फोटो : गोरखाको बारपाक २ स्थित मान्द्रे । भूकम्पले ज्यान गुमाएका आफन्तलाई घरमै गाडेर परिवारका अन्य सदस्य अन्यत्रै स्थानान्तरण भएका थिए। तस्बिर: शिवप्रसाद उप्रेती
भूकम्पको एक वर्ष
बारपाक (गोरखा): ‘पुरानै घडेरीमा सरौं भने मान्छे गाडेको छ। नसरौं भने महिनाको पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ’, भूकम्पमा परी मृत्यु हुने बारपाक २ मान्द्रेका दलबहादुर गुरुङकी छोरी लालमायाले आफ्नी आमा र भाइबहिनीको अप्ठेरो सुनाइन्।
लालमायाको त बिहे भइसक्यो। उनकी आमा, १६ वर्षीया बहिनी र १४ वर्षीय भाइ छन्। एक वर्षसम्म अर्काको बारीमा पाल टाँगेर बसेका उनीहरू अहिले भाडा तिर्न नसकेर त्यही पुरानो आफ्नै घडेरीमा फर्केका छन्। उक्त भग्नावशेष घरको पिँढीमा दलबहादुरसहित आफन्त कलबहादुर, रस्मिता, कान्छी र काली गुरुङका शव गाडिएका छन्।
दलबहादुरको गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएपछि परिवारका अरू सदस्य गाउँभन्दा तल बारीमा सरेर बसेका थिए। ‘पुरानो घरको काठपात पनि चोरिने डर भयो । यहाँ पालमुनि बस्दा साह्रै दुःख पनि भयो। त्यसैले आमा र भाइबहिनी बुबालाई गाडेकै घरमा सरेका छन्’, लालमायाले भनिन्, ‘तर त्यो ठाउँ चिरिएको छ।
बर्खामा पानी पर्दा डाँडै दरौंदी नदीमा खस्लाजस्तो छ ।’ जोखिम मोलेर ६ सात घर पुरानै थलोमा सरेको उनले बताइन्। भूकम्पले भत्काएको घरले चेपेर दलबहादुरको मृत्यु भएको थियो। उनका परिवारका सदस्य बस्दै आएको बारीका साहूले टहराको मासिक भाडा उठाउन थालेका छन्।
भूकम्पले चिल्लीबिल्ली पारेपछि एक वर्षदेखि मान्द्रेका ७८ घर विस्थापित छन् । उनीहरूमध्ये ३० घरपरिवार अर्काको मकैबारीमा भाडा तिरेर बसेका छन् । उनीहरूलाई अब कहाँ घर बनाउने भन्ने थाहा छैन।
लालपुर्जा नभएकाले घर बनाउन सरकारले दिने खर्च पनि पाउने कि नपाउने भन्ने अन्योल छ । ‘पुरानो घर भएको ठाउँ चर्चरी चिरिएको छ । अलि ठूलो पानी पर्यो भने पहिरिन्छ । अघिल्लो बर्खामै जान्छ कि भनेको, धन्न टिकेछ’, स्थानीय शिक्षिकासमेत रहेकी लालमाया भन्छिन्, ‘अरू ठाउँमा लालपुर्जा छैन।
लालपुर्जा नहुनेले पैसा पाउँछन् कि पाउँदैनन् ? पैसा लिए पनि घर कहाँ बनाउने हो भनेर छाप्रामा बस्नेहरू अन्योलमै छन्।’भूकम्पले लाप्राकका ६ सय १६ घरधुरीको उठीबास लगाएको एक वर्ष पूरा भएको छ।
भत्केको घरले पुरेर बचेको झिटीगुन्टा बोकेर उनीहरू दुई घन्टामाथिको गुप्सीपाखामा पुगे। सरकार तथा गैरसरकारी संस्थाले दिएको त्रिपाल टाँगेर त्यहीं बसोबास गर्न थाले । उनीहरूले पहिरोको डरैडरमा बर्खा काटे। फेरि बर्खा लाग्दैछ। अझै घर कहाँ बनाउने र कहिले बनाउने भन्ने अन्योल भएपछि उनीहरू पुरानै भत्केको घर मर्मत गरेर बस्न जान थालेका छन्।
‘सरकारको मुख ताक्दाताक्दा एक वर्ष बित्यो। त्यही भएर गाउँलेहरू पुरानै घरको गारो उभ्याएर बस्न जान थालेका छन्’, स्थानीय राज गुरुङ भन्छन्, ‘एक वर्षअघि पाएको पाल च्यातिएर धुजाधुजा हुन थाल्यो। बरु भत्केको गारो उभ्याएर बस्नु राम्रो भनेर गाउँले पुरानै थलोमा जान थालेका हुन्।’ तीन भागमा दुई भाग पुरानै थलोमा फर्किएको र एक भागमात्र गुप्सीमा बसेको उनले बताए।
सरकारले भने पुरानो थलोमा नफर्कन कडा निर्देशन दिएको छ । पहिरोको उच्च जोखिममा रहेकाले पुरानो थलोबाट २०५६ सालमा नै बासिन्दालाई स्थानान्तरण गर्न भूगर्भविद्ले सुझाव दिएका थिए । भूकम्पले सबै घर भत्काइदिएपछि गाउँले स्वतः स्थानान्तरण भएकाले सरकारलाई सजिलो भएको थियो।
‘तर त्रिपाल पनि च्यातियो । सरकारले पनि ढिलासुस्ती गर्यो । फेरि गाउँलेको खेतीपाती पनि तल्लै गाउँमा छ। त्यही भएर तल्लो गाउँमै फर्केका हुन्’, स्थानीय राजनीतिक परामर्श समितिका प्रतिनिधिसमेत रहेका राज भन्छन्, ‘तल्लो गाउँमा बिजुली छ, माथि छैन। तल्लो गाउँमा मोबाइल टावर टिप्छ, माथि टावर पनि टिप्दैन ।’
युवाले गुप्सी मन पराए पनि बुढापाकाले पुरानो थलो छोड्नै नचाहेको उनले सुनाए।गैरआवासीय नेपाली संघले सबैका दुईकोठे घर बनाइदिने भने पनि सरकारले स्वीकृति नदिँदा अहिलेसम्म काम सुरु हुनसकेको छैन।
annapurnapost



