नेपाली महिलाको पौरखः महंगो म्यानहृयाटनमा नेपाली रेस्टुरेन्ट
८ मंसिर, न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरको क्विन्सभित्रको ज्याक्सन हाइटमा कुनै पनि नेपालीले रेस्टुरेन्ट चलाउन सक्छ ? यो प्रश्न हो- कमला गौचन उर्फ ‘कमला दिदी’ को । उनी अहिले एउटा ठूलो चुनौतीलाई आत्मसात गर्दैछिन् । त्यो हो – म्यानहृयाटनमा नेपाली रेस्टुरेन्ट खोलेर चलाउने ।
सन् २०१२ मा कमलाले ज्याक्सन हाइट्समै धौलागिरी किचेन नाम गरेको रेस्टुरेन्ट खोलेकी थिइन् । करिब ४ वर्षको व्यापारपछि उनले सोचिन् कि अब नेपाली मात्रै भएको ठाउँमा होइन, अझै अगाडि बढ्नुपर्छ ।
यसका लागि उनी न्युयोर्क शहरको म्यानहृयाटनतिर लागिन् । यो एकदमै गाहृ्रो निर्णय थियो उनका लागि ।
म्यानहृयाटन निकै नै महंगो स्थान हो र यहाँ मेरा नियमित ग्राहकलाई ल्याउने चुनौती मेरो सामु छ, कमला भन्छिन्- ‘तर म चुनौती मन पराउने मान्छे हुँ,’ उनले हाँस्दै भनिन् ।
गत मार्च ४ तारिखका दिन कमलाले म्यानहृयाटनको लेक्जिन्टन एभिन्युमा रेस्टुरेन्ट चलाउन एउटा घरको दुई तल्ला भाडामा लिइन् । ती कोठाहरुलाई रेस्टुरेन्ट मैत्री बनाउन उनलाई दुई महिना लाग्यो ।
‘म अहिले यस ठाउँका लागि घरभाडा र इन्सुरेन्स गरेर मासिक १० लाख बुझाइरहेकी छु, ज्याक्सन हाइट्समा हुँदा म मासिक ६ लाख तिर्थंे,’ उनले भनिन्- म रेस्टुरेन्टलाई चाहिने सामाग्री क्विन्समै किन्छु किनभने त्यहाँ अलि सस्तो छ ।
म्याहृयाटनमा रेस्टुरेन्ट खोल्ने सोच कमलालाई न्युयोर्कमा ट्याक्सी चलाउने नेपालीहरुबाट मिलेको हो । ‘अहिले धेरै नेपालीहरु उबर – ट्याक्सीकै एउटा प्रकार जुन एपको प्रयोगबाट चल्छ) चलाउँछन् र उनीहरुले मलाई म्यानहृयाटनमा नेपाली खाना खान मन लागेको बताउँथे, उनले भनिन्, ‘धेरै नेपालीहरुसँग सल्लाह लिएपछि मैले म्याहृयाटनमा यो व्यवसाय चलाउने निर्णय गरेकी हुँ ।’
म्यानहृयाटनमा पनि यसैगरी कमलाको रेस्टुरेन्ट चल्छ भन्ने उनको विश्वास थियो ।
कमलाको रेस्टुरेन्टका नियमित ग्राहक ३९ वर्षीय बुद्ध पौडेल भन्छन्- ‘यो रेस्टुरेन्टको खाना घरको खानाजतिकै मीठो हुन्छ ।’उबर चलाउने पौडेल त्यहाँ नियमित मःम खान आउँछन् ।
पौडेलले थपे- ‘म कमला दिदीको रेस्टुरेन्ट ज्याक्सन हाइट्समा हुुँदाखेरि नै खुब जान्थें । अहिले त झन् म्यानहृयाटनमै खुल्यो, म निकै खुशी छु । यहाँ खानेकुरा त्यति महंगो पनि छैन ।’
कमलाको ज्याक्सन हाइट्समा पहिले रहेको रेस्टुरेन्ट निकै नै साँघुरो थियो । एक भारतीय रेस्टुरेन्ट, तावा फुड कर्पसँग मिलेर चलाएको उनको रेस्टुरेन्टमा मुस्किलले १० जना ग्राहक अट्थे ।
‘प्रायः मेरा ग्राहकहरु खाना प्याक गरेर घर लान्थे,’ उनले भनिन्, ‘पार्टीहरुमा मेरो खानाको अर्डर खुब आउँथ्यो, अहिले पनि आउँछ । यसले मेरो व्यवसाय बढ्न मद्दत गरिरहेको छ ।”
न्युयोर्क टाइम्समा कमला दिदी !
