×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

देशभर बाढीपहिरो: ३७ को मृत्यु, २८ बेपत्ता

  •  
  • बुधबार, साउन १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोरङको बक्राहा खोलामा मंगलबार आएको बाढीले बगाएको घर । तराईमा शनिबारदेखिको लगातार वर्षाले जनजीवन अस्तव्यस्त छ ।तस्बिर: किशोर बुढाथोकी

    काठमाडौं: लगातारको वर्षापछि बाढीपहिरोका कारण देशभर ३७ जनाको ज्यान गएको छ भने थुप्रै बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन हुन सकेको छैन । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दर्जनौं बस्ती पहिरोको जोखिममा छन् । निरन्तर वर्षाका कारण खोलानाला बढेकाले तराई जलमग्न भएको छ ।

    लगातारको वर्षापछि बाढीपहिरोका कारण प्युठानमा मृत्यु भएका १४ जनाको शव फेला परेको छ । जिल्लाभर कम्तीमा २४ जना हराइरहेको जानकारी प्रहरीले दिएको छ । गुल्मीमा बाढीपहिरोका कारण आठजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

    शनिबारदेखि लगातार परेको पानीका कारण मंगलबारसम्म झापामा तीनजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । अर्घाखाँचीमा पहिरोले दुईजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । मकवानपुरको भीमफेदीमा पहिरोले घर पुरिँदा एकै परिवारका आमा, बुबा र छोराको मृत्यु भएको छ । पाल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित चारजनाको ज्यान गएको छ ।

    दाङ संवाददाता गजेन्द्र बोहोराका अनुसार प्युठानको उत्तरी लुङ गाविसको बाहाने बजारमा पाँचजना, पुँजा गाविसमा दुईजना, खवाङ गाविसमा दुईजना र झिमरुक नदीमा पाँचजनाको शव भेटिएको छ । ती सबै शवको पहिचान हुन सकेको छैन ।

    उत्तरी प्युठानको पुँजामा केही दिनअघि पहिरोमा पुरिएर एकै घरका तीनजनाको मृत्यु भएको थियो । लुङ गाविस ६ बाहानेमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर बेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा सोही घरमा डेरा गरी बस्ने २५ वर्षीया काली परियार, १५ वर्षीय किरण थापा र शिवबहादुर सुनारको मृत्यु भएको छ । पुनकी २८ वर्षीया छोरी पवित्रालाई सकुशल उद्धार गरिएको छ । बाहाने बजार उच्च जोखिममा छ । बजारदेखि केही माथिको गाउँ बगेर आएको स्थानीयले बताए ।

    प्रहरीका अनुसार पुँजा गाविस–१ मा ३५ वर्षीया सुपारी मल्ल र उनका १३ वर्षीय छोरा मुकेश मल्ल, खवाङ–२ मा ८० वर्षीय दबिले सुनार र उनकी पत्नी ८० वर्षीया कुतरी सुनार तथा नाति १६ वर्षीय दीपे सुनारको शव भेटिएको छ । त्यस्तै माझकोटकी काली पुन, फोप्ली गाविस ३ मा ११ जना तथा फोप्ली ४ मा चारजना बालबालिका बेपत्ता भएका छन् । फोप्ली गाविसका पूर्वअध्यक्ष देवीराम पुनले अहिलेसम्म उद्धारका लागि प्रहरी प्रशासन पुग्न नसकेको बताए । उनका अनुसार फोप्लीमा ४० भन्दा बढी घर उच्च जोखिममा छन् ।

    प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार ठाउँठाउँमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइएको छ । जिल्लाकै ठूलो नदी झिमरुकमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताए । झिमरुक जलविद्युत् परियोजनाका अनुसार सोमबार राति ११:३० बजे नदीमा नौ सय ५५ क्युसेक बाढी थियो । यही नदीले बगाएर ल्याएका चारजनाका शव प्रहरी टोलीले निकालेको थियो । झिमरुक विद्युत्ले बनाएको बाँधमा रहेका दुई शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यस्तै जुम्री खोलाबाट पनि एउटा शव निकालिएको छ ।

