फोटो :अन्नपूर्ण
सुकराम गुरुङ बारपाकका विम्ब हुन् । पोहोर गएको भूइँचालोमा उनको अंगभंग भयो । एउटा हात गुमाए । पूरै बारपाक गाउँको हालत पनि त उही हो । गाउँ क्षतविक्षत भयो र धेरै चिज गुमायो ।
भूइँचालो गएको ठिक एक वर्षपछि बारपाकलाई कस्तो छ भन्ने जान्नपर्यो भने सुकरामलाई कस्तो छ भनेर सोध्दा आउने जवाफले धेरै उत्तर दिन्छ । सुकरामको जिन्दगीमा जे जे भयो, र जे जे भइरहेछ, त्यो कथा र बारपाक पूरै गाउँको कथाबीचमा मसिनो धर्साेको मात्रै पनि अन्तर नहोला । त्यसैले सबैभन्दा पहिला सुकरामकै कथा सुनौं ।

अचेल काठमाडौंबाट बारपाकसम्म सिधा बस चल्छ । बसले ओराल्ने बारपाक बसपार्कको मुखैमा छ—ओबिना होटल । हो, यही होटल सुकराम गुरुङको हो । अप्ठेरो मोटरबाटो हुँदै भोकाउँदै र थाक्दै आएका ग्राहकलाई सुकराम खाजा खुवाउन दिनैभरि व्यस्त भइरहन्छन्।
उनीभन्दा झन् व्यस्त हुने भइहालिन्, पत्नी मायादेवी । अचेल गाउँमा एनजिओ र आइएनजिओ कार्यकर्ता कुनै दिन छुट्दैनन् । तिनलाई खानाखाजा खुवाउनेमात्रै होइन, बास बसाल्ने केही कोठाको पनि बन्दोबस्ती सुकरामले मिलाएका छन् ।
ओबिना होटलको छानामा टिन छ । गारो ढुंगामाटोको होइन, टिनैको हो । कोठा—कोठा छुट्याउनचाहिँ प्लाइउडले बारिएको छ । भूकम्पले घर ढलाएपछि गाउँले आफैंले बनाएका अरु घरको बनोट पनि यस्तै—यस्तै हो ।
भुइँचालो पीडितलाई घर बनाउन सरकारले २ लाख रुपैयाँ दिने रे ! सुकरामले पनि सुनेका हुन् । उनले होटल खोल्न ४ लाख खर्च गरे । त्यसमा सरकारी वा गैरसरकारी संस्था कतैबाट पनि दिएको पैसा परेको छैन । टिन किन्ने भनेर पोहोर वैशाखपछि नै सरकारले दिएको १५ हजार र पछि दिएको १० हजारबाट घरको अस्थायी टहरोचाहिँ उनले बनाए ।
‘सबै ऋणैऋणमा हो’, सुकरामले सुनाए, ‘त्यही ऋण पनि मान्छेले पत्याएनन् क्यारे, सहकारीमा जग्गा धितो राखेर लिएको ।’ बारपाकमै छ उनलाई ऋण पत्याएको बौद्ध हिमाल बहुउद्देश्यीय सहकारी । खासमा सुकराम वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै मजदुरी गर्थे । ठेक्का लिएको घरको काम वैशाख ११ गते सकिएकाले १२ गतेका लागि कुनै काम थिएन ।
‘आज खै कसैले काममा बोलाउन पनि आएन क्यारे’ यस्तै सोचेर उनी चित्रा बुन्न बसे । छोरी ओबिना स्कुल गएकी थिइन्, छोरा मनीषलाई चिया र बिस्कुट खान दिऊँला भन्दै बैनी लिन पठाए ।
चिया बसालेर चित्रा बुन्न आँगनमा थाले । एक्कासि जमिन हल्लियो, उनी झसंग भए । ‘घटट्, घटट् गर्न थाल्यो’, उनी सम्झन्छन्, ‘कता जाऊँ-कता जाऊँ भयो, उठेर धारातिर गएँ, त्यहींको ट्वाइलेटको खाँबो समातेर उभिँदा पनि हल्लाइरह्यो ।’
फेरि घर फर्कन्छुभन्दा दुईतिरका घर भत्किएर उनलाई थिचेका थिए । साँझ साढे ६ बजेसम्म पनि उनी थिचिइरहे । त्यसपछिमात्रै आफूलाई कोही खोज्न आएको पत्तो पाए । उनकै दाइ, २ जना साला र अर्काे एकजनाचाहिँ साथी आफूलाई खोजिरहेको सुकरामलाई थाहा भयो । तर, उनीहरुले सुकराम पुरिएको ठाउँ पत्ता लगाउनै सकेनन् ।
