विकास मरहट्ठा
मङ्सिर २७, गोरखा । गड्यौला मल उत्पादन तर्फ गोरखाका किसानहरु आकर्षित हुन थालेका छन् । गड्यौला मलको प्रयोगले उत्पादनमा बृद्धि भएको भन्दै मल उत्पादन र प्रयोगमा किसानहरु जुटेका हुन् ।‘अन्य मल प्रयोग गर्दा कीरा लाग्ने अनि औषधि ल्याएर हाल्नुपर्ने हुन्थ्यो’ गोरखा आरुचनौटे–५ मङ्गलटारका किसान बलराम लामिछाने भन्छन् ‘तर यो मल प्रयोग गरेपछि किरा लागेको थाहा पाएको छैन ।’ अन्य मलको तुलनामा गड्यौला मलको प्रयोगले उत्पादनमा समेत बृद्धि भएको लामिछाने बताउँछन् । खेर गईरहेको पातपतिङ्गर प्रयोग गरिने भएकाले खर्च पनि नलाग्ने र उत्पादन पनि राम्रो हुने उनी बताउँछन् ।
त्यस्तै २०६४ सालदेखि व्यवसायिक खेती गर्दै आएका आरुचनौटे–५ का बाबुराम अधिकारीले पनि गड्यौला मल उत्पादन गर्न शुरु गरेका छन् । उत्पादनमा बृद्धि हुने थाहा पाएपछि मल उत्पादन शुरु गरेको उनले बताए । ‘गड्यौला मल राम्रो हुन्छ भनेर धेरै सुने, अनि कस्तो हुँदो रहेछ भनेर उत्पादन गर्न थालेको हो,’ अधिकारीले भने । कृषि पेशाबाट जिविकोपार्जन गर्दै आएका उनले सिजन अनुसार बिभिन्न फलफूल र तरकारी खेती गर्दै आएका छन् ।
अहिले गोरखाको आरुचनौटे, आरुआर्वाङ, थुमि, मकैसिङ र भुम्लिचोकका किसानहरुले गड्यौला मल उत्पादन र प्रयोग गर्न थालेका छन् । सहास नेपालको स्थानीय प्रयासमा जिविकोपार्जन सुधार परियोजना अन्तरगत प्राविधिक तालिम लिएसँगै किसानहरुले मल उत्पादन गर्न थालेका हुन् । त्यस्तै मल उत्पादनका लागि सहास नेपालले किसानहरुलाई प्लाष्टिक, ब्लक, सिमेण्ट र प्रति किसान आधा किलो गड्यौला सहयोग गरेको सहास नेपाल गोरखाका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताए । खेर गएको पातपतिङ्गरको प्रयोगले मल बनाइन्छ । मल उत्पादन गर्न धेरै मेहनत गर्नुनपर्ने भएकाले त्यस तर्फ आकर्षण बढेको किसानहरु बताउछन् । रासायनिक मलले माटोको उर्वरा शक्ति कम हुने तर गड्यौला मलले भने माटोको उर्वरा शक्ति बढाउने दाबी गरिएको छ ।
के हो त गड्यौला मल ?
खेर गएको पातपतिङ्गर जम्मा गरेर त्यसमा गड्यौला राखेर बनाइने मल भएकाले यसलाइ गड्यौला मल भनिएको हो । चिलाउने, काभ्रो, साल लगायतका रूखका पातहरुलाई एक ठाउँमा जम्मा गरेर त्यसमा गड्यौला राखिन्छ । उक्त पातपतिङ्गर गड्यौलाले खाएर धुलो बनाउँछ जुन मलको रूपमा तयार हुन्छ । विशेष गरी नरम खालका पातहरु राख्नु उपयुक्त हुने प्राविधिकहरुको भनाइ छ । पातपतिङगर राखेका ६ महीनापछि मल तयार हुन्छ । त्यसबाट गड्यौला उत्पादन पनि बढ्ने र बिक्री गर्न मिल्ने बताइएको छ । गड्यौला प्रति केजी १२ सयदेखि १५ सय रूपैयाँमा बिक्री हुने गरेको किसानहरु बताउँछन् । त्यस्तै किसानले उत्पादन गरेको गड्यौला मल प्रति केजी २० देखि ३० रूपैयाँमा बिक्री हुँदै आएको उनीहरुले बताएका छन् ।
abhiyan