माउथ पब्लिसिटीले कमलाको रेस्टुरेन्टको चर्चा न्युयोर्कभरि फैलियो । तर, एक दिन संसारकै प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्सले, सन् २०१४ मा उनको रेस्टुरेन्टको समीक्षा लेख्यो, जसले उनको रेस्टुरेन्टको ख्याती फैलियो । अझ अन्य मिडियाहरुले पनि लेखेपछि कमलाको व्यवसाय थप फस्टायो ।
सुजेन हृयांगेन, न्यु जर्सी राज्यमा अवस्थित रामापो कलेजकी प्रोफेसर हुन् । उनी द न्युयोर्क टाइम्स पढेपछि नै कमलाको रेस्टरेन्ट गएकी हुन् । हामी पुग्दा उनी त्यहाँ सुकुटी अर्डर गर्दै थिइन् ।
‘मेरोे विचारमा न्युयोर्क शहरका उत्कृष्ट खानाहरु यस्तै लोकल ठाउँमा पाइन्छन्” सुजेनले भनिन्, ‘म धौलागिरी किचेनमा ५-६ पटक गइसकें ।”
न्युयोर्कमा बस्ने नेपाली र यहाँको खानाका बारेमा कलम चलाइरहने ४७ वषर्ीया सुजेनलाई यहाँको सेल रोटी निकै मनपर्छ । ‘यहाँको अचार, मःम र दालभात तरकारीको स्वाद निकै नै मीठो छ ।’
कमला उनको इमान्दारिताले नै उनलाई यो स्थानमा पुर्याएको ठान्छिन् । उनले भनिन्- ‘मेरा ग्राहकलाई म सधैं ताजा खाना दिन्छु । यदि मैले कुनै बेला लोभ गरेर बासी खाना दिन थालें भने म उहिल्यै यो व्यवसायबाट हराइसकेकी हुन्थें ।’
क्विन्सकै रिजउड निवासी ३० वषर्ीय सञ्जीव खड्का आफैं पनि एक भारतीय रेस्टुरेन्टमा सेफका रुपमा काम गर्छन् । उनी त्यहाँकमला दिदीकहाँ आफ्ना साथी भाइसँग खाजा खाँदै थिए । ‘मलाई दिदीको खाना निकै मन पर्छ,’ उनले भने- म खुशी छु कि मैले नेपाली खाना म्यानहृयाटनमा चाख्न पाइरहेको छु ।’
गौचन म्यानहृयाटनमा रमाइरहेकी छिन् । उनी २४ घण्टामा २ घण्टा मात्रै सुत्छिन् । बिहान उठेर ९ बजे काममा पुग्नु र भोलिपल्ट बिहानको ५ बजेसम्म काम गर्नु, सुन्दा अचम्म लाग्छ । तर, यो कमला दिदीको वास्तविकता हो ।
होम अर्डर धेरै आएरै उनको व्यवसाय फस्टाइरहेको छ । भित्तामा आएका अर्डरहरुको लामो लिस्ट देखाउँदै उनले भनिन् – ‘मलाई यो व्यवसाय फाइदामा लग्न यहाँ अझै कम्तिमा ६ महिना लाग्छ ।’
कमला दिदीको कथा
कमला अमेरिका सन् २००० मा बिजनेश भिसामा आएकी हुन् । नेपालकै एक मन्त्रीसँग उनी यहाँ आएकी हुन् । ती मन्त्रीको नाम नखुलाएकी कमलाले ती मन्त्रीलाई हृदयदेखि नै सम्मान गरिन् । अमेरिका आएको केही समयपछि उनले गि्रनकार्ड पाइन् ।
सात वर्षसम्म एक भारतीय परिवारको हाउस किपरको काम गरेकी उनले त्यतिञ्जेलसम्म आफ्ना श्रीमान र दुई छोराछोरीलाई पनि अमेरिका ल्याइन् । त्यसपछि उनले ज्याक्सन हाइट्समै रहेको लालीगुँरास रेस्टुरेन्टमा कुकको रुपमा काम गर्न थालिन् । ‘मेरा बुवाको पनि नेपालमा पहिला एउटा रेस्टुरेन्ट थियो, मैले खाना बनाउन त्यहीँसिकेकी हुँ,’ उनले भनिन् ।
कमलाका अनुसार कैलाली जिल्लामा धौलागिरी नाम गरेको रेस्टुरेन्ट उनका बुवाले चलाउँथे ।