‘एउटाले एकातिर भन्छ, अर्काेले अर्काेतिर’, सुकराम त्यो दिनको कथा सुनाइरहेका थिए, ‘तिनीहरुले निकालेनन् भने मर्छु भनेर डराइरहेको थिएँ ।’ २०-२५ मिनेटर त्यसरी नै एकातिर र अर्कातिर गर्दै अलमलिँदा अल्मलिँदै सुकराम र उनीहरुबीच दोहोरो संवाद भयो । तर, खोज्दाखोज्दै उनी पुरिएकै ढुंगाहरुमाथि उनीहरु पनि आएर उभिएपछि खपिनसक्नुभएको थियो ।
बल्लतल्ल गरी ढुंगाहरु पन्छाएपछि सुकरामको टाउको देखियो । ‘बाहिर ननिकाल्दै मेरो भेना भन्दै सालाहरुले किस खान थाल्यो’, उनले भने, ‘फेरि निकाल्न खोज्दा मेरो देब्रो हात निस्कनै सकेन, त्यसलाई झन् धेरै ढुंगाले थिचेको रहेछ ।’ देब्रे हातमा साह्रै चोट लागेकाले उनलाई भोलिपल्ट नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा लगियो । अरु घाइते पनि सेनाले लगेको थियो सेनाले पोखरा ।

पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्र्दा २-३ दिनपछि डक्टरहरुले उनलाई हात काट्नुपर्छ भने ।
‘नत्र जिन्दगी नै फाल्नुपछ’, डक्टरहरुले यसो भन्दा सुकराम सुक्सुकाए । हातै नभएपछि के गर्ने र कसरी गरिखाने भन्ने सोच्दासोच्दै जिन्दगी नै फाल्नुभन्दा ठिकै छ हात फाल्ने निधो गरेर उनी डक्टरहरुकै सिफारिसमा काठमाडौं जाने टुंगोमा पुगे । ‘गोरखाकै एकजनाले १७ हजार रुपैयाँ दिनुभयो, अनि एम्बुलेन्समा काठमाडौं गएँ’, उनले सुनाए, ‘वीर हस्पिटलमा म जस्ता घाइते थुप्रै थिए, अप्रेसन गर्ने पालो कुर्नुपर्यो ।’ त्यसबीचमा २ हप्ता कटिसकेको थियो ।
साउदीबाट काइँला भाइ आइपुगे । डक्टरहरुसँग रोइकराइ गरेर पालो मिलाए । अप्रेसन थियटरको ढोकाबाहिर पालो कुर्दै थिए, फेरि भूइँचालो आयो र हल्लायो । हतारहतार दाजुलाई भाइले हस्पिटलको आँगनमा ओराले । भूइँचालो यसरी गयो कि फेरि हस्पिटलमा घाइते थपिए, डक्टरहरुलाई भ्याइनभ्याई हुन थाल्यो । त्यो वैशाख २९ को दिन थियो ।
बल्लबल्ल पाएको पालो पनि फेरि भूइँचालोकै कारण फुत्कियो । ३० गते अप्रेसन गर्ने भन्दा डक्टरले निमोनिया छ भन्दिए । ३१ गतेचाहिँ हातमात्रै बेहोस् बनाएर अप्रेसन गरियो । ‘सकेसम्म हात फाल्न पाए संसार हेर्न पाउँथे भनेर आत्तिएको थिएँ,’ यसो भन्दा सुकरामको गला सुक्लाजस्तो भयो, ‘मेरै आँखा अगाडि हात भुइँमा झर्यो ।’
अप्रेसन गरेर फर्किंदा बारपाकको फेदी बालुवा गाउँमा परिवारै सुकरामलाई लिन गए । छोरालाई देखेर उनी भक्कानिए । दरौंदीको किनारमा बाबुछोरा एकछिन अंगालोमा बाँधिएर आँसुको अर्काे दरौंदी बगाएपछि मात्रै गाउँ उकालिए । ‘आमा मलाई देख्नेबित्तिकै रुन थाल्छ’, सुकराम भन्छन्, ‘त्यसैले आमाको अगाडि पर्दै पर्दिनँ, परे पनि अहिलेसम्म काटिएको हात देखाएको छैन ।’ तर, भेना बाँचेको भन्दै सालासाली खुसी छन्, दाजु बाँचेकोमा भाइ र भाइ बाँचेको भन्दै दाइहरु । पत्नी र छोराछोरी झन् खुसी । पालमुनि ओत लागेरै भए पनि परिवार बस्यो । गाउँका कतिपयले ज्यान गुमाएका थिए, सुकराम त कम्तीमा बाँचे भन्ने भयो ।