    झिमरुक नदी उर्लिंदा किनारमा रहेका प्युठानका प्रमुख बजार जोखिममा परेका छन् । बाहाने, बजार, ठूलोबेसी बजार, बाग्दुलाको पुल्चोक, जुम्रीबजार र त्यहाँ रहेको बसपार्कलगायतका क्षेत्र उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

    प्युठान नगरपालिका १३ सापडाँडामा पनि आधा दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले पहिरोमा फसेकालाई उद्धार गरेका थिए । स्याउलीवाङ गाविसमा दुई दर्जनभन्दा बढी घर पहिरोको जोखिममा छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारिएको छ । फोप्ली गाविसका ४५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । लिघा गाविसमा ३५ घर र रजावारामा ३० घर पहिरोको जोखिममा छन् ।

    झापा संवाददाता उमाकान्त खनालका अनुसार बाढीमा परी मृत्यु हुनेमा धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ का कालीबहादुर लिम्बू र गौरादह–५ का टेकेन्द्र खड्का छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार खजुरगाछी–३ का रेकुकुमार गनगाई र कुमरखोद–४ मा बसोबास गर्दै आएका भारतका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माईखोलाले बगाएर बेपत्ता बनाएको छ । वर्षाका कारण फेसका जिल्लाका दुई हजार दुई सय ८३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । झापामा ६ सय ६९ घर डुबानमा छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले झापामा एक हजार पाँच सयजना बाढीबाट विस्थापित भएको बताए ।

    झापाका रतुवा, कनकाई, बिरिङ तथा मेची नदीले हजारौं बिघा खेतीयोग्य जमिन कटान गरेको छ । राजमार्ग दक्षिणका अधिकांश घरमा पाँच फिटसम्म पानी जमेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । मंगलबार दिउँसो १२:३३ बजे खतराको चिह्न पार गरेको कनकाई नदीमा साँझ पानीको बहाव केही घटे पनि आसपासका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

    मेची नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले भद्रपुरदेखि पाठामारीसम्मका परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको डीएसपी हरिप्रसाद शर्माले बताए । मेची नदीमा आएको बाढीले भद्रपुर–५ स्थित हनुमन्दिर छेउको सुकुमबासी बस्तीका लगभग ८० घरपरिवार विस्थापित भएका छन् । मेची नदीकै बाढीले भद्रपुर–१ स्थित भैंसाबाडी टोल डुबानमा पर्दा एक सय २३ घरका ६ सय २२ जना विस्थापित भएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।

    अर्घाखाँची संवाददाता प्रेम आचार्यका अनुसार ठाडा–५ कोठिया मैदानमा प्रेमबहादुर घर्तीको घर पहिरोले बगाउँदा उनकी १७ वर्षीया छोरी शारदा घर्तीको मृत्युु भएको प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए । त्यस्तै सिद्धारा–६ दुम्सीमा गोठ पहिरोले बगाउँदा ४७ वर्षीया मानकुमारी आलेको मृत्यु भएको स्थानीय शिक्षक रुमबहादुर पल्लीले बताए । बागी खोलाले बगाउँदा सन्धिखर्क नगरपालिका–१३ बरापका पदमबहादुर विक बेपत्ता भएका छन् ।

    मकवानपुर संवाददाताका अनुसार भीमफेदीमा सोमबार राति पहिरोले घर पुरिँदा २५ वर्षीय टेकबहादुर रुम्बा, उनकी पत्नी २३ वर्षीया पावर्ती रुम्बा र पाँच वर्षका छोरा विकास रुम्बाको मृत्यु भएको डीएसपी वामदेव गौतमले बताए ।

    स्याङ्जा संवाददाताका अनुसार गुल्मी हस्तीचौर–१ माल्वीका भीमबहादुर दर्जीको घर भत्किँदा उनका ६२ वर्षीया कालिका दर्जी, ४९ वर्षीया पत्नी तुलसी दर्जी र १९ वर्षीया छोरी अस्मिता दर्जीको ज्यान गएको छ । घर भत्किएपछि सहयोग गर्न आएका उनका छिमेकी विष्णु सारु घाइते भएका छन् ।

