शिवप्रसाद उप्रेती
बारपाक (गोरखा): गत वर्ष वैशाख १२ को भूकम्पको इपिसेन्टरका बासिन्दा बारपाकी धेरै कुराको चेत खुलेको त्यसको वर्ष दिनपछि सम्झन्छन्। एक वर्षमा बारपाकीले धेरै देशका धेरैथरी मान्छे देखे। सरकारी मान्छे, एनजीओ, आईएनजीओका मान्छे देखे। धेरै देशका पत्रकार र विज्ञको संगत गरे।
अहिलेसम्म नखाएको खाए, अहिलेसम्म नचिनेको मान्छे चिने। अहिलेसम्म नलगाएको लगाए, नओढेको ओढे, नओछ्याएको ओछ्याए । धेरै अनुभवबाट धेरै कुरा सिकेको स्थानीय सन्तबहादुर गुरुङको भनाइ छ।
‘भूकम्पले धेरै नराम्रो गर्यो तर नराम्रोसँगै धेरै सुरुआत भएको छ’, स्थानीय धर्तीमान घले भन्छन्, ‘अब बारपाकमा सानोतिनो भुइँचालोले भत्किने कच्ची घर बन्नेछैनन्। आफ्नो गाउँ आफैं बनाऊँ भन्ने धेरै युवाको मनमा छ । गाउँमा आए भने सबैले देख्न सक्छन् । कति नयाँ कामको सुरुआत भएको छ।’ धेरैले ढलान गरेर पक्की घर बनाइसकेको उनले बताए।

भूकम्पले बारपाकमा मात्र ७२ जनाको घरगोठमै चेपिएर मृत्यु भएको थियो । १४ सय ७० घरधुरी तहसनहस भए । ठूलो दुःखको कुरा हो तर जति बाँचेका छन् उनीहरूले भुइँचालोपछि धेरै कुरामा पाठ सिकेको बताउँछन्।
धर्तीमानका अनुसार अहिले बारपाकमा एक तिहाइ घर बनिसकेका छन् । अब बनाउनेले पनि पक्की बनाउने तयारी गरिरहेका छन् । ‘पिलर राखेर बनाइएका घरहरू भुइँचालोमा पनि जस्ताको तस्तै छन्। त्यो देखेर गाउँलेले पक्की घर बनायो भने नभत्कने रहेछ भनेर सिकेका छन्’, उनले भने, ‘अहिले जति पनि घर बनेका छन्, पिलर राखेर र ढलान गरेर बनिरहेका छन्।’
एक वर्षयता बारपाकीमा आनीबानी र व्यवहार पनि परिवर्तन भएको उनले बताए । ‘कुन मान्छे कति बेला मर्छ, थाहा छैन । किन नराम्रो बोल्ने, नराम्रो गर्ने? किन झैझगडा गर्ने भन्ने सबैले भन्न थालेका छन्’, उनले भने, ‘त्यसैले हातेमालो गरेर हाँसीबोली गर्नुपर्छ भन्ने सबैबाट सुन्न पाइन्छ।’
गाउँलेहरू महिनामा दुईपटक गाउँ सरसफाइमा जुट्ने गरेको पनि उनले बताए । आफ्नो गाउँ आफैं बनाऊँ भन्ने उद्देश्यले बिहीबार शुभकामना केन्द्र, सफलता केन्द्र र जागृति महिला समूहले टोलको सरसफाइ गरेका छन्।
अरूको मुख ताकेर हुँदैन, आफ्ना लागि आफैं नजुटी हुँदैन भन्ने पाठ एक वर्षयता सिकेको स्थानीय शेरबहादुर घले बताउँछन् । उनी भन्छन्, ‘हेर्नुस्, गाउँलेले सरकारको मुख ताकेर पालभित्रै बर्खा काटे। पालभित्रै हिउँदको हिउँ खाए । तर अहिले अब अर्काको मुख ताकेर हुँदैन।
आफ्नो काम आफैंले गर्नुपर्दो रहेछ भनेर धमाधम घर बनाइरहेका छन्’, भूपू भारतीय सैनिक रहेका उनले भने, ‘अहिले बनाएका घर धेरैजसो पक्की छन् । कोही कच्ची छन् तर भत्केर मान्छे मार्ने खालका छैनन्।

