×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पच्चीस वर्षअघि नै बारपाकमा बिजुली बालेका वीरबहादुर

  •  
  • शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप श्रेष्ठ
    बारपाकको बिजुली–कथा

     

    डाक्टरहरूले उनको हात इन्जेक्सन लगाएर लाटो बनाइदिए। उनी टाउको देब्रेपट्टि कोल्टो पारेर लम्पसार पल्टिएका थिए। आँखा झिमिक्क नगरी टुलुटुलु देब्रे हातलाई नै हेर्दै थिए। मास्क लगाएका डाक्टरका पनि आँखा मात्र देखिँदै थियो। उनी एकछिन डाक्टरतिर हेर्थे, अर्कोछिन आफ्नै हात।
    हेर्दाहेर्दै उनको आँखैअगाडि देब्रे हात फत्रक्क भुइँमा झर्यो। टिल्पिलाएका आँखाबाट आँसुका धारा बर्रर ओछ्यानमा झरे। र, तुरुन्तै सुकिहाले।
    गोरखा, बारपाकका ३४ वर्षीय सुकराम गुरुङले वैशाख १२ को भुइँचालोमा परेर एउटा हात त गुमाए, तर आत्मविश्वास गुमाएनन्। एक वर्षपछि यही वैशाख पहिलो साता मैले भेट्दा सुकरामलाई हातको भन्दा बिजुलीबत्तीको चिन्ता थियो।
    बिजुलीबत्तीको !
    छ महिना भयो, सुकरामले बसपार्क छेवैमा होटल सुरु गरेका छन्। उनी एउटै हातले पिठो मुस्छन्। एउटै हातले ममः पोको पार्छन्। एउटै हातले बसाल्छन्। एउटै हातले चिया पनि पकाउँछन्। पकाउन त उनलाई धेरैथोक पकाउन आउँछ, तर उनको होटलको मेनु सीमित छ। यसको कारण एउटा हात नभएर होइन, भुइँचालोपछि गाउँमा बत्ती नभएर।
    ‘बिजुली भए त म बिहान चारै बजे उठेर ग्राहकलाई पुरी–तरकारी पकाएर खुवाउथेँ। बिहानै काठमाडौं जाने, गोरखा जाने बस छुट्छ। मान्छे थुप्रै आउँछन्। अँध्यारैमा उठेर पकाउन सक्या भे होटल नि राम्ररी चल्थ्यो,’ उनले भने।
    यति भनेर उनले वीरबहादुर घलेलाई सम्झे।
    उही वीरबहादुर घले, जसले आजभन्दा २५ वर्षअघि नै बारपाकलाई बिजुलीबत्तीले झलमल्ल पारेका थिए।
    ***
    बारपाकको बिजुली–कथा सुरु हुन्छ, २०४४ सालबाट।
    अहिले गाउँमा अरब नजाने मान्छे भेट्न मुश्किल भएजस्तै त्यतिबेला बारपाकमा भर्ती ननाप्ने कमै हुन्थे। वीरबहादुर पनि बेलायती सेनाका लागि दुईचोटि भर्ती नाप्न गए। दुवैचोटि फेल भए।
    कक्षा ७ देखि काठमाडौंमा पढेर क्षेत्रपाटीको जुद्धोदय पब्लिक हाईस्कुलबाट एसएलसी पास गरेका उनी भर्ती फेल भएको रनाहामा झिटिगुन्टाको ‘भरिया’ बनेर हङकङ पुगे। हङकङ यात्रापछि नै हो, उनलाई व्यापार गर्ने चस्का पसेको।
