चीनले नेपालको राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भनेको भोलिपल्ट भारतले पनि त्यही खालको प्रतिक्रिया दिँदै नेपालको राजनीतिक घटनाक्रमबारे बोल्न अस्विकार गरेको छ । विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालको आन्तरिक मामिलामा कुनै पनि कमेन्ट नगर्ने बताए ।
ओली सरकार गएपछि भारत खुसी छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा स्वरुपले भारत सरकार खुसी र दुखी दुबै नभएको बताए । उनले कुनै पनि कुनै पनि देशमा आउने राजनीतिक नेतृत्वसँग काम गर्ने सरकारको जिम्मेवारी रहेको समेत बताए । ‘जहाँसम्म नेपालको पछिल्लो राजनीतिक विकास छ त्यसलाई हामीले नितान्त आन्तरिक मामिलामा रुपमा लिएका छौ त्यसलै यस विषयमा म कमेन्ट गर्दिनँ,’ उनले भने ।
यस अगाडि भारतीय मिडियाहरुले आफ्नो समाचार तथा सम्पादकीय मार्फत ओली सरकारको बहिर्गमनप्रति भारत सरकार खुसी भएको समाचार सम्प्रेषण गरेका थिए ।
तर भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले भने भारतीय सञ्चारमाध्यमले भने जस्तो खुसी हुनुपर्ने कारण नभएको बताउँछन् । उनीहरु नेपाली कांग्रेस र माओवादीबीचको सहकार्य कसरी अगाडि जान्छ भन्ने विषय स्पष्ट नभएकोले यसै भन्न नसकिने बताउँछन् । मधेसवादी दलहरुको माग सम्बोधन गर्न र चुनाव गर्नका लागि नेकपा एमालेको सहयोग र साथ अनिवार्य रहेकाले एमालेलाई बाइपास गर्ने पक्षमा आफूहरु नरहेको एक उच्च अधिकारीले कान्तिपुरलाई बताए ।
गृहमन्त्री स्तरी बैठकमा राजनाथ सहभागी हुने
यसैबीच पाकिस्तानमा अगष्टको पहिलो साता हुने सार्कको गृहमन्त्रीस्तरीय बैठकमा भारतका गृहमन्त्री राजनाथ सिंह सहभागी हुने भएको छन् । यस अगाडि भारत र पाकिस्तानबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा कारण भारतका गृहमन्त्री सहभागीताको विषय अन्योलमा थियो । सार्कको गृहमन्त्री स्तरीय बैठक आगामी अगष्ट ४ मा पाकिस्तानमा हुँदै छ । त्यस अगाडी सार्क राष्ट्रका गृहसचिवस्तरीय बैठक हुने छ ।
विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले गृहमन्त्री सार्कको बैठकमा सहभागी हुने बताए । यद्यपी गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानमा द्विपक्षीय वार्ता भने नगर्ने भएका छन् ।
‘हाम्रो गृहमन्त्री दुईपक्षीय कामका लागि होइन सार्कको बैठकमा सहभागी हुन जान लाग्नु भएको हो,’ उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीले जहिले पनि सार्कलाई निकै प्राथमिकता दिएका कारण यस अगाडिको बैठकहरुमा जस्तै पाकिस्तानमा हुने बैठकमा पनि सहभागी हुन लागेको उनले बताए । उनले सो बैठकमा आतंकवाद, लागु औषध ओसारप्रसार नियन्त्रण तथा सिमा सम्बन्धि अन्य विषयमा छलफल हुने बताए । यस अगाडि सार्कका गृहमन्त्रीहरुको बैठक सन् २०१४ मा नेपालमा भएको छ ।
बाढी र पहिरोमा सहयोग गर्न तयार
यसैबीच नेपालमा बाढी र पहिरोहका कारण मानिसहरुको मृत्यु भएकोप्रति भारतले दुख व्यक्त गरेको छ । उसले सिमाना भइरहेको बाढी र पहिरोका कारण आफूरुलाई पनि समस्या आईपरेको बताए । ‘नेपाल सरकारले आग्रह गरेमा वाढी पहिरोका सम्वन्धमा नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौं,’ उनले भने ।
ekantipur