अप्रेसन गरेर फर्केको दुई÷तीन सातामात्रै भएको थियो, सुकरामको घरमा एकजना साहु आइपुगे, जोसँग उनले १ लाख रुपैयाँ लिएका थिए । ‘यो अपांग भयो, पैसा तिर्न सक्दैन भनेर,’ उनले कारण खोले, ‘केही पछि तिर्छु भनेर सम्झाइबुझाइ गरी फर्काएँ ।’ तर ती व्यक्ति फेरि आए । त्यो ऋण तिरौंन नति भन्दा सुकरामलाई भने १० हजार रुपैयाँ सापटी पनि कसैले पत्याएन ।

भूकम्पमा एउटा हात गुमाएपछि आत्मविश्वास नगुमाएका सुकराम गुरुङ
‘तर मैले आँट छोडिन’, सुकरामले वृतान्त कहिरहे, ‘अरु मरेर त गए भने म त बाँचेको छु, के न केही गर्नुपर्छ भनेर होटल खोलेँ ।’ उनले साउदी अरबको होटलमा ३ वर्ष काम गरेका थिए । व्यवसाय गर्ने र त्यो पनि होटल खोल्ने भन्ने आँटचाहिँ साउदीकै अनुभवले दिलायो । कुकिङ भने भारतमा सिकेका थिए । सासु ससुराले त छोरीज्वाइँ दुवै पाल्छौं भनेकै थिए, सुकरामलाई आफू केही गर्नै नसक्ने त होइन है भन्ने लागेको थियो ।
व्यवसाय गर्छु भनेपछि ससुराले ५० हजार हालिदिए । साढुदाइ पर्नेले २ लाख रुपैयाँ सापटी दिए । त्यसपछि टहरा ठडियो । ‘मैले पहिल्यैदेखि चिनेको साहुसँग ८० हजारको सामान उधारो मागेर राखें’, उनले सुनाए, ‘त्यो ३ महिनामै तिरेपछि अचेल उधारो ल्याउँदै बेच्दै, पैसा तिर्दै चल्न सजिलो भएको छ ।’
पत्नीका २ र आफ्नो एक गरी तीन हातको भरमा होटलमा ग्राहक सन्तुष्ट पार्न सकेकोमा उनी खुसी छन् । बाहिरबाहिर सुन्छन्, यो अपांगले केही गर्न सक्दैन । संस्थाहरुले धेरै सहयोग गरे भन्ने पनि सुन्छन् । तर, आजको मितिसम्म कसैबाट फुट्टीकौडी नपाएको बताउँछन् ।
सरकारबाट पाएको भनेको त्यही २५ हजारमात्रै हो, जुन टिन किन्दै सकियो । घर ठड्याउन र होटलका लागि उनले छुटट् ऋण काढ्नुपर्यो । ‘आफ्नै गाउँलेले ऋण त दिएन भने अरुले पैसा दिन्छ’, जब्बर स्वरमा उल्टै प्रश्न गर्छन् । बारपाकमा अहिले बिजुली छैन । भूकम्पले लघुजलविद्युत योजना भत्काएयता पुनर्निर्माण भएको छैन ।
बिजुली भए बिहान ४ बजेदेखि राति १० बजेसम्म ग्राहकलाई रोजीरोजी थरीथरी खाजा खुवाउन सक्ने विश्वास सुकराम सुनाउँछन् । तर, आत्मविश्वास बलियो जगमा उभिएर उनको व्यवसाय र जिन्दगी अघि बढिरहेको छ । अहिले त आफूलाई भूकम्प पीडित भनेरै रोइलो गर्नुभन्दा आफ्नो काम गर्नु बेस ठान्छन् सुकराम ।

गाउँमै होटल चलाइरहेका मीनबहादुर गुरुङ
गुचुमुच्च बस्तीको सिरानमा एउटा चौतारो छ । यो हो मणिडाँडा । यहाँबाट उकालो लागे अर्काे गाउँ लाप्राक पुगिन्छ । मणिडाँडाबाट तल हेर्दा बारपाकमा मिलेर बसेका ढुंगे घरहरुले नै पर्यटक लोभ्याउँथे । ससाना राजा र रजौटाको शासन चल्ने युगमा दुश्मनको आक्रमणबाट बच्न सकियोस् भनेर झुरुप्पै एकैठाउँ कोचिएर बसेको थियो बस्ती ।
