‘हिजो गाँजा तान्दै डाँडाकाँडा हिँडियो, आज बच्चा भेट्न कोठा दौडिन्छु’
आमाको बारेमा बेलाबेला कविता लेखिरहने कवि विमला तुम्खेवा गत भदौ १६ गते आफू आमा बनिन् । उनले पाटन अस्पतालमा छोरी जन्माइन् । छोरीको नाम ‘योन्छन’ राखेकी छिन्, लामा भाषामा त्यसको अर्थ ‘सुखकी महारानी’ । आफू लिम्बू भए पनि लामासँग बिहे गरेकी हुन् उनले ।
भनिन्छ, कवि स्वभावैले अराजक र विद्रोही हुन्छ । विमला पनि अविवाहित छँदा संसार देखि÷भोगिसकियो भन्दै वैरागी भएर यत्रतत्र भौंतारिइन् । पशुपतिको जोगीदेखि हरिद्वारको साधुसम्मको संगत गर्दा सबैमा ढोंगी चरित्र पाइन् । अन्ततः फर्केर यही समाज र व्यवस्थाको लिकमा आइन् ।
कुनै समय जोगी भएर जिउने भन्दै बरालिने जिन्दगीलाई विवाह–संस्थामा बाँधिन के ले प्रेरित गर्यो ? यसका साथै बच्चा जन्माएपछि एउटा कवि हृदय भएको आमाले कस्तो अनुभूति गरिरहेकी छिन् ? पढौं उनकै शब्दमाः
कविहरु समाज, व्यवस्था र परम्परा नमान्ने अलिक अराजक र विद्रोही स्वभावका हुन्छन् । बच्चा जन्मिएपछि त्यो अराजकपन मत्थर हुँदो रै’छ ।
हिजो म फुक्काफाल थिएँ । डाँडा–डाँडा घुम्ने, जोगीहरुसँग संगत गर्दै हिँड्ने, डाँडामा गएर मजाले ट्वाँट खाएर बस्ने । गाँजा पनि तानियो । लाइफ त बिन्दास नै थियो नि !
अब त ती दिन गए ।
बच्चा भएपछि कविको बिन्दासनमा ब्रेक लाग्दो रै’छ । कुनै बेला डाँडा–डाँडा घुमिहिँड्ने विमला तुम्खेवा अहिले घर–संसारमा साँघुरिएर छोरीको स्याहारमा जुट्छे ।
घरबाट बाहिर कतै काममा निस्किँदा मन फुरफुर भइरहन्छ, फेरि पहिलाको जस्तै डाँडातिर उक्लिऊँ जस्तो लाग्छ । होइन, कतिखेर घर गएर बच्चाको अनुहार हेरुँ जस्तो पनि हुन्छ । दुइटै कुराले तान्छ मलाई ।
जीवनमा थुप्रै कुरा देखियो, कुनै बेला सब कुरा छोडेर जोगी बन्छु भनेर हिँडेकी थिएँ म । जीवनको एक चरणको भोगाइ मैले सकेकै हो । सबै कुरा देखियो, भोगियो अनि वैरागी भइयो । त्यसले गर्दा भौतिक सुख–सुविधाबारे कुनै भ्रम थिएन ।
ध्यान गर्छु भन्दै जंगल–जंगल हिँडेँ । समाधिस्थल चहारेँ । हरिद्वारसम्म पुगेँ । गंगाको किनारमा मध्यरात ध्यान गरेर बसेको छु ।
त्यो सबै केही हैन रै’छ भन्ने बोध भएपछि फर्केर आएँ । जोगी र साधुहरुमा पनि मैले कुण्ठा, रिक्तता र ठूलो बेचैनी देखेँ । बहुत कम मान्छे मात्रै सांसारिक माया, मोह सबथोक त्यागेर जोगी हुन्छन् जस्तो लाग्छ । ९८ प्रतिशत जोगीहरु आडम्बरी र ढोंगीहरु हुन् ।
शान्तिको खोजीमा भड्किएर कता–कता पुगे पनि शान्ति आफैंभित्र छ भन्ने बुझेँ । जीवनमा कतिपय कुरा यस्ता हुन्छन्, तिनको व्यवस्थापन गर्नुपर्ने हुन्छ । समाज केही होइन भनेर हिँड्यो भने मान्छेहरुले बहुला बनाइदिन्छन् ।
