भाद्र ६, २०७३- २०५९ बैशाख ८ गते राती काठमाडौंमा ठुलो हावाहुरीसँग पानी पर्यो । रुखहरु ढलेर सबै बाटो बन्द जस्तै थियो । भोलीपल्ट बिहानै भाई मोटरसाइकल लिएर आयो । सासाना छोरी र श्रीमतिलाई छोडेर अमिलो मन बनाउदै अन्तराष्ट्रिय बिमानस्थलतिर लागियो । कतार बायुसेवाबाट अप्रिल २२, २००२ मा कबिर १२ बजेतिर कतार आइपुगेको हिजो जस्तै लागेको छ ।
त्यो समयमा नेपालीको संख्या एकलाख देखि सवा लाखसम्मको अनुमान गरिन्थ्यो । नेपालीहरुका ५/६ वटा रेष्टरेन्ट, एउटा पुस्तक पसल, तीन/चार निर्माण कम्पनी थिए । नेशनल (राजधानी दोहभित्रै नेपालीहरु जमघट हुने ठाउँ) तिर खोटाङ सेवा समाज, चितवन युवा समुह लेखिएका टिसर्ट लगाएका युवाहरु प्रशस्त देखिन्थ्यो । नेपाल सेवा समाज र सास्कृतिक केन्द्रको पनि चर्चा हुने गर्दथ्यो ।
त्यो समयमा धेरै नेपालीहरु लेबरमै काम गर्न आउथ्यो । इन्जिनियर, फोरम्यान, एकाउन्टेन्ट, फोरम्यान, सेल्सम्यान अति नै कम थिए । मेसन, कार्पेन्टर, स्टिल फिक्चरहरु अलि अलि थिए । नेपाली भिसा लेबरका मात्रै हुन्थ्यो । राम्रा तलब जे भएपनि भिसा लेबरकै हुन्थ्यो । आफुले सवारी साधान लिएर हिड्ने नेपालीको संख्या दर्जन पुर्याउन सकिन्थ्यो । समाजका अगुवा या टाठाबाँठा सबै जसो भिसा धन्दामा संलग्न हुन्थ्यो । करिव करिव हजार रियालसम्म भिसा किनेर काम गर्ने नेपालीहरु प्रशस्त भेटिन्थ्यो । म्यानपावरका कम्पनीका एजेन्टहरु पाउथे । यहाँ आएर काम नपाएका पनि प्रशस्त भेटिन्थ्यो ।
कसैको कम्पनी भेटिदैन्थ्यो । दुख पाएका, घर फर्किन नपाएकाहरु नेशनल वरिपरि धेरै पाइन्थ्यो । यस्तै कारणले यहाँ जिल्लास्तरीय समाजहरु खुलेका थिए । त्यो समयमा ४ वटा जिल्लास्तरिय, दुई वटा जातीय एउटा राष्ट्रिय स्तरको संस्था र अर्कोमा साँस्कृतिक संस्था अस्तित्वमा थिए । २००३ को अन्त्यतिर गैरआाबासीय नेपाली संघको प्रथम अधिबेशनमा प्रतिनिधि छान्ने क्रममा एक संस्था दुई प्रतिनिधि छान्ने भएपछि रातारात संघसंस्थाहरु बढे । त्यो बेला ३६/३७ सम्म पुगेका थिए । पछि उनीहरु निष्क्रिय भए । २००५ देखि कतारमा नेपालीको संख्या ह्वातै बढेर आयो । सेल्सम्यान, इन्जिनियरहरु पनि बढ्न थाले । महिलाहरु पनि देखिन थाले । अलि अलि पढे–लेखेका ब्यक्तिहरु बढ्न थाले । जसले गर्दा संघसंस्थाहरु प्रशस्त खुल्न थाले । जिल्लास्तरिय, जातीय, बैचारिक संस्थाहरु बढ्दै गए । हरेक हप्ता कार्यक्रमहरु हुने गर्थ्यो । शुक्रबार नेशनल र बिसमिल्ला चोक (अलर्फदन अगाडि) नेपालीहरु मात्रै भेटिन्थे । उक्त समयमै केही केही नेपालीले नेपालबाट कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम गर्दथे । कार्यक्रम घाटा भयो भनेर कलाकार पठाउन चन्दा उठाएको इतिहास पनि छ । समग्रमा भन्नुपर्दा त्यो बेलाको नेपाली समाज, शान्त, रचनात्मक र प्रगतिउन्मुख, सामाजिक सद्भाब सहितको एक अर्कालाई सहयोगी भावना भएको थियो । एक दुई अपवाद छाडेर सबै संघसंस्थाहरु एक आपसमा सद्भाव सहित भाईचाराको सम्बन्धमा रहेको पाइन्थ्यो । यो क्रम सन् २००९ को मध्यसम्ममा रह्यो ।
