निरू त्रिपाठी
प्रिन्स ह्यारीले नेपालमा आफ्नो बसाईँ एक साता अझ बढी थप गरेको समाचारले मलाई प्रिन्सेस डायनाको याद दिलाएको छ।
प्रिन्सेस डायनाको जीवनी म जति पटक पढ्छु र सुन्छु त्यति नै पटक म भावुक हुन्छु। उनी सबैलाई भन्ने गर्थिन्, ‘तिम्रो मनले जे भन्छ त्यही गर, म किताबी कानुन र मेरो दिमागलाई सुन्दिनँ, म मेरो मनलाई सुन्छु र मेरो आनन्द यसमा नै छ।’
डियर डायना यो संसारको लागि विडम्बना हो कि तिमीले जुन मनलाई आफ्नो क्राउनभन्दा माथि राखेर पूजा गर्यौ त्यही मनले तिम्रो शारीरिक अस्तित्व यो संसादेखि मेटाइदियो। त्यो मनले जति तिमीलाई काँधमा राखेर घुमायो त्यति नै त्यो मनले तिम्रो चुल्ठो समातेर घिसारिरह्यो। तिम्रो छोरा ह्यारी यसरी नेपालमा आएर जुन मानवता र भावुकता देखाइरहेको छ आज मलाई डर लागिरहेछ कतै उनले पनि तिमीजस्तै असङ्य पीडाहरु लुकाएर, कति छट्पटिहरू छोपेर यसरी एउटा भेगमा भावुक त बनिरहेको छैनन्?
ह्यारीको शरीरमा तिम्रो गुण र रगत बगेको छ त्यसैले म कामना गर्छु ह्यारीको जीवनमा कुनै तुफान नआओस् , उनी तिमीले जस्तो राति घर पुगेपछि कोठाको बत्ती निभाएर त्यो अन्धकारलाई अँगालेर यस क्षणको पर्खाइमा थिए भन्ने वातावरण सृजना नहोस्।
डायना यदि तिमी आज बाँचेको भए ह्यारीको यती राम्रो क्रियाकलाप देखेर कति खुसी हुन्थ्यौ होला। अझ मलाई त विश्वास पनि थियो तिमी छोरा ह्यायारीसँग नेपाल आउँथ्यौ। तिम्रो र हयारीको निलो आँखा र माधुर्य मुस्कानले नेपालमा चुमुरकिएर बसेका हरेक चीजहरु फेरि फक्रिएर आउने थियो होला। तिमी पनि छोरासँगै आफ्नो बसाइँ लम्बाउँथ्यौ र भन्थ्यौ मलाई यहाँको मानिसहरुले मोहनी लगायो।
अनि म तिम्रो अर्न्तर्वाता लिने क्रममा पहिलो प्रश्न गर्थे, ‘रोयल हाइनेस प्रिन्सेस डायना डिप्रेसनको औषधी कति दिन भयो नलिनुभएको?’
डियर डायना प्रिन्स ह्ययारीको मुस्कानभरीएको खुसी र सुखी भएको फोटोहरु हेर्दा मलाई लाग्छ सायद उनी आजकाल हरेक रात मिठो निद्रामा हुन्छ होला। यसरी एउटा गरीब मुलुकमा दुःखी मानिसहरुलाई केही पलभएपनि आफ्नो न्यानोपन बाँड्न पाउँदा उनमा पक्कै पनि अझ बाँच्ने रहरहरु पलाएर आएको होला। यसरी सारा नेपालीको आशिर्वाद र मायाको बर्सात हुँदा फेरि पनि फर्केर आउँछु भन्ने भएको होला।
डायना मैले देखिरहेको छु ह्यारीले आफ्नो बसाइँ लम्बाएको निर्णयमा यहाँ धेरैजना अचम्ममा परेका छन् र मलाई भने यो निर्णय सामान्य लागेको छ। मलाई यस्तो प्रकारले साधारण लागिरहेको छ कि जस्तो कि मलाई यो कुराको पूर्वआभास भइसकेको थियो। तर यथार्थ यो हो कि मैले तिमीलाई जतिपटक पढेको छु त्यतिनै पटक झन् गहिराइमा बुझेको छु। तिम्रो संस्कार र रगतमा मेरो त्यो आत्माविश्वासको आवास थियो।
डायना तिमी गरिब मुलुकमा गएर रोगाएका बच्चाहरुलाई धण्टौँ अँगालो हालेर थाक्दैनथ्यौ भने, एचआइभी रोग लागेको मानिसहरुसँग हात मिलाएर अँकमाल गर्न हिच्किचाउँदैनथ्यौ भने, दरबारको सुख सहेल छोडेर मानवकल्याणमा देश विदेश भौतारिदैनथ्यौ भने बल्ल ह्यारीले नेपाल आएर नेपालमा बसाइँ लम्बाएको कुरामा शंका गरिनथ्यो होला तर, उनमा मैले देखेको निर्दोषपन, आमाको सपनालाई पूरा गर्ने एउटा अठोट र कहिकतै मैले महसुस गरेको उनको एकान्तपनलाई हामी कसरी वेवास्ता गर्न सकिन्छ होला।