त्यसो त आफूसँग हिम्मत छ भने अराजक भएर हिँड्दा पनि जीवन चल्छ । कोही चाहिएन, म एक्लै हिँड्न सक्छु भन्ने आत्मविश्वास छ भने यस्ता मुलाङ समाज भाँडमै जान्छ नि ! तर, व्यावहारिक रुपमा मैले चाहिँ सकिनँ ।
जीवनमा कहीँ न कहीँ आफू थाकेँ, कसैको सहारा चाहिन्छ भन्ने फिल हुन्छ भने तपाईं विवाहको संस्थामा आउनैपर्ने रै’छ । त्यसले गर्दा नै यत्रो वर्षसम्म यो संस्था टिकेको रै’छ । म पनि बिहे गरेर सेटल भएँ, नानी जन्मियो ।
छोरी हुर्काउनु कविता लेख्नु जस्तो
एउटा छोरी मान्छे समयसँगै सम्बन्धको विभिन्न धागोमा बाँधिन्छे । बालिका र किशोरी अवस्थामा कसैकी छोरी, युवती हुँदै कसैकी श्रीमती र त्यसपछि आमा बन्छे । त्यस क्रममा थरिथरिको आत्मीयतामा ऊ जोडिन्छे, आमाको रुपमा बच्चासँगको अट्याचमेन्ट चाहिँ गजबको हुने रहेछ । खासमा यसलाई परिभाषित गर्नै सकिन्न ।
आमा हुनु संसारको सबैभन्दा सुन्दर पल हो र यो गाह्रो पनि हो । आमा र बच्चाको सम्बन्ध संसारको सबैभन्दा सुन्दर सम्बन्ध हो ।
मलाई आफू जन्मिएको दुई वर्षदेखिको केही कुरा अझै सम्झना छ । सानोमा म निद्राबाट ब्युँझेपछि बुवा वा आमा छेउमा भएनन् भने एकदम अत्तालिन्थेँ । कुन निर्जन ठाउँमा छु जस्तो लाग्थ्यो । त्यतिखेर मलाई जस्तो फिल हुन्थ्यो, मेरो छोरीलाई पनि त्यस्तै हुन्छ होला जस्तो लाग्छ ।

त्यही भएर बच्चा हुर्काउनु र कविता लेख्नु एक हिसाबमा उस्तै रै’छ, मसिना–मसिना कुरा ख्याल गर्नुपर्ने । बच्चाले आमालाई चाहिँ तुरुन्तै चिनिहाल्दो रै’छ । जन्मिएको २०–२५ दिनमै मलाई देखेर छोरी मुस्कुराएको महसुस भयो ।
आफ्नो बच्चा भएपछि मात्र आफूलाई आमा–बाबुले गरेको मायाको महत्व थाहा हुन्छ भन्छन् । त्यो एकदम सत्य हो । आमा–बाबुले कति माया गर्ने रहेछन्, कति संघर्षले हुर्काएका रहेछन् भनेर मलाई पनि महसुस भयो । नत्र त सुरुमा आफूले कति माया पाएँ भन्ने अन्दाज गर्न सकिँदैन र मतलब पनि लाग्दैन ।
बुवा–आमाको एकमात्र सन्तान हुँ म, त्यो पनि बिहेको १६ वर्षपछि जन्मिएकी । आमाले मेरो नेप्टे नाकमा हिमाल हाँसेको देख्नुहुन्थ्यो रे । निकै सुखले हुर्किएँ । कति भाकल गरिएपछि जन्मिएको रे म । अरुहरु सानोमा आफू एकदम ज्ञानी थिएँ भन्छन्, तर म त्यस्तो खालको बच्चा थिइनँ । निकै जिद्दी थिएँ ।
अहिले आफ्नो बच्चा भएपछि आफूप्रति आमा–बाबाको माया र भावनालाई जस्ताको तस्तै बुझ्न सकिने रै’छ । उहाँहरुले आफूलाई कुन भावनाले सम्झाउनुभएको थियो, गाली गर्नुभएको थियो, त्यसलाई आफ्नो सन्तानसँग जोडेर हेरिने रहेछ ।
डाक्टरलाई सोधेँ, पेटमा छोरा छ कि छोरी ?
