताउनुभयो’ १३ वर्षका अमृत भन्छन्, ‘म खुसीसाथ यहाँ आएको हुँ ।’
अमृत जस्तै उहाँका अरु तीनजना साथी पनि बोर्डिङ स्कुलको पढाइ छाडेर गुरुकुलमा भर्ना भएका छन् । तिनै मध्येका अर्का बाजुरा बाँधु गाविस वडा नम्वर–६ का ९ वर्षका लक्ष्मीराज तिमिल्सिना पनि स्थानीय बोर्डिङ स्कुलमा दुई कक्षामा पढ्दापढ्दै गुरुकुलमा भर्ना हुनु आउनुभयो । घरभन्दा निकै टाढाको गुरुकुलमा बसेर सँस्कृत भाषा र सनातन वैदिक धर्मका बारेमा शिक्षा लिन पाउँदा लक्ष्मीराज पनि खुसी हुनुहुन्छ ।
लक्ष्मीराज र अमृतका अरु दुईजना साथीहरु पनि बोर्डिङ छाडेर गुरुकुलमा भर्ना हुनुभएको छ । उनीहरुसँगै गोरखासहित चितवन, बाजुरा, मुगु र कालिकोटका १७ जनाले अहिले गुरुकुलमा नियमित अध्ययन गरिरहेका छन् । बिहान बेलुका गुरुकुलमा सँस्कृत भाषासहित गणित, विज्ञान र अंग्रेजीको शिक्षा लिने उनीहरुले त्यहाँ ५ कक्षासम्मको प्रारम्भिक शिक्षा पाउँछन् । ६ कक्षाबाट भने नजिकैको सामुदायिक विद्यालयमा भर्ना हुने ब्यवस्था गरिएको गुरुकुल ब्यवस्थापन समितिका सचिव बोधप्रसाद अधिकारीले बताउनुभयो ।
‘जागिरकै लागि अरु भाषा पढ्नुपर्छ भन्ने सोच गलत हो’ उहाँ भन्नुहुन्छ, ‘यहाँबाट शिक्षा लिएपछि कर्मकाण्डलगायतका अन्य काम गरेर मानप्रतिष्ठासँगै आर्थिक उपार्जन गर्न सकिन्छ ।’
२०७० सालबाट औपचारिक कक्षा सञ्चालन गरेको गुरुकुलमा भर्ना हुन चाहनेको संख्या बढ्दै गएको छ । पोखरा, नवलपरासीलगायत जिल्लाबाट भर्नाका लागि चासो दिनेहरुको संख्या बढ्दै गएको गुरुकुलका अध्यक्ष मोहनलाल श्रेष्ठले बताउनुभयो ।
तर पर्याप्त भौतिक पूर्वाधारको अभाव र शिक्षक दरवन्दी कम हुँदा भर्ना लिन नसकिएको उहाँले बताउनुभयो । तेस्रो वर्षमा प्रवेश गरेको गुरुकुलको आफ्नो नाममा केहीपनि भौतिक पूर्वाधार छैन । स्थानीय गोरखनाथ सेवा आश्रमको भवनमा विद्यालय सञ्चालन गरिएको छ भने अक्षयकोष, चन्दा र मुठिदानबाट विद्यालय सञ्चालन भैरहेको छ ।
गुरुकुल शिक्षाको महत्व बुझेकाले चासोपूर्वक सहयोग गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘सँस्कृत भाषा र वैदिक सनातन धर्मबारे नयाँ पुस्ताले शिक्षा नलिने हो भने हाम्रो धर्म सँस्कृति मासिने अवस्था आउन के बेर ?’ श्रेष्ठ भन्नुहुन्छ, ‘यसरी सुझबुझ राखेरै अभिभावकले आफ्ना बच्चालाई भर्ना गराउनुभएको छ ।’
आर्थिक स्रोत अभावका कारण अभिभावकको अपेक्षाअनुसारको शिक्षा प्रदान गर्न नसकिएकोमा गुरुकुलका सञ्चालकहरु चिन्तित छन् । गुरुकुल सञ्चालनका लागि मासिक कम्तिमा ८० हजार रुपैयाँ खर्च हुने गरेको छ ।
‘बटुकहरुलाई नियमित भोजन र शिक्षकको तलबभत्ता स्वेच्छिक चन्दादानमा निर्भर छ’ सचिव अधिकारी भन्नुहुन्छ, ‘जिल्ला शिक्षा कार्यालयले एकमुष्ट १ लाख ८८ हजार रुपैयाँ अनुदान दिन्छ, जुन पर्याप्त छैन ।’ अनुदान रकम बढाउनुका अतिरिक्त जिल्ला शिक्षा कार्यालयले कम्तिमा एकजना प्रावि शिक्षकको दरवन्दीको ब्यवस्था गरिदिने हो भने अरु इच्छुकलाई पनि भर्ना लिन सकिने गुरुकुल विद्यालय सञ्चालकहरुको विश्वास छ ।
ujyaaloonline