प्रिन्स ह्यारीले दुःखमा परेको नेपाल जान्छु भन्नु, साधारण जीव विताउने निर्णय लिनु, बालालिका वृद्धसँग हात समातेर आनन्द महसुस गर्नु र केही क्षणलाई आफ्नो सुख सहेल बिर्सेर, आफ्नो देश, आफ्नो घर जान नआत्तिकन नेपाल बस्ने निर्णय गर्नु भनेको उनको आमामा भएको गुणहरुको झलक पाउनु हो। यो बेला डायना तिमीलाई बिर्सिएर म ह्यारीलाई आँखामा राख्न सक्दिन। ह्यारी तिमी जस्तै भावुक छ र यी कामहरु गरिरहेको छ।
१८ वर्ष भयो ह्यारी डायना बिनानै हिडिरहेको छ। यो १८ वर्षमा उनले आफ्नो आमालाई नभुलेको अनुभूति उनले बेलाबेलामा आफ्नो आमाको बरेमा पत्रकारहरुलाई दिएको वक्क्तव्यले पुष्टि गर्छ। २००५मा बुबा चार्ल्सले उनका प्रेमीका क्यमलियालाई विवाह गरेपछि मिडियाले डायना र क्यामलियाको बारेमा ह्ायारी र वीलियमलाई विभिन्न प्रश्नहरु गरेका थिए। तर एउटा अन्तर्वार्तामा ह्यारी र उनका दाजू वीलियमले भनेका थिए क्यामलियालाई हामीले हाम्रो सौतेनी आमा मानेको नै छैनौ उनी त सिर्फ हाम्रो बुबालाई माया र हेरविचार गर्ने बुबाको असल जीवनसँगीनी हुनुहुन्छ र हामी यसैमा खुसी छौ र यसहिसाबमा क्यामलियालाई सम्मान गछौँ। यसो भनिरहँदा यी दुई छोराले आफ्नो आमाको अस्तित्वको बचाउ गरिरहेको र आमाको सपना पूरा गर्न अठोट गरेको पनि देखिन्छ। २००७ सालदेखिनै यी दुई छोराले डायनाको सम्झनामा लण्डनको ध्झदभिथ क्तबमष्ग्क मा कर्न्सट गरेको थियो जुन भव्य सफल भएको थियो। कर्न्सटबाट उठेको पैसा डायना प्रिन्सेस मेमोरियल फण्ड रअन्य च्यारिटि संस्थालाई दिइएको थियो। यो कार्यबाट पनि अड्कल लगाउन सकिन्छ कि आमाले गरेको कामलाई निरन्तरता दिन छोरा ह्यारी कति लालाहित छ।
ह्यारी यसरी बस्दा रोयल फेमिलीमा पक्कै पनि केही न केही हल्लिखल्लि भयो होला। क्वीन एलिजावेथ, किगं चाल्स पक्कै यतिखेर ह्यारीको यो क्रियाकलाप निहाँल्दै डायनालाई सम्झेर मौन होलान्। डायनाले रोयल कानुनलाई डिभोर्स गरेर कयौँ मायाका भोगीहरुको हात थामेका त्यो दृश्य अहिले रोयल परिवारमा घुमिरहेको होला। “यो संसारमा मायाको अनुभूति नगरेर मानिसहरु रोगाएका छन् तर मलाई थाहा छ त्यो माया एक मिनेट, एक घण्टा, एक दिन , एक महिना अथवा एक वर्ष मैले दिन सक्छु र यो माया बाँड्न म हमेशा तयार र खुसी छु। ” डायनाको यी शब्दहरु राजभवनको भित्ताभित्तामा गुन्जिरहेको होला अहिले।
प्रिय ह्यारी , तिमी जति बस्न मन लाग्छ बस नेपालमा। नेपालमा मात्रै होइन संसार हरेक कुना काप्चामा यसरीनै मायाका रोगी र भोगीहरुको हात समात्न जाउँ। उनीहरुसँग केही समय विताउँ , उनीहरुको शिरमा हात राखेर एउटा मुस्कान देउ। उनीहरुले तिमीले विताएको हरेक क्षणमा र सुमसुमाएको हातमा तिम्रो आमाको पनि अदृश्य माया, प्रेम, हौसला, आत्माविश्वास, आर्शिर्वाद पाउँनेछन्। तिमीले यसरी मनले सोचेर काम गर्दै जाउ तिम्रो आमालाई तिम्रो अमुल्य श्रद्धान्जली यही हुनेछ।
setopati




















