कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादीको संयुक्त प्यानल, एक्लो प्यानलले एमाले पराजित
पुस ६, २०७३- नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतबहादुर बराम निर्वाचित भएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार बरामले एमाले निकट सूर्यबहादुर भूजेललाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेस निकट बरामले ३१ र भूजेलले २३ मत पाए ।
भूजेल नगेन्द्रबहादुर कुमाल नेतृत्वको अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए भने बराम कोषाध्यक्ष थिए ।
महासचिवमा पनि संयुक्त प्यानलकै नित्यानन्द ताजपुरिया विजयी भए । उनले ३७ मत पाउँदा प्रतिद्वन्द्वी टासी ह्योल्मोले १५ मत पाए ।
महासंघमा बलियो रहेको एमालेलाई पाखा लगाउन चितवनमा भएको नवौं महाधिवेशनमा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी एक भएका थिए ।
उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल थकाली, गोविन्द छन्त्याल, नवीन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनम लामा, कृष्णकुमारी शेरचन निर्वाचित भए ।
सचिवमा आङपाङ शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे, सुखवीर थामी, लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुखमती राजवंशी, सोनम लामा मुगाली, श्रुतिमाया कुमाल तथा कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी निर्वाचित भए ।
ekantipur




