हुन पनि गोरखाका राजा द्रव्य शाहले पटकपटक आक्रमण गर्दा समेत आफ्नो शासनकालमा बारपाकलाई आफ्नो राज्यमा मिलाउन सकेका थिएनन् । अलिपछि अर्काे पुस्ताका पाला मात्रै बारपाक गोरखामा मिसिएको थियो । घले र गुरुङ जातिको आफ्नैखाले भाषा संस्कृति यो गाउँको विशिष्ट पहिचान हो ।
दोस्रो विश्वयुद्ध लडेर बहादुरी देखाएपछि २० वर्षे जवानीमै गजे घलेले आफ्नो छातीमा भिक्टोरिया क्रस पदक र बारपाकको नाउ चम्काएका थिए । वीरबहादुर घलेले २०५० सालअघि नै सदरमुकाम गोरखा बजारमा भन्दा पहिला बारपाकमा बिजुली बालिदिएका थिए । कुनै बेला गोरखाली राज्यमा राडीपाखी र नुन निर्यात गर्ने बारपाक धेरै अर्थमा पछिल्लो समयसम्म पनि आत्मनिर्भर थियो ।
पोहोर १२ वैशाखे भूकम्पले भने एकै झमटमा बारपाकको सानसौकतलाई जमिनमा पुर्याइदियो । यही गाउँलाई केन्द्र बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूइँचालो जाँदा पूरै बस्ती सोत्तर भयो । पोहोर वैशाख दोस्रो साता यही मणिडाँडाबाट हेर्दा भत्किएका घरहरुका असरल्ल सामानले गिज्ज्यारहेका थिए । खातमाथि खात ढुंगाका छपनीहरुको थियो । कोही आफन्त बितेको शोकमा त कोही घाइतेहरु भएकाले ती सामान ततेर्न पनि भ्याएका थिएनन् स्थानीयले । गाउँमा प्रहरी, नेपाली र भारतीय सेनाले स्वास्थ्य शिविर चलाउँदै गाउँलेलाई सामान थन्क्याउन पनि सघाइरहेका थिए ।
यसपालि वैशाख दोस्रो साता सुरु हुँदा त्यही डाँडामा बसेर हेर्दा दृश्य फरक देखियो । आवाज फरक सुनियो । टुकटुक, ट्याकट्याक आवाज मणिडाँडासम्मै सुनिरहेको थियो । अर्थात बारपाकीहरु घर बनाइरहेका छन् । काठ ठोकठाक गरिरहेको आवाज माथि मणिडाँडासम्म पुगेर चराहरुको संगीतमा घोलिन्छ ।
१ हजार ४ सय ४७ घर धुरीको गाविस हो, बारपाक । त्यसमध्ये १ हजारभन्दा बढी मुख्य बारपाक गाउँमै थिए । त्यहाँ थिए, दुई दर्जन पक्की घर । तिनलाई आंशिक क्षति पुर्याएको भूइँचालोले अरु सबै घरलाई निमेषभरमै जमिनको सतहमा बजारिदिएको थियो । अहिले जति घर बारपाकीले बनाइरहेका छन्, तीमध्ये केही पक्की बन्दैछन् । गाविस सचिव चेतराज अम्गाईंका अनुसार २ सय स्थायी प्रकारकै बनिसकेको अनुमान छ । तीमध्ये ३० भन्दा बढी पिल्लर राखेर बनेका सिमेन्टका घर हुन् । अरुचाहिँ अस्थायी छन्, ती पनि २÷४ वर्षमै ढलिहाल्ले देखिन्नन् ।
…
ओमराज घलेले आमालाई साउदीबाट पैसा पठाइदिएपछि यही साता उनको घर ढलान भयो । आफ्नो सोल्टीको घरका लागि टिलराज घले लाइलुई गर्दै थिए । टिलराज घलेको परिवार भने अहिले पनि टहरामै छ । अस्थायी टहराबाट स्थायी घरमा सर्न उनले सरकारबाट आउने भनेको २ लाख रुपैयाँ कुरिरहेका छन् । वैदेशिक रोजगारीमा जाने योजना बुनेका उनले काठमाडौंमा कुकिङ तालिम गरिसकेका छन् । भूइँचालो गएको बेला काठमाडौंमा नै रहेका उनी त्यसयता भने गाउँमै छन् ।