    बिसु खड्ग गाविस–९ का गोपाल रानाको घर भत्किँदा उनका ८ वर्षीय छोरा सिजन राना र ६ वर्षीया छोरी सिमाना रानाको मृत्यु भएको छ । ह्वाङ्दी गाविस ३ का डिलबहादुर घर्तीको घर भत्किँदा सहयोग गर्न आएका उनका छिमेकी ४५ वर्षीय विष्णु घिमिरे र उनका १३ वर्षीय छोरा आशा घर्तीको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले बताए । उनका अनुसार भुवानी घर्ती र टीकाराम घर्ती घाइते भएका छन् ।

    यस्तै आँधीखोला किनारमा एकजनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक देवबहादुर बोगटीका अनुसार पुतलीबजार नगरपालिका–१२ राङखोलास्थित आँधीखोला किनारमा मंगलबार दिउँसो उक्त शव फेला परेको हो ।

    पाल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित चारजनाको ज्यान गएको छ । पहिरोले गोठाडी–५ हात्तीलुङको नजिकमा पर्ने डमारमा तामबहादुर कनौजे मगरको घर पुरिँदा मगरसहित उनकी पत्नी खगीसरा र १० वर्षीया छोरी यशोदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाकै झुम्सामा पहिरोमा परी तिलोत्तमा उच्चमाविको कक्षा ९ मा पढ्ने अस्मिता विकको ज्यान गएको छ । पहिरोले त्यहाँका सात घर पुरिएको प्रहरीले जनाएको छ ।

    बागलुङमा पहिराले घर भत्किँदा राजकुट–७ कुडुलाका सन्तबहादुर लोप्चनकी आठ वर्षीया छोरी तुजी तामाङ र पिटी लोप्चनको ज्यान गएको छ । पहिरोमा परी सुशीला तामाङ र शिशिर तामाङ घाइते भएका छन् । यस्तै दर्लिङ–३ मरेङका हर्कबहादुर मगरकी छोरी यमुना बुढामगरको पनि पहिरोमा परी ज्यान गएको छ । मगरका छोरा राजु र पत्नी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    राजधानीको कुलेश्वर वंशीघाटस्थित सुकुमबासी बस्तीमा पानी पसेर करिब दुई सय घरटहरा डुबानमा परेका छन् । प्रहरीले ५१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । बल्खु सुकुमबासी बस्तीमा पानी पस्दा सय घरटहरा डुबानमा परेका छन् । कीर्तिपुर सुन्दरीघाटस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी टोलमा समेत पानी पसेर डुबानमा परेको छ ।

    ललितपुरको सिंगटीगाउँ करिडोर क्षेत्रमा १६ घर टहरामा पानी पसेकाले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ललितपुर महालक्ष्मीस्थान नयाँबस्तीमा रहेको नवभवानी एकेडेमीभित्र १ फिट पानी जमेपछि विद्यार्थी पढ्नबाट वञ्चित भए । भक्तपुरको तेलकोटबाट नगरकोट जाने बाटोमा पहिरो जाँदा सडक एकतर्फी भएको छ ।

    ब्यासीस्थित औद्योगिक क्षेत्र भित्र पानी जमेको छ । हनुमन्ते खोलाको पानी पसेर प्रकाश पोख्रेलको ५० बोरा सिमेन्ट डुबेर क्षति भएको छ भने सोही स्थानमा रहेको कागज फ्याक्ट्रीको दुईवटा मेसिन र कागज बनाउने कच्चा पदार्थ डुबेर तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    यसैबीच गृह मन्त्रालयले भने मुलुकभर बाढीपहिरोबाट २८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले बाढीपहिरोबाट हालसम्म २४ जना बेपत्ता भएको र १० जना गम्भीर घाइते भएको जनाएको छ ।

    गृह प्रवक्ता यादवप्रसाद कोइरालाले प्राकृतिक विपत्तिबाट जोगाउन र घटना भइसकेपछि खोज र उद्धारकार्यमा अलर्ट रहन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए । उनका अनुसार मनसुन पूर्वतयारी कार्ययोजनाअनुरूप विशेषगरी प्रहरीलाई निगरानी बढाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

    कोइरालाले बाढीपहिरोबाट बासस्थान गुमाएकालाई बस्नका लागि सरकारी भवनमा प्रबन्ध मिलाइएको बताए । उपचारका लागि जिल्लामा रहेका एम्बुलेन्सलाई २४ सै घन्टा तयारी अवस्थामा राख्ने र अस्पतालमा समेत उपचारको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.