अमेरिकामा १८ महिना लालीगुराँसमा काम गरेपश्चात उनले आफ्नै व्यवसाय शुरु गर्ने सोच राखिन् । र, सन् २०१२ डिसेम्बर १ का दिन ज्याक्सन हाइट्समै उनले भारतीय रेस्टुरेन्ट, तावा फुड कर्पसँग मिलेर ‘धौलागिरी किचेन’ शुरु गरिन् ।
उनका श्रीमानलाई भने न्युयोर्क खासै रुचेन । त्यही भएर उनी नेेपाल फर्किए । कमलाकी छोरी पनि अहिले बिहे गरेर नेपालै छिन् ।
“न्युयोर्कमा आफ्नै व्यवसाय चलाउन निकै नै गाहृ्रो थियो । तर, ममा आत्मविश्वास थियो,’ कमलाले परिवारलाई सम्झँदै भनिन् । त्यतिखेर कमलाका २७ वषर्ीय छोराले पनि उनको व्यवसायलाई मद्दत गरेका थिए । तर, अहिले यसमा छोराको खासै रुचि छैन । कमला भन्छिन्- ‘मेरो छोराले रेस्टुरेन्ट भन्दा उबर चलाउन रुचायो’
कमलाको लक्ष्य- गैर नेपाली
कमला अहिले आफ्नो व्यवसायलाई बढाउन निकै नै कस्सिएकी छिन् । यसका लागि नयाँ-नयाँ सोच पनि छ उनीसँग । उनले भर्खरै इन्टेरनेटमा समीक्षा गरिने वेभसाइट, ‘येल्प’,मा पनि आफ्नो व्यवसाय दर्ता गरिसकेकी छिन् । उक्त वेभसाइटमा उनको रेस्टुरेन्टले राम्रो समीक्षा पाएको छ ।
एलेन गोल्डबर्ग एक गैरसरकारी संस्था, इन्टिग्रेटी एडुकेशन नेटवर्ककी प्रोग्राम डिरेक्टर हुन् । भर्खरै नेपालबाटै फर्केकी ५९ वर्षीया गोल्डबर्ग आफ्नी बहिनीका साथ कमलाको रेष्टुरेन्टमा नेपाली खाना खाँदै थिइन् ।
‘मेरी बहिनीले अनलाइनमा नेपाली रेस्टुरेन्ट खोज्दा हामीले यो रेस्टुरेन्ट भेट्यौं,’ उनले भनिन्,’मैले यहाँ आज जे जे अर्डर गरें, त्यो सबै एकदमै मीठो लाग्यो ।”
कमला म्यानहृयाटनमा रहेको यस रेस्टुरेन्टमा गैरनेपालीलाई ल्याउने प्रयास गरिरहेकी छिन् । उनी भन्छिन्- ‘म चाहन्छु, गैरनेपालीहरुले पनि म्यानहृयाटनमा नेपाली स्वाद चाख्न पाउन् । र, म त्यो गराउन तत्पर छु । मलाई लाग्छ, यो लक्ष पूरा गराउने मेरो पहिलो नेपाली रेस्टुरेन्ट हुनेछ ।’
कमलाको रेस्टुरेन्ट म्यानहृयाटनमा खोलिएको पहिलो नेपाली रेस्टुरेन्ट हो भन्ने कुराको ठोस प्रमाण भने छ्रैन । किनभने यसअघि पनि म्यानहृयाटनमै ‘क्याफे हिमालय’ भन्ने रेस्टुरेन्ट सन् २००१ देखि चालु अवस्थामा छ । फरक यति हो, उक्त रेस्टुरेन्टमा तिब्बतियन र नेपाली खाना पाइन्छ र उक्त रेस्टुरेन्ट दार्जीलिङ निवासी कर्मा डोल्माले चलाइरहेकी छिन् । कमलाको रेस्टुरेन्टमा भने नेपाली खाना नै प्रमुख खान्की हो ।
गौचनले म्यानहृयाटनमा रेस्टुरेन्ट खोल्ने बेला आफ्ना प्रमुख सहयोगी, जो उनका दाहिने हात जस्तै थिए, उनले अहिले छाडेर गएको सुनाइन् । उनले भनिन्- “म उसलाई छोरो जतिकै माया गर्थें, जब उ मलाई छाडेर त्यही पुरानो ठाउँमा गयो, म निकै निराश भएँ।’
यति भनिरहँदा कमलाको गला अवरुद्ध भयो । आँखाबाट आँशु बग्यो । केहीबेर कुरा गर्न छोडेर उनले पानी मगाइन् । पानी पिएर एकछिन आफूलाई सम्हालेपछि भनिन् – ‘मलाई कोहीप्रति कुनै गुनासो छ्र्रैन, जबसम्म मेरा हातगोडा चल्छन्, म मेरो व्यवसायलाई अगाडि बढाइरहन्छु । हामी महिलाले गर्न नसक्ने केही छै्रन ।’
onlinekhabar





















