जुनारबाबु बस्नेत
काठमाडौँ, जेठ १ गते । ‘मेरा बाँच्ने दिन रहेछन्, कसो कसो खुकुरी झिक्न सकेँ र त्यसैले प्रहार गरेपछि भालु भाग्यो तर त्यति बेलासम्म मेरो पिँडुलाको मासु लुछिसकेको थियो । अनुहार रक्ताम्य बनाइसकेको थियो र बाँच्ने आशा सकिएको थियो,’ चलचित्रको कथाजस्तो लाग्ने यो भनाइ नौधन राईको हो ।
सोलुखुम्बुको दुर्गम गाविस गुदेँल–९ का ५८ वर्षीय राईलाई जङ्गलमा घाँस काट्न जाँदा भालुले आक्रमण ग¥यो । घटना दुई साताअघिको हो । भालुसँग लडाइँ जितेर धन्न बाँचेका राईको चार घण्टा टाढा सोताङ स्वास्थ्य चौकीमा उपचार हुन नसकी अवस्था नाजुक भएको समाचार गोरखापत्रले वैशाख १९ गते सम्पे्रषण गरेपछि बाँच्ने बाटो खुल्यो । दाताको सहयोगमा हेलिकोप्टरबाट उहाँ राजधानी आइपुग्नुभयो ।
‘एक्कासि बुट्यानबाट आएर झम्टियो, नआत्तिने कुरै भएन तर तुरुन्तै सम्हालिंदै बँच्ने उपायतिर मन गयो, लडाइँ नै भयो । ’ उपचारका लागि राजधानी आइपुग्नु भएका राई भरसक त्यतिबेलाको कुरा सम्झन चाहनुहुन्न । भन्नुहुन्छ, ‘त्यति ठूलो भालु कहिल्यै देखेको पनि थिइनँ, कालको मुखबाट फर्केको त्यो कुरा के सम्झनु । ’
‘कम्मरमा खुकुरी भिरेको थिएँ । दापबाट खुकुरी निकाल्न नपाउँदै भालुले लछारपछार ग¥यो, खुकुरी निकाल्न सकेँ र त्यसपछि भालुको अनुहारमा हिर्काएँ, भालु भाग्यो तर डर भागेन,’ उहाँले थप्नुभयो, ‘जस्तै भए पनि बाँच्न मन हुँदोरहेछ । घिस्रिएर जङ्गलबाट निस्किएँ, गुहार मागेँ । मानिस आए । मेरो शरीरभरि रगत थियो । छिमेकीहरूले बोकेर सोताङ अस्पताल पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि फेरि बाँच्ने आशा हरायो । ’
गोरखापत्रको समाचारकै आधारमा दावाग्लाल्जेन शेर्पाले हेलिकोप्टरबाट उद्धार गर्नुभयो । ‘मैले मानवीय भावनाले उहाँलाई बचाउन हेलिकोप्टरबाट काठमाडौँ ल्याएँ । ’ सोलुखुम्बुकै लुक्लाका समाजसेवी शेर्पाले राजधानीको शिक्षण अस्पताल महाराजगञ्ज ल्याउँदा राईको घाउ पाक्न थालिसकेको थियो । ड्रेसिङ र प्रतिजैविक औषधि दिइयो ।
जनावरले टोकेको घाउका लागि टिचिङ अस्पतालले रेबिज समेतका लागि टेकु अस्पताल पठायो । शेर्पाका अनुसार टेकुले रेबिजका सुई लगाउँदै वीर अस्पतालामा पठायो र वीर अस्पतालले मासु लुछेको त्यस ठाउँमा शल्यक्रिया गर्नुपर्ने तर त्यसका लागि धेरै समय लाग्ने जानकारी दियो । बस्न समस्या भएपछि शेर्पाले बौद्धको एक गेस्टहाउसमा राखेर शिर मेमोरियल बनेपाका चिकित्सकसँग त्यहाँ उपचारका लागि परामर्श गरिरहँदा राई घर फर्कन हतार गरिरहनु भएको छ । चिकित्सकहरूका अनुसार शल्यक्रियाका लागि केही दिन लाग्छ तर घरमा श्रीमती सिकिस्तै बिरामी भएको खबर पाएपछि राईलाई तत्कालै घर पुग्न हतारो भएको छ । ‘मेरो कुलपूजा पनि गर्नु छ । दशा लाग्यो । म त यहाँ बस्दिनँ, घरै जान्छु । ’ घाइते राईको हतारो छ ।
गुदेँलकै स्थानीय समाजसेवी सूर्य कुलुङ भन्नुहुन्छ, ‘म सम्झाउँदै छु, दावा ग्याल्जेन शेर्पाले यति ठूलो सहयोग गर्नुभयो तर उहाँ पूरै उपचारै नसकी फर्कने कुरा गर्दा दुःख लागेको छ । ’
चिकित्सकलाई उद्धृत गर्दै शेर्पा भन्नुुहुन्छ, ‘घाउ गहिरो छ र त्यसले हड्डीमा पनि असर गरेकाले अन्यत्रको छाला ल्याई मिलाउनु पर्ने चिकित्सकको सल्लाह छ र त्यसका लागि जति लागे पनि मानवीय हिसाबले खर्च व्यहोर्न तयार छु भन्दा पनि उहाँ नमान्दा दुःख लागेको छ । ’ उपचारपछि हेलिकोप्टरबाट घरै पु¥याइदिने शेर्पा बचनवद्ध हुनुहुन्छ ।
gorkhapatraonline



