वैशाख ९, २०७३- पानी परेर खुलेको आकाश । निलो आकाश मुनी टलक्क टल्केको गणेश र बौद्ध हिमाल । हिमाललाई ऐना हेरेर बसेको बस्ती लाप्राकलाई ढ्पक्कै ढाकेको सेतो गुराँस ।
महाभूकम्पको केन्दविन्दु बार्पाकदेखि लाप्राक पुग्न गुप्सीपाखाको २ घन्टे उकालो काट्नुपर्छ । बैशाखको तालु पोल्ने घाम, पानीको प्यास र उकालो चढ्दाको थकान सबै वरपर फुलेका गुलाबी र सेता गुराँस र हिमालका मनोरम दृश्यले मेटाइदिन्छ ।

‘लालीगुरा“स त फागुन–चैतमै फुलेर निख्रियो । अब सेतो र गुलाबीको पालो,’ गुप्सीपाखास्थित स्थानिय होटल संचालक इन्द्रबहादुर घलेले भने ।
तल्लो मनास्लु पर्यटकिय पदमार्गमा पर्ने यो बस्तीमा भूकम्पअघि दुईतिरबाट विदेशी पर्यटकहरु आउँथे । बार्पाक हुँदै लाप्राक र गुम्दा जाने र आरुघाट हुँदै बुढीस्ती गण्डकीको तिरै तिर माछीबजार बाट पश्चिममार्ग हुँदै लाप्राक ।



सुन्दर लाप्राकको गुरुङबस्ती हवाई मार्ग बाहेक अन्त कतै बाट देख्न नसकिने सुन्दर बस्ती हो । गुरुङ, घले र दलितहरुको यो बस्तीमा ४ सय ५० घरधुरी गुजमुज्ज भएर परम्परागत रुपले बसेका छन् ।
स्थानिय जंगलमा पाईने निगालोको चोयाको अत्यधिक प्रयोग हुने यो वस्तीमा भूकम्प अघि गोव्रेसल्लीको फलेकले छाना छाउँथे । हुरीबतासबाट जोगाउन छानामा लहरै ढुङ्गा राखे पछि टाढाबाटै तिरमिर देखिन्थ्यो ।

२०५४ सालमा गएको पहिरोलेपछि त्यहाँको जमिन चिरा–चिरा पारेको थियो । त्यसपछि नै यो वस्तीलाई अन्यत्र सार्नुपर्ने निस्कर्ष निकालिएको स्थानिय पुनर्स्थापना समितिका संयोजक राजबहादुर घले बताउँछन् । ‘२०६४ सालमा नेपाल रेडक्रसले भुगर्भविद्हरुको सहयोगमा पहिरोग्रस्त क्षेत्र निरिक्षण पनि गरेको थियो । भौगोलिक अध्ययन पश्चात वस्ती नै सानु पर्ने भने पनि बुढापाकाले मानेनन्,’ उनले भने।
गत बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले पनि पुरै वस्ती चिराचिरा पार्यो, सबै परम्परागत घरहरु भत्के । २६ जनाको ज्यान गयो । ६० जना जति घाइते भए ।
यी सबै पिडा भुलेर प्रकृतीको काखमा बसेको यो बस्ती बसन्तमा बोट बिरुवामा नयाँ पालुवा पलाएझैं पुनः स्थापित हुने प्रयत्न गर्दैछ ।







ekantipur




