    ‘मैले चीनबाट आएका सामानको अर्डर लिएर पसल–पसल पुर्याउने ठेक्का लिएँ। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्ड निर्माणमा केही सहायक ठेक्का पनि पाएँ। त्यही बेला बेल्खु भन्ने ठाउँमा खाजा खान होटलभित्र छिर्दा जे देखेँ, त्यसले मेरो जिन्दगीको बाटो नै फेरियो,’ वीरबहादुर राजधानीको सामाखुसीस्थित आफ्नो कार्यालयमा मलाई बारपाकको बिजुली–कथा सुनाउँदै थिए, जुन उनको जीवन–कथा पनि हो।
    बेल्खुको त्यो होटलमा एउटा कोठालाई मात्र उज्यालो पुग्ने सानो चिम बलिरहेको थियो। त्यो चिम घरि चहकिलो हुन्थ्यो, घरि झ्याप–झ्याप निभ्नै खोज्थ्यो।
    ‘के भा’को यो बत्तीलाई?’ उनले होटल साहुजीलाई सोधे।
    ‘तल पानीघट्टबाट निकालेको बिजुली हो, घट्ट चलाउँदा यस्तै झ्याप–झ्याप गरिरहन्छ,’ साहुजीले भने।
    वीरबहादुरको मनमा खुल्दुली जाग्यो। उनी पानीघट्टतिर लागे, बिजुली कसरी निस्कँदो रहेछ भनी हेर्न। त्यहाँ पुगेपछि त झन् छक्क परे। एउटा सानो मेसिन थियो। त्यसैमा सानो फित्ता जोडिएको थियो। त्यही फित्ताले मेसिन घुमाउँदो रहेछ। र, घट्टको पानीबाट बिजुली निकाल्दो रहेछ।
    त्यो दृश्यले उनको दिमागमा पनि पिलिक्क बत्ती बल्यो।
    उनले सोचे, यति सानो मेसिनबाट दुई–तीन घरलाई पुग्ने बिजुली निस्कन्छ भने अलि ठूलै मेसिन राखे त गाँवै झलमल्ल होला नि!
    ‘मलाई त प्रेतले छोपेजस्तै भो। खाली बारपाकको अँध्यारो आँखाअगाडि नाचिरहन्थ्यो। बारपाकमा रातिराति सिठ्ठा बालेको सम्झिरहन्थेँ। गाउँमा त्यतिका खोलानाला छन्, कुनै न कुनैबाट कसो बिजुली निकाल्न नसकिएला! यही सोचेर म कयौं रात निदाउनै सकिनँ,’ वीरबहादुरले सम्झे।
    यो २०४४ सालको घटना हो। त्यतिबेला वीरबहादुर १९ वर्षका थिए।
    तन्नेरी मनमा जागेको अलिकति खुल्दुली, अलिकति प्रेरणा र अलिकति उत्साह बोकेर उनी काठमाडौं आए। त्यही बेला भृकुटीमण्डपमा वैकल्पिक ऊर्जासम्बन्धी प्रदर्शनी चलिरहेको थियो। उनी हेर्न गए। घाम, हावा, गोबर ग्यास, लघु–जलविद्युत लगायत वैकल्पिक ऊर्जाका विभिन्न मोडल प्रदर्शनीमा थिए। उनको ध्यान लघु–जलविद्युतले बढ्ता खिच्यो। उनले आफ्नो खुल्दुली मेट्न त्यसका उपकरणबारे चासो दिँदै सोधखोज गरे। उनले थाहा पाए, लघु–जलविद्युत सञ्चालन गर्न सरकारले ५० प्रतिशत अनुदान दिँदो रहेछ। कृषि विकास बैंकबाट कम व्याजमा ऋण पनि पाइँदो रहेछ।
    झन्डै सात लाख रुपैयाँमा आयोजना बन्ने र त्यसको आधा रकम सरकारबाट सित्तैमा पाइने सुनेपछि त वीरबहादुर थामिनै सकेनन्। हत्तपत्त कृषि विकास बैंकका वासुदेव विष्टलाई भेट्न गए। गोरखा घर भएका विष्टलाई उनी पहिल्यै चिन्थे। विष्टले ऊर्जा शाखाका कर्मचारी चिनाइदिए। ती कर्मचारीले भने, ‘पानीको स्रोत राम्रो हुनुपर्छ। गाउँमा गएर सम्भाव्यता अध्ययन गर्नुपर्छ। बर्खा वा हिउँदमा गरेर हुँदैन, पानीको मात्रा औसत हुने चैत–वैशाखमै गर्नुपर्छ।’
