३ फागुन, काठमाडौं । सशस्त्र प्रहरीमा असई थमन विश्वकर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आपत्ति जनाएको छ ।
मोर्चाले अहिले गृहमन्त्री शक्ति बस्नेतलाई भेट्दैछ । ‘महोत्तरीमा प्रहरीले धरपकड सुरु गरेको छ । यसबारे ध्यानाकर्षण गराउन लागिएको हो’ मोर्चाका नेता रामनरेश रायले अनलाइनखबरसँग भने ।
घटना भएको करिव ५ महिनापछि महोत्तरी प्रहरीले मोर्चासम्वद्ध तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मधेस आन्दोलनका क्रममा गत भदौ २५ गते असईको हत्या भएको थियो । हेटौंडामा मिसनको परीक्षा दिएर फर्किएका थमनलाई आन्दोलनकारीले शंकर चोकमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए ।
घटनामा मुस्किलले बचेका उनीलाई उपचारका लागि लैजाने क्रममा आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए ।
onlinekhabar