हाम्रो समाजमा एउटा बालिकालाई हेर्ने दृष्टिकोण फरक छ । पुरुषहरू आफ्नो विरासतबारे सोच्दै छोरा नै जन्मियोस् भन्ने चाहान्छन् । छोरीप्रति उपेक्षा र हेलाको भावना छ ।
मैले अस्पतालमा चेकअपमा जाँदा डाक्टरलाई दुई–तीन पटक सोधेँ, मेरो छोरा छ कि छोरी ? तर, उसले केही बताएन । म भित्री मनदेखि छोरी नै होस् भन्ने चाहन्थेँ ।
भर्खरको बच्चा जब अलिअलि आँखा देख्न थालेपछि मुस्कुराउन थाल्छ, त्यो निकै निश्छल र मायालु खालको हुन्छ । छोरीको निश्छल मुस्कान देख्दा मान्छेहरुले कसरी आफ्नो बच्चा मार्न सकेको होला जस्तो लाग्यो । भु्रणहत्या र बच्चा मारेको केस आइरहेको हुन्छ समाचारहरुमा । त्यस्तो सम्झिएर म एकदम निसास्सिन्थेँ ।
मैले मेरो आमाको बारेमा ‘हजार सपना र मनमाया’ कविता लेखेकी छु । ‘आमा’ शीर्षकमै पनि लेखेकी छु । समाजको पितृसत्तात्मक संरचनाले छोरा–छोरीमा गर्ने विभेद, सामाजिक, आर्थिक, राजनीतिक सबै कुराले महिलालाई हेर्ने दृष्टिकोण जस्तो छ, मेरो आफ्नो घरमा त कहिल्यै अनुभूति गरिनँ । तर, जब घरबाट निस्किएर समाजमा आएँ, महिला भएकै कारणले कति धेरै संघर्ष गर्नुपर्दो रै’छ भन्ने लाग्यो । त्यही कुरा ‘आमा’ कवितामा लेखेँ ।
छोरीको बारेमा पनि कविता लेख्दै छु । नयाँ आउन लागेको कवितासंग्रहमा राख्नेछु ।

छोरीप्रति कर्तव्य निर्वाह गर्ने, वृद्धाश्रम पनि बनाउने
एउटी आम महिला आमा हुनु र एउटा कवि आमा हुनुमा उसले गर्ने अनुभूति खासै फरक हुन्छ जस्तो लाग्दैन । जोसुकै भए पनि आमाले बच्चालाई गर्ने माया एउटै हुन्छ ।
तर पनि कविले अलि फरक कोणबाट पक्कै हेर्छ । सपनाहरु पनि के–के देखिने, मेरी छोरी ठूली भएपछि यस्तो होस् भनेर कल्पना गरिने । परीकथा जस्तै कुरा आउने । म चाहिँ ऊ निडर मान्छे होस् भन्ने चाहन्छु । कुल्ली काम गरोस् तर इमान्दार होस् भन्ने सपना छ ।
पछि छोरीले मेरो लागि केही गर्ली भन्ने केही आश छैन । आफ्नो कत्र्तव्य हो, उसलाई राम्रोसँग पढाइदिने र यस्तो बाटो सही हो भनेर बताइदिने । बाँकी जिन्दगी उसको हो । आफूलाई पाल्छे भन्ने आश छैन । मैले त देखिसकेको छु, बुढेसकालमा सोझै वृद्धाश्रम जाने हो । बरु राम्रो र व्यवस्थित खालको वृद्धाश्रम मिलेर खोल्नुपर्छ होला । मलाई भ्रम छैन ।
संसारैभरिका आमाको छोराछोरीप्रतिको माया उस्तै हुन्छ । तर, एउटी आम महिला आमा हुँदा उसले सन्तानलाई बुढेसकालको सहारा भनेर बुझ्छे । हामीमा चाहिँ त्यो भ्रम हुँदैन । कविहरुले एक प्रकारले संसार बुझिसकेका हुन्छन् । कवि र अकवि आमाहरुमा सोच्ने र बुझ्ने तरिका त्यहीँनेर अन्तर हुन्छ ।
प्रस्तुतिः जोतारे धाइबा
onlinekhabar



