दृष्टिविहीनमैत्री छैनन् एटीएम
असार ३१, २०७३- अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका सुशील अधिकारी प्रविधि प्रयोगमा सरदर तन्नेरीभन्दा पछि छैनन् । स्मार्टफोन बोक्ने उनी मोबाइलबाटै इन्टरनेटको दुनियाँ चहार्छन् । कहिलेकाहीं केही ई–बजारबाट समान अर्डर पनि गर्छन् । ट्याब र कम्प्युटर उनका दैनिक आवश्यकताका वस्तु जस्तै भएका छन् । तर, बैंक खातामा रहेको आफ्नो पैसा निकाल्नुपर्यो भने उनले ल्याप्चे नै लगाउनुपर्छ ।
पैसा निकाल्नुपर्दा उनी चेक बोकेर बैंकमै पुग्छन् । र, बैंक कर्मचारीसामु चेकमा ल्याप्चे लगाउँछन् । बुढी औंलामा लागेको मसी कपालमा लगेर पुछ्छन् र पैसा बोकेर फर्किन्छन् ।
दृष्टिविहीन सुशील प्रतिनिधि पात्र मात्रै हुन् । पढेलेखेको, प्रविधिमा अभ्यस्त भएका र देश विदेश घुमेका अधिकांश दृष्टिविहीनलाई समेत सरकारी र निजी कुनै पनि बैंकले एटीएम सुविधा दिएका छैनन् । एटीएम कार्ड प्रयोग गर्न नसक्ने भएर उनीहरूलाई बैंकले त्यस्तो सुविधा नदिएको भने होइन । सुशील युरोप/अमेरिका गएका बेला एटीएम कार्डबाटै आर्थिक कारोबार गर्छन् । तर, नेपालमा भने एटीएम प्रयोग गर्न पाउँदैनन् ।
बैंक अफ काठमाडौंमा खाता खोलेका सुशीलले भने, ‘बिदाको दिन पैसा चाहियो भने आफ्नै खातामा हुँदाहँुदै पनि अरूसँग सापट माग्नुपर्छ ।’ लामो बिदाका बेला बैंक बन्द हँुदा झनै आपत् पर्छ । सबैभन्दा धेरै सकस त उनलाई चेकमा रकम लेख्दा र अरूले सुन्ने गरी भन्नुपर्दा आर्थिक गोपनीयता कायम हुन नसकेकोमा लाग्छ । सुशीलले भने, ‘आफ्नो पैसा निकाल्न सधैं अरूको सहयोग माग्नुपर्दा हीनताबोध हुन्छ ।’ दृष्टिविहीनहरू हस्ताक्षर गर्न सक्ने भए पनि हस्ताक्षरमा एकरूपता नहुने भन्दै बैंकहरू ल्याप्चेकै प्रयोग गर्न सुझाउँछन् ।
विदेशमा जस्तै काठमाडौंका एटीएम मेसिनहरू दृष्टिविहीन मैत्री छैनन् । तिनीहरूले कुनै संकेत वा आवाज दिँदैनन् । एटीएम मेसिनमा ब्रेल संकेत पनि छैन । तर पनि किबोर्डवाला मोबाइल चलाएर अभ्यस्त भएका नेपालका दृष्टिविहीनले एटीएम चलाउन सक्छन् । छिमेकी भारतमै पनि केही बैंकहरूले दृष्टिविहीनमैत्री एटीएम मेसिन सुरु गरिसकेका छन् । सुशीलले सुनाए, ‘नसक्ने कुरै छैन । तर बैंकले तपाईं सक्नुहुन्न भनेर दिँदैनन् ।’
नेपाल सरकारको महिला तथा बालबालिका विभागकी अधिकृत नीरा अधिकारीको पनि एटीएम छैन । उनी सँगैका कर्मचारीले एटीएमबाट तलब निकाल्दा उनलाई भने चेकमै भर पर्नुपर्छ । दृष्टिविहीन भएकै कारण आफूहरूलाई विभेद गरिएको उनको अनुभव छ ।
सिंहदरबारभित्र रहेको एभरेस्ट बैंकको शाखा कार्यालयमा उनले धेरैपटक एटीएम कार्ड बनाइदिन अनुरोध गरिन् । तर कर्मचारीले माथिदेखि प्रक्रिया मिलाउनुपर्छ भन्दै नमिल्ने बताए ।
दुई वर्षअघि कार्यालयकै कामको सिलसिलामा जापान गएका बेला नीराले त्यहाँ सबै कारोबार एटीएमबाटै गरिन् । उनी भन्छिन्, ‘कस्ता कस्ता अप्ठ्यारा त सुल्झाउछौं । एटीएम चलाउन नजान्ने भन्ने त कुरै छैन ।’ उनले भने सुशीलले जस्तो बैंकमै गएर ल्याप्चे लगाउनु चाहिँ पर्दैन । सधैं एउटै शाखाबाट रकम निकाल्ने भएकाले बैंकका कर्मचारीले उनको हस्ताक्षरयुक्त चेक पत्याउँछन् ।
एटीएम कार्ड नभएकै कारण बिदाका दिनमा नीरा चाहेर पनि पैसा निकाल्न सक्दिनन् । भन्छिन्, ‘झन् दृष्टिविहीन मान्छे पैसा बोकेर हिँडदा सधैं जोखिम हुन्छ ।’ एटीएम कार्डबाट किनमेल गर्दाका फाइदा बारे पनि उनलाई थाहा छ । ‘म मेरै रिस्कमा चलाउँछु भन्दा पनि बैंकले पत्याएन,’ उनी भन्छिन् । व्यक्तिगत पहुँच र चिनजानका आधारमा केही दृष्टिविहीनले एटीएम कार्डको सुविधा पाए पनि अधिकांश अहिले पनि ल्याप्चेकै भरमा छन् । राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष वीरेन्द्रराज पौडेल एटीएम कार्ड चलाउन पाउनेमा पर्छन् । उनले भने, ‘मैले पनि जोडबल गरेर मात्रै एटीएम पाएको हुँ ।’
सार्वजनिक सेवा प्रवाह गर्न बसेका संस्थाले फरक किसिमका शारीरिक अवस्था भएकाहरूलाई विभेद गर्न‘ कानुनी दृष्टिले पनि नमिल्ने उनी बताउँछन् । पोख्रेल अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले सन् २००९ मा हस्ताक्षर गरेकाले यस्ता व्यवहार उक्त महासन्धिविपरीत हुने बताउँछन् । उनले दुई महिनाअघि मात्रै राष्ट्रबैंकका डेपुटी गभर्नरलाई भेटेर यो विषयमा अवगत गराएका थिए । राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनी बैंकिङ सुविधामा सबै नागरिकको समान पहुँच हुने भएकाले दृष्टिविहीनलाई एटीएम कार्ड प्रयोग गर्न नदिनेबारे कुनै नीति नियम नभएको बताउँछन् । ‘नाफा कमाउने संस्थाले शुल्क तिर्ने सबैलाई बराबर सुविधा दिनुपर्छ । त्यस्तो गरिँदैन भने त्यो नियमविपरीत हो,’ उनले भने । दृष्टिविहीनलाई एटीएम प्रयोग गर्न नदिनु विभेद भएको उनी बताउँछन् ।
बैंकर एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल सुरक्षाका कारणले मात्रै एटीएम कार्ड नदिएको बताउँछन् ।
ekantipur



