लोकमानलाई ‘असनको साँढे’ को संज्ञा
सुदीप कैनी, गाेरखा
कांग्रेसप्रति लक्षित गर्दै भट्टराईले भने, ‘बीपीको पार्टीले हिन्दू राज्यको कुरा उठाउन सुहाउँदैन ।’
कार्तिक ६, २०७३- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले लोकमान प्रकरणमा बाह्य शक्तिलाई अनावश्यक रुपमा तानेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।
शनिबार गोरखा नगरपालिकाको छेवेटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशभित्रका शक्तिले बाह्य शक्तिलाई तानेर अख्तियार प्रमुख कार्कीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् । उनले लोकमानलाई ‘असनको साँढे’को संज्ञा दिँदै उनीमाथि महाअभियोग लगाउनु स्वाभाविक भएको तर्क गरे ।
लोकमान सिंहलाई संसद्बाटै कारबाही गर्नुपर्नेमा जोड दिँदै भट्टराईले संसदबाट महाअभियोग लगाउन नसके दलहरुको निकम्मापन हुने दाबी गरे । लोकमान फालिसकेकपछि पनि यस्तै प्रवृत्ति दोहोरिन सक्ने भन्दै भट्टराईले देशमा लोकपाल आवश्यक रहेको औंल्याए । उनले भने, ‘त्यो लोकपाल स्वायत्त र अधिकार सम्पन्न हुनुपर्छ ।’
संवैधानिक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया संसदले गर्नुपर्नेमा भट्टराईको सुझाव छ । ‘लोकपालका लागि संवैधानिक निकायका प्रमुख संसद्बाट नियुक्ति हुनुपर्छ’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘नियुक्तिका लागि छनोट समिति बनाउन सकिन्छ, नियुक्त भइसकेपछि संसद्ले अनुमोदन गर्ने व्यवस्था गरिनुपर्छ ।’
संवैधानिक निकायका प्रमुखहरु संसदबाट नियुक्त हुने व्यवस्था भएपछि मात्र देश र जनताप्रति उनीहरु समर्पित हुने भट्टराईको भनाई छ । अहिले संवैधानिक आयोगहरुमा दलहरुका मान्छे नियुक्त हुने प्रचलनले लोकमान प्रवृत्ति जन्मने गरेको उनले बताए ।
फरक प्रसंगमा भट्टराईले पूराना शक्तिहरुबाट परिवर्तनका एजेण्डा उल्ट्याउने प्रयास भइरहेको बताए । उनले भनेका छन्, ‘अहिले धार्मिक कुरा उचाल्ने काम भएको छ । म पनि हिन्दू हुँ, तर नेपाल हिन्दू्राज्य हुन सक्दैन ।’ परिवर्तनको एजेण्डाबाट पछाडि फर्केमा संविधान उल्टिने भट्टराईको दाबी छ । उनले परिवर्तनका एजेण्डा संस्थागत गर्न संविधान कार्यान्वयनतिर लाग्नुपर्नेमा जोड दिए । कांग्रेसप्रति लक्षित गर्दै उनले भने, ‘बीपीको पार्टीले हिन्दू राज्यको कुरा उठाउन सुहाउँदैन ।’
तीन दिने भ्रमणका लागि भट्टराई शनिबार गोरखा पुगेका हुन् ।
ekantipur