    संयोगले त्यो चैतकै महिना थियो। उनकै सल्लाहमा बालाजु यन्त्रशालाका दुई जना प्राविधिकलाई लिएर वीरबहादुर बारपाक पुगे।
    जान त गए, तर उनी आफ्नो उद्देश्य खोल्न चाहन्थेनन्। अमेरिकी सहयोग नियोगको एउटा परियोजनाले त्यसअघि नै हेलिकप्टरमा बारपाक आएर जलविद्युतको सम्भाव्यता अध्ययन गरिसकेको थियो। उनीहरूले बारपाकलाई ‘फेल’ गरिदिएका थिए।
    ‘हेलिकप्टरमा सर्रर उडेर आएका त्यत्रा बडेबडे प्राविधिकहरू यो ठाउँमा बिजुली निकाल्न सकिन्न भनेर गए। म फुच्चे दुई जना प्राविधिक लिएर तर्तर्ती पसिना चुहाउँदै हिँडेर गएको थिएँ। म पनि बिजुली निकाल्न आएको हो भन्ने थाहा पाए त उनीहरूले उल्याएरै बसिखानु दिन्थेनन्,’ वीरबहादुरले भने, ‘मैले आफूसँग गएका प्राविधिकलाई पनि कसैलाई नभन्नू है भनेर सम्झाएँ।’
    आफ्नो उद्देश्य लुकाउन उनले एउटा नाटकधरि रचे। ती दुई प्राविधिकलाई जलशक्ति आयोगबाट आएका सरकारी अधिकारी बनाए। र, गाउँलेहरूलाई मनगढन्ते कथा सुनाइदिए, ‘म एक्लै गाउँ आइरहेको थिएँ। बाटोमा उहाँहरूसँग भेट भो। सरकारी कर्मचारी हुनुहुँदो रहेछ। बारपाकमा बिजुली निकाल्न सकिन्छ कि सकिन्न हेर्ने रे। मैले हिँड्नुस्, मेरै घरमा बसौंला भनेर सँगै ल्याएँ।’
    पाहुनालाई देउता मान्ने चलन भएको गाउँमा उनको कुरा सबैले सजिलै पत्याइहाले।
    उनले आफ्ना बालाई पनि यसको सुइँको दिएका थिएनन्। घर पुगेपछि खुसुक्क सुनाए। बा त छक्कै परेछन्। आँखीभौं तन्काएर दुवै आँखा ठूल्ठुला पार्दै भनेछन्, ‘आम्मामा, यस्तो पनि हुनसक्छ। भइदिए त गज्जबै हुन्थ्यो हगि।’
    प्राविधिकहरू काममा लागे। बारपाकको घट्टेखोलाबाट गाउँभरिलाई पुग्ने बिजुली निकाल्न सकिन्छ भन्ने उनीहरूको निर्क्यौल रह्यो। लागत ‘इस्टिमेट’ भने वीरबहादुरले सुनेभन्दा तीन गुना बढी थियो।
    ‘सात लाखमा बन्छ भनेका थिए, २५ लाखको इस्टिमेट निस्क्यो। म त खङरङ्गै भएँ,’ उनले भने, ‘तर, मैले अठोट छाडिनँ। सरसापट गरेर, जग्गा–जमिन बेचेर, जसरी भए पनि यो काम गर्छु भनेर पटुका कसेँ।’
    उनले ‘इस्टिमेट’ बैंकमा बुझाए। बैंकले ‘लागत बढी भयो’ भन्यो। अर्को कुनै कम्पनीबाट पनि ‘इस्टिमेट गराएर ल्याउनू’ भन्ने जवाफ दियो। वीरबहादुरले बुटवलको डेभलपमेन्ट कन्सल्टिङ सर्भिसेज (डिसिएस) बारे सुनेका थिए। उनी त्यसका प्राविधिकलाई लिएर फेरि बारपाक पुगे। फेरि उस्तै नाटक रचे। र, गुपचुप सम्भाव्यता अध्ययन गराएर फर्के।
