कृष्णमणि बराल

लोकेसन
भूकम्पको केन्द्र बिन्दु गोरखाको बारपाकसँगै जोडिएको गाउँ हो-सौरपानी । गोरखाबजार जानुअघि १२ किलोबाट बायाँ हुँदै ४० किलोमिटरको दूरीमा बालुवा बजार पुगिन्छ। बालुवा बजारबाट पक्की पुल तरेर ठाडो तीन घन्टाको उकालो हिँडेपछि सौरपानी गाविसको रन्चोक गाउँ पुगिन्छ।
भूकम्प गएको १० महिनापछि गाउँ पुग्दा भूकम्पले भग्नावशेषमा परिणत भएका यहाँका अधिकांश घर उस्तै अवस्थामा देखिए। अधिकांश गुरुङ जातिको बसोबास रहेको यस गाउँमा दलित समुदाय पनि भूकम्पको उस्तै मारमा छन्। खानेपानीको उचित व्यवस्थापन, व्यवस्थित विद्यालय, मिलेका घर। यस गाउँको विकास र सुन्दरता बेग्लै थियो। ‘भूकम्पले फेरि विकासलाई वर्षौंपछि धकल्यो’, स्थानीय समाजसेवी भीमबहादुर गुरुङ भन्छन्। पहिलेको सुन्दर बस्ती अहिले भग्नावशेषमा परिणत भएपछि पुरानै अवस्थामा फर्काउने चुनौती थपिएको छ। यहाँका अधिकांश युवा खाडी र मलेसियामा कामको खोजीमा पुगेका छन् । ‘त्यहाँको कमाइले यो महँगी जमानामा घर बनाउन पुग्दैन। राज्यले दिने भनेको रकम पाएको होइन’ भीमबहादुर भन्छन्।भारत र ब्रिटिस सेनामा काम गर्ने केहीले भने घर बनाउँदै छन् । यहाँका ८० प्रतिशत नागरिक भने टिन र पालले बारिएको टहरामा सरकारी राहतको पर्खाइमा बसेका छन्। ‘वर्षा र जाडो जेनतेन टार्यो। अब फागुन-चैतको हुरीले यही टहरो पनि उडाएर लग्ने हो कि भन्ने डर छ’, स्थानीय ६९ वर्षीया सन्तमाया गुरुङ भन्छिन्। टहरो उडाउनेमात्र होइन हावाहुरीले उडाएको टिनले काटेर ज्यानै जान्छ कि भन्ने अर्को चिन्ता उनमा थपिएको छ।

स्थानीयहरू पाल र टिनले बारिएको टहरामा त्रासमा बाँच्नु परे पनि खुसी छन् । आतिथ्य सत्कारमा पनि उनीहरू कन्जुस्याई गर्दैनन्। वैशाख १२ गतेको भूकम्पले यस गाविसका सबै घर भत्किए । भूकम्पमा पुरिएर गाविसमा ४४ जनाको ज्यान गयो । सोही गाविसको वडा नं ८ रन्चोकमा १९ जनाको ज्यान गएको थियो।
वर्षा होस् वा जाडो । पाल र टिनले बारेको टहरामा उनीहरूको कष्टकर जीवन बित्यो । भूकम्पले घरभित्रका सबै सामान नष्ट भए। वर्षायाममा जमिनै भासिने हो कि भन्ने डरमा बित्यो। ‘सरकारले घर बनाउन दिने भनेको दुई लाख रुपैयाँ बेलैमा नदिँदा हामी कमजोर आर्थिक अवस्था हुनेको जिवन झन् कष्टकर बन्यो’, सौरपानी गाविस वडा नं ८ रन्चोकका स्थानीय काले विकले भने।

भूकम्पमा घरले थिचेर उनले नाति र बुहारी गुमाएका थिए। ‘सक्नेले नयाँ घर बनाएर बस्न थाले । हामीजस्तो आज खाए भोलि के खाउँ हुनेको पाल र टिनले बारेको टहरामा कष्टकर जीवन बिताउनु परेको छ’, उनले भने।
‘भत्केको घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ पाए जेनतेन थप ऋण खोजेर पहिलेकै जस्तो सानो पक्की टहरा बनाएर बस्ने थियौं, स्थानीय खुसीराम गुरुङले भने। सरकारले तत्काल राहतस्वरूप केही खाद्यान्न र राहत रकम दिए पनि घर बनाउन दिने भनिएको रकम नदिँदा समस्या आएको उनले बताए। ‘नौ महिनासम्म जेनतेन कष्टकर जीवन बिताएर बस्र्यौं अब चैत-वैशाखमा आउने हावाहुरीले यही पाल र बारेको टिनसमेत उडाएर लथालिंग बनाउने हो कि?’, चिन्ताले अहिलेदेखि नै सताएको उनी बताउँछन्।

केही बासिन्दाबाहेक अधिकांशको नियमित आय नभएकोले विदेशमा भएका र लाहुरे परिवारका आठ-दस जनाबाहेक अरूले आफ्नो घर बनाउन सकेका छैनन् । कठ्यांग्रिदो जाडोमा पाल र टिनको छाप्रोमा बसेका छन् मानिस। भूकम्पले स्थानीय विद्यालय दुर्गा मावि भग्नावशेषमा परिणत भयो विद्यालयका प्रधानाध्यापक सन्तबहादुर गुरुङले भने। अहिले जग्गा भाडामा लिएर अस्थायी टहरामा विद्यालय सञ्चालन गरेको उनले सुनाए। विद्यालयमा तीन सय २० विद्यार्थी छन्।

भूकम्प गएको दिन वैशाख १२ गते गाउँका एक सय १६ जना नजिकै अलैंची खेतीका लागि खोरिया फाड्न गएकोले मानवीय क्षति कम भएको स्थानीय शन्तबहादुर गुरुङले बताए। ‘भूकम्पले रोकिएको अलैंची खेती १७ हेक्टर क्षेत्रफलमा जेठबाट लगाउने तयारीमा छौं’, स्थानीय सुखीराम गुरुङले बताए।









annapurnapost




















