![]()
मंगलबार! सर्वोच्च अदालतको इजलास नं १।
इजलासको दायाँ तिरको भित्तामा ठूलो घडि छ जहाँ अहिले कत्ति पनि बजिरहेको छैन।
समय शून्य अंकमा छ।
इजलासको उत्तरी भित्ताको घडिमा भने करिब पौने ३ बजिरहेको छ।
त्यही बेला न्यायाधीश सुशीला कार्की र देवेन्द्र गोपाल श्रेष्ठ इजलासमा प्रवेश गरे।
त्यहाँ पहिल्यै बरिष्ठ अधिवक्तादेखि जुनियर वकिलको लर्को लागिसकेको थियो।
उनीहरू मध्ये धेरै जसो अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको रिटमाथि बहस गर्न आएका थिए।
सुनुवाई सुरु भयो।
‘ल आफ्नो समय भन्नुस,’न्यायाधीश कार्कीले आदेश दिइन्।
बरिष्ठ अधिवक्ताहरु बद्री बहादुर कार्की, शम्भु थापा, शेरबहादुर केसीलगायत वकिल बारमा कल्याङ मल्याङ गरे।
बरिष्ठ अधिवक्ता कार्की उठेर भने,‘मेरो पक्षले १ घण्टा लिन्छ।’
इजलास अधिकृतले समय सेट गरे। रातो सूचक भएको घडीले ६० मिनेटबाट घट्दो समय गन्न थाल्यो।
‘श्रीमान…’ कार्कीले बहस सुरू गरे।
उनले सकेपछि बरिष्ठ अधिवक्ता थापा उठे ‘मैले तीन मिनेटमै कुरा सकाउँछु श्रीमान्!’
तर, उनले ८ मिनेट मा बल्ल बहस सकाए।
यो पक्षले १ घण्टा मागेर सवा घण्टा भन्दा पनि बढी बहस गर्यो। समय सकिनै लाग्दा बहस गर्दै गरेका वकिलहरुलाई न्यायाधीशहरुले पटकपटक समयबारे ध्यानाकर्षण गराए।
अनि यही रिटको विपक्षीको पालो आयो।
उनीहरुले २० मिनेट टाइम मागे।
वकिल आफैले मागेको समय भन्दा बढी बोले भने,न्यायाधीशहरुले बहस सुन्दासुन्दै घडी हेर्न थालिहाल्छन्।
अख्तियारका तर्फबाट अधिवक्ता द्रोणराज रेग्मीले बहस गर्दैगर्दै न्यायाधीश कार्कीले भनिन्,‘तपाईँको समय सकियो, नजिर र कागज हामीलाई दिनुस आफै पढ्छौँ!’
न्यायाधीशले समय सकियो भन्दा भन्दै उनले २ मिनेट बढीसमय बहस गरे।
यो मुद्दाले खाजा समय पछिको पुरै समय लियो। दुवैपक्षबाट कम्तीमा दश-दश जना वकिलहरु थिए।
ठूलाठूला व्यक्तिले आफ्ना मुद्दामा बहस गर्न धेरै वकिल राख्छन्। ती सबैले इजलासमा बहस गर्न पाउनै पर्ने उनीहरुको माग हुन्छ। त्यसैले त ठूला व्यक्तिको मुद्दा परेको दिन, धेरै इजलासले अरु मुद्दामा समय दिनै पाउँदैन।
मंगलबार, बरालकै मुद्दाले पनि खाजासमय पछिको पुरै समय लियो। उक्त इजलासमा त्यसपछि पालो कुरेका ७४ थान मुद्दाले पालै पाएनन्।
सर्वोच्च अदालतले एकमहिना देखि इजलासको बहस व्यवस्थित गर्न घडी राखेर समय भित्रै बहस सक्नु पर्ने नियम कार्यान्वयनमा ल्याएको छ।
‘वकिलले बहसमा जति मनलाग्यो त्यति समय लिने चलन थियो,’ रजिष्ट्रार श्रीकान्त पौडेलले भने,‘एउटै मुद्दामा धेरै वकिल भैदिए भने दिनभरि त्यही मुद्दामै जाने स्थिति आएकाले समय व्यवस्थित गर्नै परेको हो,’
धनिमानिले धेरै वकिल राखिहाल्छन्, गरिबका मुद्दाको पालो पछि पर्यो भने उनीहरुको मुद्दा सरेको पर्यै हुने स्थीति हुन्छ।
सर्वोच्च अदालतले इजलासमा बहसको समय व्यवस्थापन गर्न थालेपछि कतिपय वकिलहरुले आफ्नो कुरा राम्ररी राख्न नपाएको गुनासो गर्न थालेका छन्।
नेपाल बार एशोसिएसनका महासचिव सुनिलकुमार पोखरेलले भने बहसको समयव्यवस्थापन गर्नु एकदमै राम्रो थालनी भएको बताए।
‘समय व्यवस्थापन हुनु त राम्रो कुरा हो, यसले हाम्रो बहसलाई समेत चुस्त बनाउन सघाउँछ,’ उनले भने।
पहिले त जति लामो बहस गरेपनि न्यायाधीशहरु सुनेर बसिरहन्थे। अहिले त्यस्तो हुन्न। त्यसैले वकिलहरु कमसमयमा प्रभावकारी बहस गर्ने तयारी गर्छन।
‘त्यो त जनताले पैसा तिरेर किनेको समय हो, त्यसको व्यवस्थापन हुने हो भने धेरै मुद्दालाई समय मिल्छ,’ पोखरेलले भने,‘वकिलले पनि छोटो समयमा राम्रो बहस गर्ने कोशिस गर्छन्, त्यही दिन पालो परेका अरु मुद्दामा पनि समय दिन भ्याउँछन्।’
समय अभावका कारण सर्वोच्च अदालतमा अहिले छिन्न बाँकी २२ हजार मुद्दा छन्। बहस छिटो छिटो र समयमा सकियो भने न्यायधिशले एकै दिनमा धेरै मुद्दा छिन्न सक्छन्।
तर, यो समय व्यवस्थापनमा धेरै वकिल खुसी छैनन्। समयको पावन्दी वकिलका लागि मात्रै हो कि न्यायाधीशहरुका लागि पनि हो भन्ने प्रश्न धेरैले गरेका छन्।
बार महासचिव पोखरेलले पनि न्यायाधीशको समेत समय व्यवस्थापन हुनुपर्ने धारणा छ।
१० बजेदेखि अदालत समय सुरु हुन्छ, तर इजलास भने ११ वजे देखि मात्र बस्छ। त्यस्तै साढे १ देखि साढे २ बजेसम्म खाजा समय हुन्छ। इजलास ११ बजे र खाजासमय पछि साढे २ बजे ठिक समयमा बिरलै शुरु हुन्छ।
‘न्यायाधीशहरु ११ बजे नै इजलासमा प्रवेश गरिसक्नु पर्यो, खाजासमय सकिएपछि पनि न्यायाधीशहरुलाई वकिलले इजलासमा कुर्नु नपरोस्,’ पोखरेलले भने,‘यही हो न्यायाधीशहरुको समय व्यवस्थापन भनेको।’
setopati



