गोरखा, चैत २४ गते । नेपाल मेड जर्मनी नामक संस्थाले नेपाल मेड नेपाल नामक संस्थाको समन्वयमा गोरखा जिल्ला अस्पताललाई रु २९ लाख ८५ हजार मूल्य बराबरको सामग्री सहयोग गरेको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा नेपाल मेड नेपालका अध्यक्ष बाबुराम गिरीले ‘साइमिन्स एक्स–रे मेसिन, डागर ओटी लाइट र डेन्टल चियर सेट’ अस्पताल विकास समितिका अध्यक्ष बाबुराम थापा र अस्पताल प्रमुख सुधा देवकोटालाई संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।
प्राप्त सामग्रीको भरपुर प्रयोग गर्ने देवकोटाले प्रतिबद्धता जनाउनुभयो । ‘अस्पतालमा आवश्यक सामग्री प्राप्त भएको छ’ उहाँले भन्नुभयो– “ती सामग्री उच्चतम प्रयोगमा आउँछन् ।” भूकम्पले अस्पतालका भवन चर्केको र नयाँ भवन निर्माणको प्रक्रिया सुरु नभएकाले प्राप्त सामग्री जडान गरी प्रयोगमा ल्याउन ठाउँको अभाव देखिएको भए पनि छिट्टै समस्या समाधान गरिने अस्पतालले जनाएको छ ।
नेपाल मेड जर्मनीले विगत १५ वर्षदेखि आँपपिपल अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको छ भने रेडियो गोरखालाई रु पाँच लाख ५० हजार सहयोग गरिसकेको छ ।
पुनःनिर्माणमा सघाउन सहायता केन्द्र स्थापना
भूकम्पले भत्किएका गाउँ, बस्ती पुनःनिर्माणमा सघाउन गोरखाको हंशपुर गाविसस्थित भच्चेक बजारमा सहायता केन्द्र स्थापना भएको छ ।
पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले मङ्गलबार स्थापना गरेको केन्द्रबाट भूकम्पपीडितले सेवा लिन सुरु गरेको निमित्त उपक्षेत्रीय प्रमुख गुणराज भट्टराईले बताउनुभयो ।
गोरखा पुनःनिर्माणको प्रक्रिया हंशपुर गाविसबाट सुरु गरिएको छ । भच्चेक बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा भएकाले पुनःनिर्माणको प्रक्रिया सुरु गर्न सहज भएको भट्टराईको भनाइ छ ।
रासस