    डिसिएसले त झनै निराश बनाइदियो। ‘यसमा धेरै लगानी चाहिन्छ। तपाईं एक्लैले सक्नुहुन्न। कुनै डोनर चाहिन्छ, अनि मात्र यो आयोजना बन्छ,’ डिसिएसका जीवन मास्केले यस्तै बेहोराको चिठी थमाइदिए।
    अब वीरबहादुरसँग न टेक्ने भुइँ थियो, न समाउने लठ्ठी। तै हार खानुभन्दा बैंकले नै केही उपाय लगाइदेला भनेर उनी फेरि त्यहीँ पुगे।
    यसपालि त बैंक सिधै टक्टकिन खोज्यो। वीरबहादुरले भने अड्डी छाडेनन्। उनी हरेक दिन बैंकमै धर्ना कस्न थाले। दिनहुँ अफिस खुल्नुअघि नै पुग्थे। बेलुकी कर्मचारी छउञ्जेल बसिरहन्थे। कतिले त उनलाई जिस्क्याउँदै भने पनि, ‘तपाईं त कृषि विकास बैंकमै जागिर खान थाल्नुभो कि क्या हो!’
    जवाफमा वीरबहादुर ङिच्च दाँत त देखाइदिन्थे, तर आफ्नो आत्मबल डग्न दिन्थेनन्।
    ‘मेरो एउटा सिद्धान्त छ, रक्सी खाने मान्छेले जसरी भए नि खाएरै छाड्छ। पैसा छैन भनेर कसैले आफ्नो रक्सी खाने इच्छा मारेको मलाई थाहा छैन। उसले जहाँबाट भए नि उपाय खोजिहाल्छ,’ वीरबहादुरले भने, ‘बारपाकमा बिजुली बाल्ने मेरो ध्याउन्न नि रक्सी खाने लतभन्दा कम थिएन। म यो नाउ पार लगाएरै छाड्छु भनेर कम्मर कसेको थिएँ।’
    नभन्दै, उनको ‘रक्सी खाने’ इच्छाले उपाय भेटिहाल्यो।
    दिनदिनै देख्दा माया लागेर हुनसक्छ, बैंककै केही कर्मचारीले उनलाई काठमाडौं मेटल इन्डस्ट्रिजका अक्कलमान नकर्मीसँग भेट्न सुझाए। बिजुली निकाल्ने उपकरण अक्कलमानले अलि सस्तोमै मिलाइदिन सक्छन् भन्ने उनीहरूको सल्लाह थियो।
    वीरबहादुर अक्कलमानलाई भेट्न गए।
    उनले सुरुमा त जिब्रो टोके। भने, ‘ओहो, यो त अलि ठूलो प्रोजेक्ट रहेछ! के सस्तो गर्न सकिएला र!’
    यति भन्दाभन्दै पनि उनले पहिलेभन्दा तीन लाख कम, २२ लाख रुपैयाँको ‘कोटेसन’ दिए।
    कोटेसनभन्दा धेरै मूल्यवान उनको सल्लाह थियो। उनले भनेका थिए, ‘हेर्नुस् भाइ, यो नेपाल हो। यहाँ कोटेसन लगेर, अध्ययन गराएर, फाइल बनाएर मात्र केही हुनेवाला छैन। अलिअलि सोर्सफोर्स पनि लगाउनुपर्छ, छ कि छैन ? छ भए अघि बढ्नुस्, नभए समय खेर नफाले हुन्छ।’
    उनको यो कुरा वीरबहादुरको मुटुमा तीरझैं गड्यो।
    उनले अक्कलमानसामु फुर्ति लाउँदै भने, ‘कसको सोर्सफोर्स चाहियो?’
    उनले राजाका निजी सचिवको ठूलो हालिमुहाली छ भन्ने सुनेका थिए। त्यही सम्झेर सोधे, ‘राजाका निजी सचिवको पावर लाए काम बन्छ?’
