गोरखाको केरौंजामा निर्माण भएको प्रयोगविहीन सामूहिक आवास ।
शिव उप्रेती
गोरखा: भूकम्प र पहिरोले उठिबास लागेको चार सय घरधुरी रहेको केरौंजा गाउँ । गाउँको पुछार, वडा नं. २ मा ठूलो पहिरो । पहिरोको करिब २० मिटर जति नजिक फलामको खाँबा, हरियो जस्ताको बार, हरियो जस्ताकै छानोले बनेको एउटा लामो भवन । आठकोठे भवनसँगै चारकोठे शौचालय । शौचालय भित्र फोहोर ।
यही हो नेपाली सेनाले गत जेठमा केरौंजामा बनाएको सामूहिक आवासको अहिलेको अवस्था ।
आपतकालीन अवस्थामा घरबास गुमाएकाहरूलाई संरक्षण दिन सरकारले भूकम्प प्रभावित जिल्लाका विभिन्न ठाउँमा सामूहिक आवास बनाएको थियो । सोही अवधारणाअनुसार बनाइएको केरौंजाको आवासमा अहिले न मान्छे बस्छन्, न कुनै अरू कामका लागि उपयोग भएको छ ।
‘अब जाडो सुरु भयो, विद्यार्थी त्रिपालभित्र छन् । उनीहरूलाई यहीँ राखौं भनेको थिएँ तर मिल्दैन भने’, केरौंजा माविका प्रधानाध्यापक सुन्दर खनालले भने, ‘अहिले त्यो भवन कुनै प्रयोगमा छैन । बनाएदेखि नै प्रयोगविहीन भएको छ ।’ सेनाले बनाएर छोडेपछि उपयोगविहीन मात्र नभएर संरक्षणसमेत नभएको उनले बताए ।
नेपाली सेनाको गोरखामा रहेको रणसिँह दल गणले गत जेठको २० गतेदेखि २५ लाख २० हजार रुपैयाँ खर्च र श्रमदान गरेर यहाँ सामूहिक आवास बनाएको थियो । उक्त भवन असारको दोस्रो साता तात्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको रोहवरमा गाविस सचिवलाई हस्तान्तरण गरिएको थियो । अकस्मात प्राकृतिक प्रकोप आइपरेमा आठजनाको परिवारसम्म बस्न मिल्ने गरी यो सामूहिक आवास बनाइएको थियो । आवासमा सौर्यबत्ती, शौचालय, बाथरुमसमेत निर्माण गरिएको थियो ।
‘भवन त राम्रै बनेका थियो’, गाविसका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ भन्छन्, ‘तर स्याहार सम्भार छैन । पाइप छ, पानी छैन । पानी नभएर शौचालय फोहोर भएको हो ।’ एउटा कोठामा गाविसको कार्यालयको सामान राखिएको छ । सचिव गाउँमा नबस्दा उक्त कोठा पनि प्रयोग भएको छैन । अर्को कोठामा अतिरिक्त हुलाक कार्यालयको सामान थन्क्याइएको गुरुङले बताए । अरू केही कोठामा खच्चडले भारी बोक्दा प्रयोग हुने बोरा, भारी बाँध्ने डोरी, नाम्लो, किला राखिएका छन् । केही कोठा रित्तै छन् ।
केरांैजालगायत त्यतिबेला अरू चार गाविसमा पनि सामूहिक आवास बनाइएको थियो । सेनाले स्वाँरा गाविस ६ माझथर, थुमी ५ आर्खेत, मुच्चोक ८ मल्ले र खरीबोट २ केप्रुङमा पनि सामूहिक आवास बनाएको थियो । १२ घर परिवार बस्न मिल्ने गरी ३६ लाख ३५ हजार रुपैयाँका दरले सामूहिक आवास निर्माण गरिएको सेनाले जनाएको छ ।
आपतकालीन सेवाका लागि निर्माण गरिएका सबै ठाउँका आवास प्रयोगविहीन भएको स्थानीय बताउँछन् । स्थानीय युवाराज देवकोटाका अनुसार मुच्चोकमा रहेको सामूहिक आवास पनि त्यतिकै दुरुपयोग भइरहेको छ । ‘प्रयोग भएको छैन’, उनले भने, ‘एक दुई कोठामा गुरुङ समाजको भोजभतेरमा प्रयोग गर्ने भाँडाबर्तन राखेका छन् । अरू कोठा खाली छ । स्याहार नहुँदा जताततै दिसापिसाब, फोहोरमैला छ ।’ आर्खेतमा निर्माण भएको सामूहिक आवासमा पनि गाविस सचिवले गाविसका केही कागजपत्र राखेका छन् । एउटा कोठा गाविसमा गएका प्राविधिकले आफ्ना सरसामान राखेको स्थानीय ईश्वरी लामिछाने बताउँछन् ।
दोस्रो चरणमा घ्याच्चोक, बारपाक, लाप्राक, सौरपानी र गुम्दा गाविसमा पनि सामूहिक आवास निर्माण गर्ने योजना थियो तर दोस्रो चरणका आवास निर्माण भएका छैनन् ।
सामूहिक आवास सँधै प्रयोग भइरहने राज्यको अवधारणा नरहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । स्याहार सम्भारको जिम्मा स्थानीय निकायलाई दिएकाले किन स्याहार नभएको भन्ने बारे सम्बन्धित निकायमा बुझ्ने उनले बताए ।
annapurnapost


