माघ २७, २०७२- मंगलबार बिहान निधन भएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको शवयात्रामा हजारौं सहभागी भए ।
सार्वजनिक श्रद्धाञ्जलिका लागि पार्थिव शरीर राखिएको दशरथ रंगशालाबाट कोइरालाको शवयात्रा सुरु भएको थियो । शवयात्रा थापाथली, सिंहदरवार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।
पशुपति आर्यघाटमा राखिएको कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, सरकारी उच्च अधिकारीलगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
पशुपति आर्यघाटमा कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेताहरु, कांग्रेसका कार्यकर्ता, शुभेच्छुक एवं आफन्तजनको ठूलो उपस्थिति थियो ।
शवयात्रामा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको छ ।
उनको आज बेलुकी राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
ekantipur