    वीरबहादुरको एक्कासि फेरिएको रूप र बोलीले अक्कलमान चकित खाए। निधार मुजा पार्दै भने, ‘त्यहाँसम्म पुग्नु पर्दैन भाइ, त्यसले त यो बैंकै हल्लिन्छ। बैंकका हाकिमलाई टेलिफोन गरेर काम अह्राउन सक्ने अलिकति ठूलो मान्छे भए पुग्छ।’
    वीरबहादुरले गोरखाका डा. भारतप्रसाद धिताललाई सम्झे, जो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। उनले सोचे, धितालले चाहे त कृषि विकास बैंकका महाप्रबन्धकलाई सोझै टेलिफोन गरेर कम अह्राउन सक्छन्। तर, धितालसम्म पुग्ने पो कसरी?
    उनले जुक्ति लगाए। गोरखाबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य राजेश्वर देवकोटालाई भेट्न गए। र, उनकै माध्यमबाट धितालसम्म पुगे।
    सबै योजना सुनेपछि धितालले भनेछन्, ‘यो त राम्रो कुरा हो। सरकार (राजा) को पश्चिम भ्रमण छ, यही बेला पारेर आयोजना सुरु गर्नुपर्छ।’
    उनले कृषि विकास बैंकका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्यायलाई फोन गरिदिए। वीरबहादुरलाई त महाभारत युद्ध जितेजस्तै भयो। उनी सरासर बैंक पुगे। श्रीकृष्ण उपाध्यायले तुरुन्तै सम्बन्धित विभागीय प्रमुख र शाखा अधिकृतहरूलाई डाकेर ‘१५ दिनभित्र सम्भाव्यता अध्ययन गरी रिपोर्ट बुझाउनू’ भन्ने निर्देशन दिए।
    अक्कलमानको आइडियाले काम गर्यो। बारपाकमा बिजुली बाल्ने वीरबहादुरको सपनाको फाइल लगभग ६ महिना कृषि विकास बैंकमा २८–२९ चोटि अघि बढ्ने, त्यसै थन्किने गरिरहेको थियो। यसपालि एकै झिमिकमा अघि बढ्यो, र सदर पनि भयो।
    आयोजनाको अन्तिम लागत ‘इस्टिमेट’ २२ लाखको थियो। त्यसमध्ये ४ लाख ८३ हजार उनले अनुदान पाए। कृषि विकास बैंकले ११ लाख १६ हजार रुपैयाँ ऋण पास गर्यो। बाँकी वीरबहादुरले आफैं लगानी गरे।
    यतिन्जेल अञ्जानमै रहेका गाउँलेहरू बारपाकमा लघु–जलविद्युत आयोजना पास भएको र त्यो पनि आफ्नै गाउँले वीरबहादुरले बनाउन लागेको चाल पाएपछि चकितै खाए। कति भने अनेक भाउँतो झिकेर खुट्टा तान्न पनि पछि परेनन्।
    ‘यति सानो पनि बिजुली आयोजना हुन्छ! मर्स्याङ्दीजस्तो ठूलो पो हुनुपर्छ! कुटो–कोदालोले खनेर पनि कहीँ बिजुली आयोजना बन्छ! बडेमानका डोजर पो प्रयोग गर्नुपर्छ! यस्तो आयोजनाबाट निस्केको बिजुलीले त करेन्ट लाग्छ– यस्तायस्तै भनेर कुरा काट्ने पनि थिए। तर, धेरै गाउँलेबाट मैले समर्थनै पाएँ। धेरैले मेरो कामको सराहना नै गरे,’ वीरबहादुरले सम्झे।