तिनीहरूले पनि सकेको बेला पक्की नै बनाउँछन्। तर सरकारको र विदेशीको मुख ताकेर कोही बसेको गाउँमा पाउनुहुन्न । यसमा हामी गर्व गर्छौं ।’ दिन्छुदिन्छु भनेर नदिने सरकारलाई गाउँलेले पुरुषार्थ देखाइदिएको उनको भनाइ छ।
अरूको मुख ताकेर हुँदैन, आफ्ना लागि आफैं नजुटी हुँदैन भन्ने पाठ एक वर्षयता सिकेको स्थानीय शेरबहादुर घले बताउँछन्।
अहिले कसैले पनि पहिलेझैं भीरको मुखमा घर नबनाएको उनले बताए।सरकारी तथा गैरसकारी संस्थाहरूले घर बनाउने तरिका सिकाइदिए । महिलाले पनि काम गर्न सक्छन् भनेर महिलालाई समेत निर्माण मजुदर बनाइदियो। ‘धेरै नयाँ कुरा भएको छ यहाँ’, सन्तबहादुर गुरुङ भन्छन्, ‘घर बनाउने काममा महिला कति धेरै खटिएका छन् हेर्नुस् त? ‘
उनले भने, ‘घरमात्र होइन, यसअघि गाउँभित्रको बाटो मान्छे हिँड्नमात्र मिल्ने साँगुरो थियो। डब्लूएफपीले काम गरेर चामल पाउने भनी काम लगायो । अहिले हाम्रो गाउँ भित्रभित्र मोटर जान्छ।
बिरामी लिन एम्बुलेन्स जाने भएको छ। ढुंगा, गिटी, बालुवा, रड, इँटा बोकेर ट्रक र ट्याक्टर जान्छन् । नल, पराल, मल, घाँस, दाउरा बोकेर पनि घरघरमा लान पाइएको छ । कति सुविधा भएको छ।’
भूकम्पले घर नभत्काइदिएको भए गाउँभित्र बाटो लान कसैले जग्गा नदिएको भन्दै उनले भूकम्पले धेरै कुरा नराम्रो गरे पनि राम्रो सुरुआत पनि भएको बताए।
अहिले गाउँलेहरू आयआर्जनमा पनि धेरै लागेका छन्।

बाख्रापालन, भेडापालनमात्र गर्ने गाउँलेले भूकम्पपछि बंगुरपालन गर्न थालेको सन्तबहादुर बताउँछन्। ‘पहिले गुरुङ, घलेले सुँगुर पाल्न पनि हुन्न, खान पनि हुन्न भन्ने गरिन्थ्यो’, उनले भने, ‘अहिले धमाधम व्यावसायिक रूपमा बंगुरपालनमा मान्छेहरू लागेका छन्। एकैजनाले दुई सय, तीन सयवटा बंगुर पाल्ने भनेर खोर बनाइरहेका छन्। २०-२५ वटा पाल्ने त धेरैजना भइसके। मेरो पनि छ।’
गाउँमा निर्माणको काम धेरै भएपछि वैदेशिक रोजगारीमा गएकाहरू पनि फर्कन थालेको उनले बताए। ‘यति धेरै घर बनाउनुछ। दिनको ज्याला एक हजार ५० रुपैयाँ पाउँछन्।
आफ्नै गाउँमा काम पाइने, राम्रै कमाइ हुने भएपछि अहिले त विदेशमा गएकाहरू पनि धमाधम फर्केका छन्’, गाविसका कर्मचारीसमेत रहेका उनले भने, ‘बारपाकी पहिले पनि राहत पर्खेर बसेनन्। अहिले पनि कोही राहत पर्खंदैनन् । बारपाकी त धेरै स्ट्यान्डर्ड छन् । हेर्नुस्, गोरखा बजारको भान्सामा पाकेको खानेकुरा यहाँको भान्सामा पाक्छ।’
एक वर्षयता जति ठूला मान्छे आए पनि वास्ता नगरी आफ्नो काम गरिरहने बानी परेको अर्का स्थानीय आसबहादुर घले बताउँछन् । ‘राष्ट्रपति आए, प्रधानमन्त्री आए । मन्त्री त कति आए कति। उनीहरू आउनेजाने गरिरहन्छन्। तर हाम्रो काम छाड्नु हुन्न भनेर आजभोलि त सबै आफ्नै काम गरिरहन्छन्।
पछि लागेर हिँड्दैनन्’, उनले भने, ‘राजनीति गर्ने मान्छे मात्रै त्यस्ताको पछि लाग्छन् ।’ त्यसरी आउनेबाट विकृति पनि आउँछ कि भनेर बारपाकी धेरै सचेत रहेको उनले बताए।

महिलाहरूले पनि सहयोगी संस्थाको सहयोगबाट विभिन्न खालका तालिम सिकिरहेको अर्की स्थानीय रोशनी घले बताउँछिन् । पहिले बख्खु, झोलालगायत ऊनका सामग्री बनाउन जान्ने महिलालाई सरकारी र विभिन्न गैरसरकारी संस्थाले स्विटर, टोपी, चप्पलजस्ता विभिन्न सामग्री बनाउन सिकाएको उनको भनाइ छ।
‘बारपाक जाग्दैछ। महिलापुरुष सबै जाग्दैछन्’, रोशनीले भनिन्, ‘एक वर्षयता धेरै दुःख पनि पाइयो। यहाँको धेरै प्रचारप्रसार भयो । त्यही दुःखबाट अहिले धेरै नयाँ कुरा सिक्दैछौं।’ बिस्तारै बारपाक उठिरहेको उनको भनाइ छ।
annapurnapost




















