फोटो :प्रचण्ड र राजदूत रेबीच भेटवार्ता हुँदै । तस्बिर : प्रचण्डको सचिवालय
काठमाडौं : प्रमुम दल र मधेसी मोर्चाबीच ११ दिनपछि पुन: संवाद शुरु भएको भोलिपल्ट भारतीय राजदूत रञ्जित रेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
राजदूत रे अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान उनको निवास लाजिम्पाटमा पुगेका थिए ।
प्रमुख दल र मोर्चाबीच संवाद शुरु भएको तथा मधेसी मोर्चाका केही नेता बिहार भ्रमणमा रहेको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
लाजिम्पाटमा भएको भेटवार्ताका क्रममा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भईरहेको छलफलको प्रगतिबारेमा दुईजनाबीच कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
डेढ हप्ता लामो संवादहीनतालाई तोड्दै प्रचण्डले मधेसी दल तथा प्रमुख दलहरुसँग संवाद प्रक्रिया अघि बढाएपछि रे उनलाई भेट्न पुगेका हुन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले पाँच महिनादेखि जारी नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गरेका थिए ।
भारतीय राजदूत रेले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने आश्वासन दिएका थिए।
मधेसी दललाई सहमतिमा ल्याउन केही दिनयता सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डसँग रेले वार्ताप्रक्रियाबाटै सहमति जुटाउन आग्रह गरेका थिए ।
annapurnapost