    कुरा काट्नेहरू काट्दै गर्छन्, हात्ती ठमठम लम्कँदै गर्छ भनेजस्तै वीरबहादुरले झन्डै डेढ लाख रुपैयाँमा हेलिकप्टर चार्टर्ड गरेर आयोजनाका उपकरण बारपाक ओराले। त्यसपछि त कुरा काट्नेहरूको आवाज ट्याप्पै टालियो।
    आयोजना निर्माणमा लगभग दुई वर्ष लाग्यो।
    वीरबहादुरले अझै सम्झेका छन्, आयोजना चालू भएको दिन झन्डै डेढ घन्टा पैदलदुरीको घट्टेखोलाबाट बारपाक फर्कंदा झमक्क साँझ परिसकेको थियो। बारपाकभन्दा दुई सय मिटरजति माथि मनिडाँडामा उनीहरूले केही दिनअघि नै काठको लिंगो गाडेर एउटा चिम झुन्ड्याएका थिए।
    बेलुकी मनिडाँडा आइपुग्दा वीरबहादुरले देखे, चिम वरिपरि सेता पुतलीहरू छपक्कै झुम्मिरहेका थिए।
    चिम झलल्ल बलिरहेको थियो।
    त्यो २०४८ साउन १८ को दिन थियो। बारपाकमा पहिलोचोटि बिजुली बलेको दिन।
    ***
    एक समय थियो, जब बारपाक ‘भिक्टोरिया क्रस’ विजेता गजे घलेका नामले चिनिन्थ्यो। २०४८ पछि यस्तो समय आयो, जब वीरबहादुर घलेको ‘बिजुली गाउँ’ का रूपमा पनि चिनिन थाल्यो।
    यो २५ वर्षमा बारपाक दुईचोटि अँध्यारो भयो। पहिलोचोटि, २०६१ सालमा।
    त्यतिबेला ५० किलोवाट क्षमताको आयोजनाले बिजुली माग धान्नै नसक्ने भइसकेको थियो। अर्कातिर, २०५६–५६ को बाढीले आयोजनालाई जीर्ण बनाएको थियो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मर्मत गर्नुभन्दा नयाँ बनाउन सल्लाह दियो। वीरबहादुरले घट्टेखोलाकै तल्लो भाग सिमल्चे फेदीमा १ सय ३० किलोवाटको नयाँ आयोजना बनाउन थाले।
    यसै क्रममा माओवादीसँग भिड्नुपर्यो। उनीहरू निजी होइन, सामुदायिक रूपमा आयोजना चलाउन चाहन्थे। केही समय कामै रोकियो। न पुरानो चल्यो न त नयाँ बन्यो। त्यही बेला लगभग छ महिना बारपाक अँध्यारो युगमा फर्किएको थियो, जुन वीरबहादुर कुनै हालतमा चाहँदैनथे।
    ‘म माओवादीसँग भिडेरै भए पनि नयाँ आयोजना बनाइछाड्छु भनेर लागेँ। मैले भनेँ, सामुदायिक रूपमा चलाउने भए पनि मञ्जुर छ, तर बारपाकलाई २०४८ सालभन्दा अगाडिको स्थितिमा धकेल्न पाइँदैन,’ वीरबहादुरले सुनाए, ‘सारा बारपाकी मेरै पक्षमा उभिए। सबैले भने, बारपाकमा बिजुली ल्याएको वीरबहादुरले नै हो। यो उसैको व्यवसाय हो। उसैलाई चलाउन दिउँ।’
    गाउँलेहरू एकजुट भएपछि माओवादीलाई पछि हट्न कर लाग्यो। २०६२ माघ २७ बाट नयाँ आयोजना सञ्चालनमा आयो।
    वैशाख १२, २०७२ को भुइँचालोले बारपाक दोस्रोचोटि अँध्यारो युगमा फर्कियो।
    वीरबहादुर भुइँचालो गएको चौथो दिन बारपाक पुग्दा गाउँलेले एक स्वरमा सोधेका थिए रे, ‘ए वीरबहादुर, तिम्रो बिजुली कहिले आउँछ?’