अब विदेशिने रहर छ उनलाई । ब्रिटिस आर्मीमा भर्ती हुन ३ पटक गरेको प्रयास बिफल भएपछि उनले अरब वा मलेसिया जानुको विकल्प देखेका थिएनन् । अब भने गाउँमै रेस्टुरेन्ट व्यवसाय गर्ने मन छ । भूइँचालो गएपछि पर्यटकको ओइरो लागेको देखेका छन् । ‘तर लगानी जुटाउने कसरी हो’, उनी सोच्दैछन् । उनकोे बाजेका पालासम्म ब्रिटिस आर्मीमा धेरै थिए बारपाकबाट । अचेल भने घरैपिच्छे अरब र मलेसिया गएका छन् युवा ।
बारपाक सोर्ताका बुद्धिबहादुर विक चैतदेखि नयाँ घरमा छन् । ‘बर्खा लाग्न आँटिसक्यो’, उनले सुनाए, ‘घर नबनाएर हुँदै भएन, बनाइयो ।’ सुकराम गुरुङले जस्तै उनले पनि बौद्ध हिमाल बहुद्देश्यीय सहकारीबाट ६ लाख रुपैयाँ ऋण लिएका हुन् । मान्द्रे, पोखरी र इसिनान गाउँका ३ सय परिवारले भने आफ्नो थाँतथलो छाडेका छन् ।
‘पहिरो आउला भन्ने डरले फर्कन सकेनौं’, गैरी गाउँकी विष्णु सुनारले भनिन् । अहिले आरसिपी भन्ने ठाउँमा बसिरहेका गैरी र डाँडा गाउँका दलित परिवार सरकारले जग्गा उपलब्ध गराइदेला भन्ने आसमा छन् । ‘सरकारले जोखिम नहुने ठाउँमा बस्न दियो भने आफ्नो पुरानो जग्गा सरकारलाई दिन तयार हुनुहुन्छ’, गाउँका अगुवा जितबहादुर घले भन्छन् ।
ती ३ सय विस्थापित परिवारबाहेकले स्थायी वा अस्थायी प्रकारको घर बनाइसकेका छन्, सरकारको भरै नपरी । इसिनानका मनबहादुर गुरुङ पुरानै घरका काठपात जोडेर एक्लै घर बनाउन कस्सिरहेका थिए । काम गर्ने मान्छेसमेत नपाइएपछि आफै खटिएको उनले बताए । कुलबहादुर घलेको १४ जनाको परिवार टहरोमै बस्थ्यो ।
मलेसिया गएका छोराले ऋणधन गरेर केही पैसा पठाएपछि उनी पनि नयाँ घर बनाइरहेका छन् । पिल्लर ठड्याएर घर बनाइरहेका उनी सरकारले तयार पारेको भूकम्प प्रतिरोधी घरको नमुनाबारे बेखबर थिए । ‘बर्खा लाग्न थाल्यो’, उनले भने, ‘त्यत्तिकै बस्न भएन, छोराले कमाउला र तिरौंला भनेर ऋण काढियो, घर बनाइँदैछ ।’
पोहोर भूकम्प जानासाथै बारपाक जोड्ने मोटरबाटो बिग्रिएको थियो । जेठपछि नै फेरि मर्मत गरी मोटर चल्न थालेको थियो । त्यहीबाटो भएर यहाँ राहत आयो । गएको फागुनबाट भने नियमित बस चल्न थालेको छ । एनजिओ, आइएनजिओ यति धेरै आएका छन् कि तिनका कार्यकर्तालाई लक्ष्य गरेरै यहाँ यो एक वर्षमा १० वटा होटल थपिए ।

गाउँमा रेस्टुरेन्ट खोल्ने योजना बनाइरहेका टिलराज घले ।
‘पहिला त २ वटामात्रै होटल थिए, अहिले १० वटा पुगे’, होटल रुपिङ्लाका मीनबहादुर गुरुङले भने । मीन बारपाकका यस्ता पात्र हुन्, जो गाउँमै केही गर्ने चाहनाले टिकेका छन् । १३÷१४ वर्षमै भारतमा मजदुरी गर्न हिँडेका उनी १९ वर्षमै साउदी अरब पुगेका थिए । त्यसपछि इराक हुँदै उनी बारपाक फर्किए । कुकिङको तालिम लिएकैले गाउँमा होटल खोलेर बसेका छन् ।
भूकम्पपछि होटल निकै चल्न थालेको छ । इराकमा भने अमेरिकी स्पेसन फोर्समा ५ वर्ष बसे । ‘कतिबेला मरिने हो भन्ने ठेगान हुन्थेन’, उनले सुनाए, ‘पैसा मात्रै भनेर के गर्ने ?’