२००६ देखि नै कतारमा बिकासको क्रम अत्याधिक तिब्र गतिमा बढेको थियो । केही समयमा नेपालीको संस्था बढेर तीन लाखको हारहारीमा पुग्न थाल्यो । सबैको मेल इन्टरनेटमा पहुँच हुन थाल्यो । अनलाइन पत्रिका, फेसबुक, अहिले गर्दा सबै नेपाली समुदाय नेपालको राजनीतिक अबस्थामा अत्यन्त जानकारी राख्न थाले । नेपालमा भएका हरेक घटना, परिघटना राम्रो गरी अध्ययन गरी यहाँबाट नैतिक, आर्थिक सहयोग हुन थाल्यो । नेपालका सबै राजनीतिक दलका भातृ संगठनहरु बैचारिक संस्थामा खुल्न थाले । पत्रकार महासंघ, जनजाति महासंघ, अन्तराष्ट्रिय साहित्यिक समाज, जनजाति अन्तर्गर्तका बिभिन्न जातीय संस्थाहरु खुल्न थाले । जसले नेपाली समाज बिभिन्न संघसंस्थामा सामेल हुन थाले । आफ्नो संस्थाको बिस्तारमा लाग्न थाले । बैचारिक सँस्थाको उदयसगै नेपाली समाजमा बिकृति, बिसंगति देखिन थाले ।
सन् २००९ मा भएको गैरआवासीय नेपाली संघको अधिबेसनमा नेपाली समाज प्रत्यक्ष रुपले बिभाजित हुन थाल्यो । त्यो समयमा म्यानपावर सप्लाई गर्ने धेरै कम्पनी नेपालीले सञ्चालन गर्न थालेका थिए । इन्जिनियरको सँख्या सयौ भइसकेको थियो । सिनियर एकाउन्टेन्ट, एकाउन्टेन्ट प्रशस्त आइसकेका थिए । टाडाकाँडाहरुले कतै न कतैबाट म्यानपावर तथा लेबर सप्लाई गर्न कम्पनी खोलेर ब्यवसाय शुरु गर्न थालेका थिए । एक्कासी एउटा तप्कालाई त्यो ब्यवसायप्रति घृणा सुरु भयो । त्यस्ता ब्यवसायलाई दलाल, मानव तस्करजस्ता अपशब्दले सम्बोधित गर्न थाले । गरी खाने र ठगी खाने भनेर पहिचान बनाई एक खालको सामाजिक विग्रह सुरु हुँदै गयो । यसै समयदेखि (२००९ को अन्त ) यहाँको समाजमा राजनीतिक स्वार्थका कारण एक–अर्कालाई हिलो छ्याप्ने, समाजिक सद्भावलाई खल्बल्याउने प्रबृत्तिको विकास भयो । यो समयमा एकले अर्काको सामाजिक अस्तित्व समाप्त पार्ने दिशामा उन्मुख भयो । यसको चरम रुप २०१३ असरमा देखा पर्यो ।
नेपाल सरकारले बैदेशिक रोजगारमा आफ्नो एकाधिकार बाहेक अन्यलाई ब्यक्तिगत भिसामा जान रोक लगाएसँगै भिसाको धन्दामा लाग्ने ब्यक्तिहरु कम हुँदै जान थाल्यो । कतारमा पनि राजदुताबासमा नयाँ कर्मचारी आए । दुताबासमा सुधार हुन थाल्यो । समस्याहरु पनि कम हुन थाल्यो । हिजोको समयमा म्यानपावर (लेबर) सप्लाईको बिरोध गर्ने ब्यक्तिहरु नै यो पेशामा संलग्न हुन थालेपछि आज आएर गरी खाने र ठगी खानेको कृत्रिम विभेद सामाजिक अगुवाहरुबाट प्रकट हुँदैन् । तरपनि यहाँको समाजमा हामी नेपाली हौं भन्ने भावनामा लोप भएको छ । हामी यो समुदाय, यो जात, यो धर्म र यो बिचार भनेर आआफ्नोलाई चोख्याउने प्रबृत्ति बढेर गएको छ ।
कतार तथा नेपालमा सबैतिर मनाउने चाडपर्बहरुलाई अलि जमेरै मनाउने गरिन्छ । इद, दशै, तिहार, नयाँ बर्ष अंग्रेजी, नेपाली, सबैमा नेपालीदेखि कतारका कलाकार ल्याएर कार्यक्रम गर्न संघसंस्था नै अगाडि सर्न थालेका छन् ।
राम्रो कार्यक्रमका लागि आपसमा होडबाजी समेत हुने गर्छ । कार्यक्रम जुध्ने समेत गर्छ । यहाँ हुने समाजमा कसै कसैलाई सम्मान, भातृत्व, आदरभाब गर्ने परम्पराको अन्त्य जस्तै भएको छ । नेपालीहरु एउटै प्लेटफर्ममा बस्न नसकिने अबस्थामा छन् । सोसल मिडियाको अत्यन्त दुरुपयोग हुने गरेको छ । सामाजिक सञ्जालमा आरोप लगाउने, अस्तित्व समाप्त गर्ने, आफुलाई मात्रै राजनेता ठान्ने, आफ्नो बिचार मात्रै सर्वस्वीकार्य हो भन्नेहरुबाट सामाजिक सद्भाब खल्बलिएको अबस्था छ । यसको लागि एनआरएन (साझा सँस्था)को पहलमा सबै बैचारिक संस्थाहरु एक ठाँउमा बसेर आपसी सहकार्य गरेर अगाडि नबढ्ने हो भने र यो देशको कानुनलाई राम्रोसँग सम्मान नगर्ने हो भने आजसम्म नेपालीले पाएको इजजत, प्रतिष्ठा तथा रोजगारी समेत गुम्न सक्ने अबस्था छ । यसमा सबैको ध्यान जान आबश्यक छ ।
ekantipur




