    ‘हाम्रो घर पो ढलेको, अन्नपात त छ नि,’ गोरखा सदरमुकामभन्दा पहिल्यै बत्तीको उज्यालो देखेका गाउँलेले वीरबहादुरसँग भनेछन्, ‘तिमीले बत्ती मात्र ल्याइदियौ भने मिलमा अन्न कुटेर हामी सुविस्तासँग खान सक्छौं, अर्काका अगाडि हात पसार्नुपर्दैन।’
    वीरबहादुर चाहेर पनि भुइँचालोले ध्वस्त बिजुली आयोजना तुरुन्तै सञ्चालन गर्न सक्ने अवस्थामा थिएनन्। उनले वैकल्पिक उपाय खोजे। अमेरिकास्थित गोर्खाली फाउन्डेसनको सहयोगमा ५० किलोवाट क्षमताको जेनेरेटर व्यवस्था गरे। बेलुकी डेढ–दुई घन्टा बत्ती बल्न थाल्यो। मोबाइल चार्ज गर्न सुविस्ता भयो। तर, यो पर्याप्त थिएन।
    ‘गाउँलेहरू पिठो पिन्न गोरखासम्म धाएको देखेर मलाई प्रेसर फिल हुन्थ्यो, म जतिसक्दो छिटो बारपाकलाई फेरि झलमल्ल पार्न चाहन्थेँ,’ उनले भने, ‘दिनरात खट्दा पनि चौबीसै घन्टा बिजुलीबत्ती बाल्न ठ्याक्कै एक वर्ष लाग्यो।’
    सामाखुसी कार्यालयमा मलाई आफ्नो बिजुली–कथा सुनाउँदै गर्दा वीरबहादुर बारपाकमा बिजुली बालेर केही दिनअघि मात्र काठमाडौं फर्केका थिए।
    ‘सुरुमा रहरै–रहरमा लागेँ, पछि टक बस्दै गयो,’ वीरबहादुर आफ्नो बिजुली–कथा वा जीवन–कथाको सार यसरी खिच्छन्, ‘पहिले म खुब सुर्ती खान्थेँ। सुर्तीले खराब गर्छ भन्ने थाहा थियो, तर लत बसिसकेको थियो। बिजुलीमा पनि मेरो लत बसेको छ।’
    वीरबहादुरको ‘हाइड्रो–इनर्जी कन्सर्न’ नामक कम्पनी छ। जसले हालसम्म दुई मेगावाट बराबरका ४६ लघु–जलविद्युत आयोजनामा काम गरिसकेको छ। यसबाट मनाङ, सोलुखुम्बु, बाजुरा लगायत २२ जिल्लाका २० हजारभन्दा बढी घरपरिवारले बिजुलीबत्तीको उज्यालो पाइरहेका छन्।
    लगभग तीन दशक यो क्षेत्रमा बिताएका ४८ वर्षीय वीरबहादुरको अनुभवले भन्छ, ‘गाउँको विकासका लागि शिक्षा सफ्टवेयर हो भने बिजुली र बाटो हार्डवेयर।’
    ‘अहिले जुनसुकै गाउँ हेर्नुस्, एकचोटि हवाइजहाज चढ्नैपर्ने, एकचोटि गल्फ छिर्नैपर्ने सोच हाबी छ। यो नराम्रो पनि होइन भन्छु म। कतिले गरेर सिक्छन्, कतिले देखेर। वैदेशिक रोजगारमा गएका हाम्रा दाजुभाइले पनि देखेर सिक्नेछन्। एकचोटि सिप र पुँजी बोकेर आएको मान्छेले त्यसपछि चोकमा क्यारेमबोर्ड खेलेर, पोट खेलेर दिन काट्न सक्दैन। ऊ कि यहीँ इलम गर्छ, कि फेरि विदेश जान्छ। यहीँ इलम गर्ने वातावरण छ भने किन फर्केलान् र? गाउँमै बाटो छ, बिजुली छ, अवसर छ भने गाउँको भञ्ज्याङ काटेर विदेश जान पक्कै खुट्टा भारी हुनेछ। त्यस्तो गाउँ बनाइदिने जिम्मा हाम्रो हो, सरकारको हो,’ वीरबहादुरले एकै सासमा आफ्नो विकास–अवधारणा सुनाए।
    र, निचोडमा भने, ‘भर्ती हुन नसकेको झोकमा भरिया बनेर हङकङ जाँदा त्यहाँको चमकधमकले आँखा लोभ्भियो। आज पनि मेरा आँखा उज्यालोमै रमाउँछन्।’
    ‘आँखामा उज्यालो भए पो मन उज्यालो हुन्छ, दिमाग पनि उज्यालो हुन्छ। अन्धकारमा मान्छेले के देख्छ? नयाँ कुरा के सोच्छ?’