मीनको रुपिङ्लामा मात्रै होइन, पाहुना अरु होटलमा पनि छन् । होटल बारपाक इनकी सञ्चालक सीता गुरुङका अनुसार भुइँचालो गएको ३ महिनापछि खुलेको होटलमा पाहुना टुटेको दिन छैन । पहिला २२ घरमा होमस्टे थियो । गएको असोजपछि टहरोमै भए पनि ६ घरमा होमस्टे सुरु भएको थियो । ‘तर पाहुना होटलमै रोकिन्छन्, होमस्टे पुग्दैनन्,’ होमस्टे सञ्चालक समूहकी अध्यक्ष मोजेस गुरुङ भन्छिन् ।
विकासे कार्यकर्ताबाहेक गाउँ घुम्न आउने फिरन्ते र पत्रकारहरु पनि होटलका पाहुना हुन् । होटल महँगा छैनन् । ३ सयदेखि साढे ३ सय रुपैयाँमा एउटा कोठा पाइन्छ । मासुसहित एकछाक खानाको पनि ३ सय रुपैयाँ पर्छ । अतिथि सत्कार बच्चैदेखि सिकेका छन् बारपाकीले । गाउँका डहरमा भेटिने ससाना भान्टाङ भुन्टुङ गाउँमा देखिने नयाँ मान्छेहरुलाई नमस्ते गर्छन् ।
जनजीवन सामान्य लाग्छ । आलु खन्ने बेला हुँदैछ । गहुँ भिœयाउन पनि व्यस्त छन् स्थानीय । मलका डोका बोकर बारी गइरहेका महिलाहरु, गहुँ निफनिरहेका आमाहरु र घर बनाइरहेका बाबुहरुको अनुहारको चमकले बारपाक वर्ष दिनपछि सामान्य भइसकेको अभास गराउँछ ।
भूकम्प केन्द्रबिन्दु बारपाकमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अहिलेका केपी ओली पुगेको स्थानीय बताउँछन् । तर, सरकारले घर बनाउन दिने भनेको २ लाख गाउँ पुगेको छैन । बारपाकको जुन स्वरुप थियो, त्यो सुहाउँदो डिजाइन पनि सरकारले नबनाएको देखेर बारपाकी गुनासिएका छन् ।
अहिले गोरर्खा वेल्फेयर स्किमले पूर्व ब्रिटिस सेनाका ३० घर आफ्नै डिजाइनमा बनाइदिएको छ भने सरकारले तयार पारेको डिजाइन पनि पुरानो बारपाक सम्झाउने खालको छैन । ‘ढुंगाबालुवा, गिटी र रड सस्तो पाउने ठाउँलाई पनि २ लाख बारपाकमा पनि २ लाख त मिल्ने कुरा भएन’, जितबहादुरले भने, ‘यहाँ अन्तभन्दा सबैचिज महँगो छ ।’
उनका अनुसार गोरखा बजारतिर साढे ७ सय रुपैयाँ बोरा पाइने सिमेन्ट बारपाकमा हजार घटीमा पाइन्न । रड किलोमै १० रुपैयाँ महँगो पर्छ भने बालुवा ट्रिपमै ३ हजार फरक छ । तर पनि ऋणमौलो गरी स्थायी अस्थायी घरहरु बारपाकीले बनाइरहेकै छन्, जस्तो कि अपांगता भएर पनि सुकराम गुरुङले आफूलाई निराश बनाएनन् । सरकारी आशामा कुँजिएर बसेनन् । ऋणधन गरे, आँटे र टहराको बासै भए पनि व्यवसाय ठड्याए । त्यसैले उनी बारपाकको विम्ब बनेका छन् ।
तस्बिरहरु:सुदीप श्रेष्ठ
तस्बिरहरु:सुदीप श्रेष्ठ
annapurnapost