    ***
    वीरबहादुर घलेसँग भेट भएको दोस्रो दिन बिहानै मैले बारपाकमा सुकबहादुर गुरुङलाई फोन गरेँ। उनले फोन उठाएनन्। एक–डेढ घन्टापछि ‘कलब्याक’ गरे।
    सञ्चो–बिसञ्चो सोधेपछि मैले आफूसँग भनेको कुरा सम्झाउँदै उनलाई सोधेँ, ‘बारपाक फेरि झलमल्ल भयो, अँध्यारैमा उठेर पुरी–तरकारी बेच्ने योजना के हुँदैछ?’
    उनी हाँसे। भने, ‘तपाईंले अझै सम्झिराख्नु भा’छ !’
    ‘तपाईंको यत्रो योजना म कहाँ बिर्सन्छु !’
    उनी फेरि हाँसे।
    ‘तयारी गर्दैछु,’ भने, ‘अहिले सुरु गरिहालेको त छैन, तर गर्छु। हेर्नुस् न, कस्तो बेला बत्ती आयो भने, बर्खा लाग्दैछ। बर्खामा यहाँ गाडीहरू गुड्दैनन्। तपाईं आउनुभा बेला जस्तो बसपार्कमा भिडभाड हुन्न अब। बर्खा लागेपछि दुई–चार महिना सुनसानै हुन्छ। तैपनि, पुरी–तरकारी त बनाउँछु। माथि लाप्राकबाट आउनेले खालान् नि ! फेरि मकहाँ पुरी–तरकारी पाइन्छ भन्ने थाहा पाएपछि अरू नि आउलान्।’
    मैले उनलाई प्रोत्साहित गर्दै भने, ‘आफ्नो सपनालाई मर्न नदिनुस् है।’
    भूकम्प अघिको बारपाक


    ‘सपना छ र त हामी छौं,’ उनले भने, ‘तपाईंलाई भनिहालुँ, बत्ती आउनेबित्तिकै मैले बूढीसँग घरसल्लाह गरिसकेँ, अब हामी फ्रिज राख्दैछौं। अस्ति नै राख्ने विचार थियो, बत्ती नभा बेला फ्रिज मात्र किनेर के गर्नु भनेर चुपचाप बसेँ। अब किन्छु। ऋण गरेर भए नि किन्छु। यो पसल नि ऋणैमा त हो, तपाईंलाई थाहा छँदैछ। फ्रिज राखेर कोल्ड ड्रिंक्स बेच्छु। आइसक्रिम बनाउन नि सिक्छु। अरू पनि के–के गर्न सकिन्छ, हेरुँ। पसललाई अलिकति भए नि विस्तार चाहिँ गर्छु गर्छु। केटाकेटीको भविष्य यही पसलसँगै त जोडिएको छ।’

    ‘सकिन्छ त?’ मैले फेरि सोधेँ।
    ‘किन नसक्नु, एउटा हात पो गयो, एउटा हात त बाँकी छ नि। बूढीको दुइटा हात छँदैछ। हाम्रो तिनटा हात मिले त के पो नसकिएला!’
    मैले उनलाई शुभकामना दिएँ।
    फोन राख्नुअघि उनले फेरि वीरबहादुर घलेलाई सम्झे।
    भने, ‘वीरबहादुर दाइले त यो गाउँको कायापलटै गरिदिनुभो।’
    सबै तस्बिरहरूः नारायण महर्जन सेतोपाटी
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.